ट्राफिक प्रहरीका दुःख : एक जनाको भागमा २४ किमी सडक, जनशक्ति अभावले ‘डमी’ को सहारा !

तस्विर ः लोकान्तर

प्रकाश आचार्य

तीव्र शहरीकरणले लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवल, तिलोत्तमा र भैरहवा क्षेत्र एउटै शहरमा परिणत भइसकेको छ । 

शहरीकरणसँगै बनेका फराकिला सडकमा बढ्दो सवारी चापले दैनिक रूपमा सडक दुर्घटना बढ्दै गएको छ ।  

तर, दुर्घटना न्यूनीकरणका लागि थप गर्नुपर्ने ट्राफिक प्रहरीको जनशक्तिप्रति राज्यको ध्यान जान सकेको छैन ।

जसको विकल्पमा ट्राफिक प्रहरीले आफ्नो काम गरेको झल्को दिने काल्पनिक ट्राफिक प्रहरी (डमी) राखेर सचेतना र दुर्घटना न्यूनीकरणमा जुटेको छ ।

सडक शिक्षालाई प्रभावकारी बनाउँदै दुर्घटना न्यूनीकरण गर्नका लागि रूपन्देहीको सिद्धार्थनगर (भैरहवा) का विभिन्न ठाउँमा ‘डमी’ प्रहरी राखेर सचेतना अभियान थालिएको हो । 

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनाराण पाण्डेले जनशक्ति अभावले दुर्घटना न्यूनीकरणका लागि ‘डमी’ प्रहरीको अवधारणा ल्याइएको बताए ।

‘प्रदेश सरकारले बुटवलमा काम शुरू गरेसँगै यहाँ सवारी चाप थेगिनसक्नु रूपमा बढ्यो । त्यसमा पनि साना सवारी साधनको धेरै गुड्न थाले । ट्राफिक प्रहरीलाई काम बढ्यो तर, जनशक्ति बढेन । हामी अभावकाबीच काम गर्नुपर्ने अवस्थाले गर्दा शहरका ठाउँ–ठाउँमा काल्पनिक प्रहरी राखेर लापरवाही गरेर सवारी चलाउनेलाई खबरदारी गर्न थालेका हौं,’ डीएसपी पाण्डेले भने । 

‘डमी’ प्रहरीलाई ट्राफिक प्रहरीले लगाउने बर्दी, टोपी, र मुखमा मास्क लगाइको छ । ‘डमी’ प्रहरीको हातमा ट्राफिक नियमको प्लेकार्ड देख्न सकिन्छ ।

प्रकाशित मिति: : 2020-10-19 14:38:00

प्रतिकृया दिनुहोस्