पुष्पकमल दाहाल (प्रचण्ड) को नेतृत्वमा जनयुद्ध गर्दै संसदीय अभ्यासमा प्रवेश गरेको तत्कालीन माओवादी पार्टी र केपी शर्मा ओली नेतृत्वमा रहेको तत्कालीन नेकपा एमालेको एकीकरण पश्चात जन्मिएको ‘डबल इन्जिन’ को नेपाल कम्युनिस्ट पार्टी अर्थात नेकपा सरकारले नेपाली राजनीतिमा ठूलै तरंग पैदा ग¥यो।
३ जेष्ठ २०७५ मा दुबै पार्टीको औपचारिक एकीकरणले यतिसम्म नेपाली राजनीतिमा हलचल ल्यायो, नेपाली राजनीतिको निकै अनुभवी पार्टी नेपाली कांग्रेसलाई समेत सोचमग्न तुल्यायो।
दुई शक्तिशाली बाम पार्टीबीचको एकताले देशमा ठूलै क्रान्ति ल्याउने कुरा हरेक चिया पसल र भट्टिहरूमा हुन थाले। सधै टुट र फुटको राजनीतिमा समय खेर फ्याँकेको नेपाली कम्युनिस्टबीचको एकताले वास्तवमै नेपालीहरूलाई खुसी तुल्याएको थियो। तर, पार्टी एकीकरण भएको मसि सुक्न नपाउँदै नेकपामा देखिएको विवादले पुनः सबैलाई निरास तुल्याएको छ।
नेकपा अध्यक्ष प्रचण्डले निस्वार्थ भावले देश र पार्टीको हितका लागि एकीकरण गरेको सर्वविदितै छ। तर, जतिसुकै राम्रो गर्न खोजेपनि धोका आफ्नै बाट हुन्छ भन्ने पुरानो उखान यतिबेला चरितार्थ भइरहेको छ। अर्थात प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीको बोली तथा कार्यशैलीले पार्टी पुनः फुटको संघारमा पुगेको छ।
हिन्दीमा एउटा भनाई छ–‘अपनो ने हमको लुटा, गैरोमे कहाँ दम था। मेरी किस्ती वही डुबी, जहाँ पानी कम था।’
दुई पार्टी मिलेर बनेको नेकपामा दुई अध्क्षय नेकपा रूपी रथका दुई पांग्रा हुन् भने दुबै सँगसँगै बढ्नुपर्ने अवस्थामा एक जना अध्यक्ष अगाडि बढ्न खोज्ने तर, अर्का अध्यक्ष पछाडि फर्किन खोज्ने कारण पार्टी धरासायी बन्ने अवस्थामा पुगेको छ।
अहिले प्रधानमन्त्री ओली आफ्नै पार्टीलाई कमजोर बनाउने खेलमा लागेका छन्। जसको ज्वलन्त उदाहरण हो, कर्णाली र पर्सा घटना। खासमा साविक एमालेभित्र केपी र माधव नेपाल गुटको उन्मादका कारण पर्साको बिन्दवासिनी घटना भएको हो भन्दा फरक नपर्ला।
बिन्दवासिनी गाउँपालिकाको घटनाले जिल्लादेखि केन्द्रसम्म नै हल्लायो। यसले पार्टीभित्र कति हदसम्म मनमुटाव छ भन्ने पनि छताछुल्ल भएको छ।
केन्द्रमा नेताहरू बीचको गोरू जुधाई सबैलाई थाहा भएको विषय हो। तर, पर्सामा यस्तो घटना हुनु भनेको नेतृत्वमा राजनीतिक चेतनाको अभाव कुन हदसम्म छ भन्ने कुराको पुष्टी पनि भएको छ।
अहिले जिल्लामा पार्टीप्रतिको आकर्षण घटेको छ। केन्द्रिय नेतृत्वमा आफ्नो समूहलाई स्थापित गर्ने होडबाजीका बीच स्थानीय कार्यकर्ताहरू निरास बनेका छन्। अबको डेढ वर्षमा फेरि स्थानीय तहको निर्वाचन हुदैछ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रदेश–२ को प्रमुख घटक जनता समाजवादी पार्टी (जसपा) विभिन्न बहानामा अहिले जनजनको घरमा प्रवेश गरिरहेका छन्। तर, नेकपा नेतृत्व भने राजनीतिक हत्या र चरित्र हत्यामा व्यस्त छन्।
एकले अर्कालाई देखिनसक्नु, आरोप–प्रत्यारोपको शृंखला सुरु हुनु, पर्सा नेकपाको नियति बनिसकेको छ। यसैले यति पर्सा जिल्लामा नेकपाको अस्तित्वलाई जोगाउने हो भने वर्तमान जिल्ला कमिटी तथा स्थानीय तहलाई विघटन गरेर नयाँ नेतृत्व चयन गर्नुबाहेक अन्य विकल्प देखिदैन।