ढल्यो मलेसियन गुण्डा नाइके डेभिडको ठगी साम्राज्य, नेपालीसँग १५ लाख असुलेपछि प्रहरी फन्दामा

गगन अर्याल

काठमाडौं
गुण्डा नाइके डेभिड
गुण्डा नाइके डेभिड

दाङ जिल्लाको तलसीपुर उपमहानगरपालिका–१५ की एक महिला गत असार १४ गते १२ लाख बोकेर मलेसिया पैसा पठाउन हिमालयन बैंकको तुलसीपुर शाखामा पुगिन् । मलेसियामा गरेको कमाइ नेपाल पठाउने कुरा त स्वाभाविकै भए पनि नेपालबाट मलेसिया यतिधेरै पैसा पठाउनु अस्वाभाविक थियो ।

बैंकका कर्मचारीले जिज्ञासा राखे । १० लाख रुपैयाँभन्दा बढी पठाउँदा कारण समेत चाहिने भएकाले बैंकका कर्मचारीले सोधीखोजी गरेका थिए । आफ्ना श्रीमान् मलेसियामा बन्धक रहेकाले अपहरणमुक्त गर्न पैसा पठाउन लागेको जानकारी ती महिलाले बैंकका कर्मचारीलाई दिइन् । पैसा नपठाए श्रीमान्को ज्यान जाने चिन्ता उनले बैंकमा व्यक्त गरिन् ।
 
ती महिलाको कुरा तुलसीपुर शाखाका कर्मचारीले बैंकको काठमाडौंस्थित केन्द्रीय कार्यालयमा जानकारी गराए । नेपाली कामदार विदेशमा बन्धक भएका कारण बैंकको केन्द्रीय कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी) का प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकूल थापालाई जानकारी दियो । सीआईबीले तत्कालै अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक (डीएसपी) को टोलीलाई खटायो । 

अनुसन्धान प्रक्रिया चल्दै गर्दा ती महिलाले पहिलो चरणमा १२ लाख रुपैयाँ मलेसियामा रहेका दुर्गाबहादुर श्रेष्ठको नाममा हिमालयन बैंकमार्फत पठाइन् । प्रहरीले ती महिलासँग सम्पर्क गर्‍यो । प्रहरीको परिचय लुकाउँदै गोप्य रूपमा कुरा बुझ्न खोज्यो । यसबीच ती महिलाले दोस्रो पटक असार १६ गते ३ लाख रुपैयाँ र तेस्रो पटक ९२ हजार रुपैयाँ फेरि पठाइन् । यसरी श्रीमान् अपहरणमुक्त गर्न ती महिलाले १५ लाख ९२ हजार रुपैयाँ मलेसिया पठाइन् ।

सीआईबीको टोलीले ती महिलाका श्रीमान्सँग सम्पर्क गर्न खोज्छ तर सम्भव हुँदैन । ती महिलाले आफ्नो पनि कुरा नभएको बताउँछिन् । पीडित परिवारको रूपमा सबै कुरा फुत्काउन नसकेपछि सीआईबीको प्रहरी टोलीले आफू अनुसन्धानमा खटिएको बताउँछ । त्यसपछि ती महिलाले सबै कुरा बताउँछिन् । मलेसियामा रहेका उनका श्रीमान् मद्म रैदाससँग प्रहरी टोलीले सम्पर्क गर्छ अनि अनुसन्धान प्रभावकारी रूपमा अगाडि बढ्छ ।

प्रकाशित मिति: : 2020-10-12 15:30:00

प्रतिकृया दिनुहोस्