किसान आन्दोलन: पूर्व मुख्यमन्त्री अखिलेश प्रहरी नियन्त्रणमा

उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री तथा समाजवादी पार्टी (सपा) का राष्ट्रिय अध्यक्ष अखिलेश यादवलाई प्रहरीले पक्राउ गरेको छ। 

किसान यात्रामा सहभागी हुन गइरहेको बेला उनलाई लखनउबाट पक्राउ गरिएकाे हाे। 

यसअघि अखिलेश लखनउमा रहेको आफ्नो निवासबाट कन्नौजमा प्रस्तावित किसान यात्रामा सहभागी हुन जाने क्रममा प्रहरीले रोकेपछि उनी पैदल नै निस्किएका थिए।

उनलाई अघि बढ्नबाट रोक्न खोज्दा उनी सडकमा नै धर्नामा बसेपछि प्रहरीले धारा १४४ को उल्लंघन गरेकाे भन्दै पक्राउ गरेको हो। उनलाई इको गार्डेन लगिएको छ। 

त्यस्तै किसानहरुको मुद्दामा प्रदर्शन गरिरहेका समाजवादीका कार्यकर्तालाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेकाे छ। 

अखिलेशले हिजो किसान यात्राको आह्वान गरेपछि सोमबार बिहानदेखि नै विक्रमादित्य मार्गमा ठूलो संख्यामा प्रहरीको उपस्थिति रहेको थियाे।

अहिले भारतभरि नै किसान आन्दोलन भइरहेको छ, जसलाई १२ भन्दा धेरै राजनीतिक दलले समर्थन गरेका छन्।

प्रकाशित मिति: : 2020-12-07 15:27:00

प्रतिकृया दिनुहोस्