चिनियाँ कम्पनी सिनोफार्मले बनाएको कोरोना खोप झन्डै ८० प्रतिशत प्रभावकारी

Photo Credit: Supplied: Sinovac
Photo Credit: Supplied: Sinovac

चिनियाँ कम्पनी सिनोफार्मले बनाएको कोरोना भाइरसविरूद्ध खोप झन्डै ८० प्रतिशत प्रभावकारी देखिएको छ।

तेस्रो चरणको चिकित्सकीय परीक्षणमा खोपको प्रभावकारिता ७९.३४ प्रतिशतसम्म देखिएको कम्पनीले बुधबार जनाएको छ।

चीनले पहिलो पटक कोरोना खोपको प्रभावकारिताबारेको तथ्यांक सार्वजनिक गरेको हो। चिनियाँ सरकारको स्वामित्वमा रहेको सिनोफार्मको कोरोना खोप चीनमा आपत्कालीन प्रयोगका रुपमा हजारौं नागरिकलाई दिइसकेको दाबी गरिएको छ।

तर फाइजर र बायोएनटेकले संयुक्त रुपमा र मोर्डनाले बनाएको कोरोना खोपभन्दा सिनोफार्मको कोरोना खोपको प्रभावकारिता भने कम छ। फाइजर–बायोएनटेकको प्रभावकारिता ९५ प्रतिशतसम्म र मोडर्नाको ९४.४ प्रतिशत प्रभावकारिता देखिएको थियो। त्यस्तै अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोनाविरुद्ध खोपको प्रभावकारिता ९० प्रतिशत रहेको दाबी गरिएको छ।

यसअघि डिसेम्बर ९ मा युएईका स्वास्थ्य अधिकारीहरूले परीक्षणमा सिनोफार्मको कोरोना खोपको प्रभावकारिता ८६ प्रतिशत देखिएको बताएको थियो। 

यो खोपको तेस्रो चरणको परीक्षण युएई, बहराइन, जोर्डन, पेरू र अर्जेन्टिनालगायत देशमा गरिएको थियो। तर, यो खोप ७९.३४ प्रतिशत प्रभावकारी भएको बताइन्छ। त्यसैले यो खोप दुई चरणमा लगाउनुपर्ने चिकित्सकले बताएका छन्।

यूएईले १२५ देशका करिब ३१ हजार व्यक्ति उक्त खोपको परीक्षणमा सहभागी भएका थिए। यद्यपी युएई र बहराइनले चिनियाँ खोपलाई यसअघि नै प्रयोगका लागि स्वीकृति दिइसकेका छन्।

आपत्कालीन प्रयोगबमोजिम १० लाखभन्दा बढी चिनियाँ नागरिकलाई कोरोना खोप लगाइएको बताइएको छ। अहिले यसको आम प्रयोगका लागि अनुमति मागिएको कम्पनीले जनाएको छ।

तर, खोप कसलाई लगाइएका व्यक्ति र खोप परीक्षणको नतिजाका बारेमा पारदर्शी ढंगले विवरण सार्वजनिक नगरिएको भन्दै चीनको आलोचना भइरहेको छ। तर, चिनियाँ अधिकारीले भने कोरोना खोप सुरक्षित र प्रभावकारी भएको र यसबाट गम्भीर प्रकृतिको ‘साइड इफेक्ट’ नहुने दाबी गर्दै आएका छन्।

गत महिना सिनोफार्मले करिब १० लाख मानिसले आफूले बनाएको कोरोना खोपको आपत्कालीन रुपमा लगाएको बताएको थियो। त्यस्तै बहराइनले चीनले बनाएको कोरोनाभाइरसविरुद्धको कोरोना खोपको प्रयोगका लागि स्वीकृति दिइसकेको छ।

उक्त खोपको परीक्षण अर्जेन्टिना र मोरक्कोमा समेत भएको बताइएको छ। पेरुले भने सहभागी व्यक्तिमा साइड इफेक्ट देखिएको उल्लेख गर्दै सिनोफार्मको कोरोना खोपको परीक्षण रोकेको छ।

यसअघि रूस, बेलायत र अमेरिकाका कम्पनीले बनाएका कोरोनाविरूद्धका खोपको प्रभावकारिता ९० प्रतिशतभन्दा माथि देखिएको थियो। अमेरिका र बेलायतले आमनागरिकलाई कोरोनाविरुद्धको खोप दिन सुरू गरिसकेका छन्।

प्रकाशित मिति: : 2020-12-30 12:32:00

प्रतिकृया दिनुहोस्