पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिष्टियानो रोनाल्डो पेनाल्टीमा चुक्दा युभेन्ट्स जित बिहीन बनेको छ। इटालियन सिरी ‘ए’ मा यो सिजन ६ खेलमा युभेन्ट्स बराबरीमा रोकिएको छ।
लिग अन्तर्गत बुधबार राति भएको खेलमा युभेन्ट्स एट्लान्टासँग १–१ को बराबरीमा रोकिएको हो। एलिएन्ज एरिनामा भएको खेलमा घरेलु टोली युभेन्ट्सका लागि फेडरिको चिएसाले २९ औँ मिनेटमा गोल गरेका थिए।
तर, ५७ औँ मिनेटमा रेमो फ्रेउलेरले एट्लान्टाका लागि बराबरी गोल फर्काए।
६१औं मिनेटमा युभेन्ट्सले पेनाल्टी पायो। फेडरिको चिएसामाथि हेन्स हाटेनबोइरले पेनाल्टी बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा रोनाल्डोको प्रहारलाई गोलरक्षक गोलिनीले बचाए।
शीर्ष स्थानको एसी मिलान भन्दा चार अंकले पछि रहेको युभेन्ट्स तेस्रो स्थानमा छ।
उसको १२ खेलबाट २४ अंक भएको छ भने दोस्रो स्थानको इन्टर मिलानको २७ तथा शीर्ष स्थानको एसी मिलानको २८ अंक छ।