नेपाल–भारत सीमामा तमाम मान्छेको भीडमा प्रस्ट आवाजमा एउटा बोली सुनियो–‘राम्रोसँग बस्नु हैं। केट्केटीको ख्याल गर्नु।’
१२ मंसिर २०६२ को त्यो वार्तालाप सम्झिँदा कोहलपुर नगरपालिका–२ की गौरीदेवी शर्माका आँखा रसाए। गला अवरुद्ध भयो। चम्किलो अनुहारमा एकाएक कालो बादल मडारियो।
त्यही दिन हो– उनी सामान लिएर रुपैडियाबाट फर्किदै थिइन। श्रीमान भने भारत जाने सार्वजनिक बसमा थिए। श्रीमानलाई देखेपछि उनी बसतिर लागिन्। श्रीमान बसबाट ओर्लिए। घर जान आग्रह गरिन्। तर उनी मानेनन्। गाउँका साथीसँगै कालापहाड गए। उनी घर फर्किइन्।
‘त्यो दिनदेखि म उहाँलाई पर्खिरहेकी छु। एकपल्ट उहाँको अनुहार देख्न पाए मात्रै पनि सुखसँग मरिन्थ्यो,’ उनको ओठबाट अतृप्त वाक्यका धमिला स्वरहरू निस्किए, ‘बाह्र वर्षपछि खोला पनि फर्किन्छ भन्छन्, मेरा राजा कहिल्यै फर्किएनन्।’
उनी गाउँकै साथीसँग गएका थिए। केही वर्षपछि साथीहरु घर फर्किए। तर उनका श्रीमान फर्केनन्। पछि गौरीदेवीले श्रीमानको खोजिनीति गरिन्। तर चित्त बुझ्दो जवाफ कतैबाट पाइनन्। अन्ततः उनलाई आफ्नो श्रीमान खोज्न न्यायको ढोका ढक्ढक्याउनु पर्यो।
श्रीमानको खोजी गर्नको लागि उनले प्रहरीमा निवेदन हालिन्। सँगै गएका बिरुद्ध उजुरी दिइन्। श्रीमानको अवस्थाबारे जानकारी लिन जाँदा–जाँदै उनका जुत्ता फाटे तर न्यायमूर्तिको मन फाटेन। उनले न्याय पाइनन्।
‘मैले पाएको दुःख शब्दमा वर्णन गर्न सक्दिन। आफ्ना मान्छे पराई भए। न्याय पाउने ठाउँमै ममाथि अन्याय भयो। कति दुव्र्यवहार भोग्नु प¥यो। म निरन्तर लडिरहे,’ उनी आफ्ना दुःख सम्झिदैँ भन्छिन्।
उनले राज्यसँग केवल श्रीमानको लास र सास मात्रै मागेकी थिइन्। ‘सानालाई ऐन, ठूलालाई चैन’ भने जस्तै भयो, निर्धाहरुको विपक्षमा न्याय उभियो। उनले न्याय पाउन सकिनन्।
यति सम्मकी प्रहरीको उजुरी ढड्डाबाट उनको उजुरी नै गायब भयो। ‘मेरो भन्दा अगाडि र पछाडि दर्ता गरेको फाइल थियो। तर मेरो थिएन। मेरो श्रीमानसँगै गएको पापीले पुलिसलाई पावर लगायो। सबै मिलेर ममाथि अन्याय गरे। मैले न्याय पाउन सकिन। त्यसपछि जानै छोडे,’ बिएल नेपाली सेवासँग कुराकानी गर्दै उनले भनिन्।
उनका श्रीमान हराउँदा कान्छी छोरी सरस्वती जम्मा पाँच वर्षकी थिइन् । अहिले उनको उमेर १९ वर्ष पुगिसक्यो। यति लामो समय श्रीमानको पखाईमा उनले कति दिन भोकै काटिन्। कति रात रोएरै बिताइन्। श्रीमान नहुँदा कतिले कुरा काटे। कतिले भन्नु–नभन्नु भने। तर हार मानिनन्।
‘उहाँको पखाईमा जवानी बित्यो। अझै आश मरेको छैन। कहाँ हुनुहुन्छ? जिउँदो हुनुहुन्छ कि नाई? अत्तोपत्तो छैन,’ उनले निराशा पोखिन्।
एकातिर श्रीमानको खोजी, अर्कातिर बालबच्चा हुर्काउने जिम्मेवारी सबै पुरा गरिन्। सन्तानको खुसीको लागि उनले आफ्ना रहर मनभित्रै गुम्साएर राखेकी छिन्। भौतिक शरीर रहुञ्जेल श्रीमानका विषयमा खाँटी कुरा थाहा पाउन पाए हुन्थ्यो भन्ने लागेको छ।
अहिले उनी फुटपातमा फलफूल बेच्छिन्। उमेरले ५१ वर्ष लागेकी उनी दैनिक घरको गर्जोटार्न दिनरात मिहिनेत गर्छिन्। यही काम गरेरै उनले आफ्ना चार जना सन्तानको आमा र बाबाको भूमिका निर्वाह गरिन्। उनका १ छोरा र तीन छोरी छन्। छोरा वैदेशिक रोजगारीमा छन्। दुई छोरीको विवाह भइसक्यो। कान्छीको विवाह भएको छैन। अहिले उनी कान्छी छोरी र बुहारीसँग बस्दै आएकी छिन्।
गौरीदेवीको परिवार दैलेखबाट बाँकेमा बसाइँ सरेको हो। उनीहरू दैलेखको बाहुनगाउँ भन्ने ठाउँबाट कामको सिलसिलामा तराई झरेका थिए। उनी भन्छिन्, ‘पछि हामी यही संघर्ष गर्न थाल्यांै। आफ्नो भन्नु केही पनि थिएन। यतै दुःख गरेर अहिले पनि बसिरहेका छौ।’
घरको आर्थिक अवस्था मजबुत थिएन। दैलेखमा हुँदा मध्यम खालको आयस्थिति भएका उनीहरु तराई झरेपनि काम गरेरै दैनिकी चलाउँथे। तराईमा बालबच्चा हुर्काउन र बढाउन दुईजनाले निकै कस्ट व्यवहोर्नु प¥यो। पछि लामो समय फुटपातमा व्यापार गरेर घरजग्गा किनेको बताउँछिन्।
गौरीदेवी भन्छिन्, ‘सानै उमेरमा विवाह भयो। जवानीमा एक्लो हुनु प¥यो। बुढेसकालको साहारा यही व्यापार भएको छ। मैले श्रीमानको माया त लामो समय पाउन सकिन। केट्केटीको माया अपार पाएको छु।’ उनको १८ वर्षको कलिलो उमेरमा मागी विवाह भएको थियो ।
छोरीहरूले बुढेसकालमा काम नगर्न आग्रह गरिरहन्छन्। तर उनी केही समय यही व्यवसाय गर्ने सोचमा छिन्।
कुनै बेला साँझ विहानको खर्च टार्नको लागि फुटपातमा फलफूल बेच्ने काम सुरु गरेकी उनी अहिले भने खर्च गर्न सहज होला भनेर काम गर्छिन्। घरको अभिभावक र आफ्नो श्रीमान हराएपछि सुरु गरिएको यो कामले उनलाई धेरै खुसी दिएको छ।
यही व्यवसाय गरेर उनले साहुको ऋण तिरिन्। जग्गा खरिद गरिन्। घर बनाइन्। दुई छोरीको विवाह गरिन्। अहिले नातीनातिनाहरुलाई पढ्ने खर्च जुटाउँछिन्।
उनका अनुसार दिनमा सरदर १ हजार देखि २ हजारको बीचमा कमाईं हुन्छ। घरमा आवश्यक खर्च गरेर १० देखि १५ हजार नाफा बच्छ। फुटपातमा धुलोमाटो सहेर उनले वार्षिक लाख कमाउँछिन्। स्वदेशमा बसेर रोजगारी पाइएन भन्नेहरूका लागि उनले राम्रो पाठ पढाएकी छिन्।
आफू एक्लो भएर पनि साहसका साथ जिन्दगी जिइरहेकी उनका अब दुई वटा लक्ष्य छन्। वर्षौंदेखि बेपत्ता अवस्थामा रहेका श्रीमानको न्यायको लागि लड्ने र कान्छी छोरीको आफ्नै हातबाट कन्यादान गरिदिने।
‘अब कति नै बाँचौला र? सबै दुःख–सुख भोगिसके। यति काम गर्न पाए हुन्थ्यो,’ उनले आफ्ना कुरा सकाउँदै भनिन्।