नेपालका असल मानिसको नाम लिँदा आम नेपालीले नछुटाउने एउटा नाम हो, डाक्टर गोविन्द केसी ।आग्रह पूर्वाग्रह राख्ने र राजनीतिको झोलासँग विवेक साट्ने बाहेक हरेक नेपालीले नछुटाउने नाम हो यो। एक चिकित्सकका रूपमा आफ्नो कार्यकाल पूरा गरेर कर्णालीका दूरदराजका गाउँमा दु:खी पीडितको नि:शुल्क उपचार गरिरहेका यी एक असामान्य मानिस हुन्। जसको न घर छ न परिवार; न कुनै बैंक ब्यालेन्स छ न धन सम्पति। एक सन्त फकिरझै लाग्ने यी मानिसलाई नजिकबाट चिन्ने हो भने जो कसैको पनि शीर उनको लागि झुक्छ र झुक्नु पनि पर्छ।
डा. केसीले नेपालको चिकित्साशिक्षाको आमुल परिवर्तनका लागि अहम् योगदान गरेका छन् । उनी आफ्नो जीवनको प्रवाह नगरी पटक पटक अनसन बसेका छन् र त्यही सत्यको आलोकमा हरेक सरकारका मुखियालाई सम्झौता गर्न बाध्य बनाएका छन्।
तर, दुर्भाग्य शासकहरू आफ्नो वाचा कसममा इमान्दार नहुँदा डा. केसीले पटक पटक अनसन बस्नु परेको छ। अहिले उनी १९औं अनसनमा छन्। जुम्लामा सुरू भएको यो अनसन नेपालगञ्ज हुँदै काठमाडौं आइपुगेको छ।
देशका सचेत जनता सुरूदेखि नै डा. केसीको अनसनको समर्थनमा छन्। समर्थनको ग्राफ घट्दो हैन, बढ्दो छ। सदन नभएको यतिबेला जनमत देखिने बाँकि प्लेटफर्म सडक र सञ्चारमाध्यम त्यसैको प्रतिविम्व भएका छन्। आवधिक चुनावबाट पाएको जनमत भलै ओलीको पक्षमा थियो होला तर समसामियक मुद्दामा सडक र सञ्चारमाध्यममा प्रतिविम्वित हुने जनमत उनको पक्षमा छैन भन्ने यो एउटा गतिलो प्रमाण हो।
तर, सरकार त्यसमा पनि वर्तमान प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीलाई उनी पटक्कै मन पर्दैनन्। त्यसको प्रमाण अहिले डा. केसीको पक्षमा सडकमा उत्रेका मानिसमाथि बज्रिएको पुलिसको डण्डा त हो नै, यसअघि ओली प्रधानमन्त्री हुँदा गरेको सम्झौतालाई रद्दीको टोकरीमा फालिएको यथार्थ पनि त्यही सत्यको अर्को साक्षी हो।
आखिर कुनै नाता साइनो नभएका मानिस डा. केसीका लागि १९ पटकसम्म किन सडकमा उत्रिरहेका छन् ? के ती खेताला हुन् ? या कुनै राजनीतिक पार्टीका कार्यकर्ता ? के उनीहरू पैसा वा पद पाइन्छ भनेर आएका मानिस हुन् ?
मुलुक ओलीको बोलीमा लोली मिलाउँदै एउटा ब्यालेट तानाशाहको अभ्यासमा लागेको छ। त्यसैको परिणाम हो, ओली लिडेढिपीसामु सिंगो नेकपाको पार्टी पंक्ति तमशरणम् हुनु। आखिर त्यो तमशरणम् के का लागि ? पदका लागि । पद जोगाउन एक से एक नेकपा कम्रेडहरू मूल्य, मान्यता, सिद्धान्तबाट स्खलित भएर पार्टीका नाममा ओलीका लागि बहुमत जुटाइरहेका छन्। यो लोभीपापीको अंकगणितबाट नेपालमा एक अजबको ब्यालेट तानाशाहको जन्म भएको छ। जसका लागि डा. केसीजस्ता त्यागका प्रतिमूर्तिहरू घाँडो भैरहेका छन् भने पद र पैसाका लम्पटहरू पुरस्कृत भैरहेका छन्।
वास्तवमा उनीहरू त्यसरी आएका मानिस हैनन्। उनीहरू विवेकलाई बन्धकी नराखी डा. केसीले उठाएका मुद्दाहरू सही हुन् भनेर उनको जीवन रक्षाका लागि आएका स्वाधिन मानिस हुन्। हो, यसरी आउने मानिसमा कुनै राजनीतिक आस्था वा विचार होला यद्यपि उनीहरू मूलभूत रूपमा कुनै पार्टीका दास कार्यकर्ता हैनन्।
प्रधानमन्त्री ओलीलाई डा. केसी मन नपर्ने भएकाले उनलाई खुशी बनाउन ओली-जोजोम्यानहरू डा. केसीका विरूद्धमा बेला बेलामा विष ओकलिरहेका हुन्छन्। उनीहरू भन्छन्, के एकजना मानिसका लागि सरकार निहुरनुपर्ने ? अझ उनीहरू के पनि भन्न पछि पर्दैनन् भने डा. केसी कसैका लागि मुद्दा बोकिदिने खेताला हुन्। उनी कम्युनिष्टविरोधी हुन् र मनमोहन अस्पतालका विरूद्धमा कसैबाट परिचालित छन्।
उनीहरूका यी तर्कहरू पूर्वाग्रही र दम्भले भरिएका छन्। मूल कुरो उनले उठाएका माग जायज छन् कि छैनन् ? भन्ने हो। यदि जायज छैनन् भन्ने सरकारलाई लाग्छ भने किन पटक पटक माग पूरा गर्ने वाचा वन्धन गरिरहन्छ? जब वाचा वन्धन गर्छ भने किन पूरा गर्दैन। के सरकार ढाँट्ने संस्था हो? यो प्रश्नको उत्तर सरकारसँग छैन।
वर्तमान सरकारका मुखिया ओलीले ढाँट्न र झुटा आश्वासन दिनमा महारथ नै हासिल गरेका अनेकौ दृष्टान्त छन्। केही दृष्टान्तको कुरा गर्दा, उनले तत्कालिन एमालेको सरकार बनेको एक महिनामा मदन भण्डारीको हत्यारालाई जेलको चिसो सिंढी पठाउने घोषणा गरेका थिए। महाकाली सन्धीको बेला वर्षेनी अर्वौ डलर आउने घोषणा गरेका थिए। नेपालको लोकतान्त्रिक आन्दोलनलाई वयलगाडासँग तुलना गरेर बयलगाडाबाट अमेरिका पुग्न नसकिने उद्घोष गरेका थिए। घरघरमा पाइपबाट ग्यास ल्याउने समयतालिका नै सुनाएका थिए। सूची बनाउँदै जाँदा धेरै लामो हुन्छ।
डा. केसी प्रसंगमै कुरा गर्दा पनि ओली यसअघि प्रधानमन्त्री हुँदा डा. केसीसँग लम्बेतान सम्झौता गरेका थिए। त्यही सम्झौताको एउटा बुँदा थियो, चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिनमा वरिष्ठलाई नियुक्त गर्ने थियो। तर, त्यसो नगरेर उनले आफ्नै निजी चिकित्सक डा दिव्या सिंह शाह कनिष्ठ हुँदाहुँदै पनि नियुक्ति दिलाए। यो त एउटा दृष्टान्त मात्र हो, उनले आफ्ना वाचा वन्धन तोडेको। यस्तो सूची लामो भएर नै डा. केसी १९औं पटक जीवन मरणको अनसनमा छन्।
केही महिनाअघि एक ओली जोजोम्यानले डा. केसी घाँडो भएको सार्वजनिक टिप्पणी लेखेका थिए। आफ्ना आदर्श नेतालाई खुशी पार्न गरेको टिप्पणीको पुरस्कारस्वरूप उनले केही समयअघि राष्ट्रपतिबाट तक्मा नै पाए। यो परिघटनालाई दृष्टान्त मान्ने हो भने मुलुक ओलीको बोलीमा लोली मिलाउँदै एउटा ब्यालेट तानाशाहको अभ्यासमा लागेको छ। त्यसैको परिणाम हो, ओली लिडेढिपीसामु सिंगो नेकपाको पार्टी पंक्ति तमशरणम् हुनु।
आखिर त्यो तमशरणम् के का लागि ? पदका लागि । पद जोगाउन एक से एक नेकपा कम्रेडहरू मूल्य, मान्यता, सिद्धान्तबाट स्खलित भएर पार्टीका नाममा ओलीका लागि बहुमत जुटाइरहेका छन्। यो लोभीपापीको अंकगणितबाट नेपालमा एक अजबको ब्यालेट तानाशाहको जन्म भएको छ। जसका लागि डा. केसीजस्ता त्यागका प्रतिमूर्तिहरू घाँडो भैरहेका छन् भने पद र पैसाका लम्पटहरू पुरस्कृत भैरहेका छन्। अझ गजबको कुरा त तीनै लम्पटका फेसबुक स्टाटस तानेर मेरो देशको चौथो अंग समाचारका शीर्षक बनाउँछ र व्यावसायिक पत्रकारिताको डिङ हाकिरहेको छ। यसो गर्दा उनीहरूले के बिर्सिरहेका छन् पत्रकारिता ट्रेजरी बेञ्चमा हैन, अपोजिसन बेञ्चमा बसेर आलोचनात्मक चेतका साथ गरिने एक मिशन हो।
(यो लेखकको निजी विचार हो यसमा ब्रेक एन लिंक्सको सम्पादकीय नीति प्रतिविम्वित हुँदैन - सम्पादक)