‘भारतीय प्रधानमन्त्री मोदीले वार्ताकै माध्यमबाट सबै समस्या हल गर्ने सन्देश विदेशसचिवमार्फत् प्रधानमन्त्री ओलीलाई पठाउनुभएको छ’

डा. राजन भट्टराई

काठमाडाै‌ं

भारतका विदेश सचिव हर्षबद्र्धन श्रृंगलाको भ्रमणले नेपाल–भारतबीच सम्बन्ध सहज बनाउनेतर्फ यसले सकारात्मक वातावरण बनाएको छ । 
यो उनको नियमित नै भ्रमण हो तर सँगै विषयहरु लामो समयसम्म थाती रहेका र लामो समयसम्म वार्ताहरु हुन नसकेको निराशालाई यो भ्रमणले सकारात्मक दिशातर्फ लिएर जान सकारात्मक भूमिका खेलेको छ । 

परराष्ट्र सचिव स्तरीय बैठकमा नेपाल–भारत सम्बन्धमा जोडिएका सबै विषयहरु सीमा लगायतका समस्याका विषयहरुलाई पनि र अब अगाडि कसरी जाने भन्नेबारे सघन कुराकानी भएको छ । यो बाहिर आइसकेको कुरा हो । 

प्रधानमन्त्रीसँग उहाँ शिष्टाचार भेटका लागि आउनुभएको थियो । भेटका क्रममा अब सम्बन्धलाई नयाँ ढंगले कसरी अगाडि लिएर जाने, समस्याहरुलाई वार्ताद्वारा समाधान गर्ने भारतको धारणा रहेको कुरा उहाँले राख्नुभो । प्रधानमन्त्रीको सन्देश पनि त्यही रहेको उहाँले राख्नुभो ।
प्रधानमन्त्री ओलीले पनि उहाँलाई भन्नुभो, ‘हामी वार्ताकै पक्षमा छौँ । वार्ताको हामीसित कुनै विकल्प छैन । सुरुदेखि नै हाम्रो त्यही अडान हो ।

अहिले पनि त्यही अडानमा छौँ । छिटोभन्दा छिटो समस्याहरुलाई टुंग्याऊँ । यी समस्याहरु हाम्रो पालामा उब्जिएका समस्या त होइनन्, विगतदेखिका हुन् । हाम्रो पालामा यिनलाई समाधान गरेर अगाडि जान सकिन्छ । यो भयो भने नेपाल–भारत सम्बन्धले नयाँ उचाइ प्राप्त गर्न सक्दछ । भन्ने हाम्रो मान्यता हो । त्यस हिसाबले हामीले भनेका छौँ । भारतले यस दिशामा सकारात्मक धारणा राखेर अगाडि बढ्ने वातावरण बन्न लागेको छ, त्यो सकारात्मक छ ।’

ईपीजीको प्रतिवेदनलाई हामीले भनेका छौँ– समग्र पक्षलाई त्यत्रो उच्च तहबाट अगाडि आएको हुनाले यसलाई तपाईंहरुले छिटोभन्दा छिटो बुझ्दा नै सम्बन्धको दिशा पक्डिन सजिलो हुन्छ भन्ने कुरा राखेका छौँ । 

लिम्पियाधुरासम्मको सीमा हाम्रो हो।  हाम्रो भूभागमा तपाईंहरुले बाटो बनाउने कुराले विवाद उत्पन्न भएको हो । त्यो हिसाबले जान हुँदैनथ्यो । त्यसैले सुरुदेखि नक्सा प्रकाशन गरेदेखि वार्ता गरौँ भन्दा तपाईहरुको तर्फबाट त्यस किसिमको वातावरण नबनेका कुराले समस्या जटिल भएको थियो । वार्ताबाट यसलाई टुंग्याऊँ भनिएको छ ।

भारतका प्रधानमन्त्रीकै नेपाल भ्रमणबारे त कुरा भएको छैन । यो भ्रमणपछाडि योभन्दा माथिल्लो तहका राजनीतिक भ्रमणहरु हुनेछन् भन्ने हामीले स्वाभाविक अनुमान लगाउन सक्छौँ । त्यो दिशातर्फ उन्मुख भएको हामीलाई लागेको छ ।

(प्रधानमन्त्रीका परराष्ट्रमामिला सल्लाहकार भट्टराईसँग बिएल नेपाली सेवाले गरेको टेलिफोन संवाद ।)

प्रकाशित मिति: : 2020-11-27 10:09:00

प्रतिकृया दिनुहोस्