पाटन। सुन्दा लाग्छ यो सहरको नाम हो।
जहाँ वरपरको भन्दा सुविधै सुविधा छ।
तर तिनाउको पाटन गाउँ भने तिनाउ गाउँपालिकाको दुर्गम गाउँमध्ये एक हो। जुन गाउँमा मोटरबाटो, बिजुली, सामुदायिक स्वास्थ्य इकाई पुगेको धेरै भएको छैन।
यस गाउँका एक त्यस्ता व्यक्ति छन् मीनबहादुर बगाले, जसको मुख्य पेसा भनेकै डोको बुन्ने हो। बाँस काट्ने, चोया बनाउने र डोको बुन्ने उनको दैनिकी हो।
मीनबहादुरले यसरी दैनिकी बिताउन लागेको ३५ वर्ष पुगेको छ। ४९ वर्ष उमेरका उनले १४ वर्षको उमेरदेखि डोको बुन्न सुरु गरेको सुनाए।
मीनबहादुर पाटनका प्रतिनिधिपात्र हुन्। उनीसँगै पाटनका १७ घरका व्यक्तिहरुको पेसा नै डोको बुन्ने रहेको छ। उनीहरुको मुख्य आम्दानीको स्रोत नै डोको बुनाइ हो।
मीनले डोको बुन्ने सीप भने कहींकतै तालिम नलिई घरमै आफ्नै पिताबाट सिकेका हुन्। ‘घरमा बुबाले डोको बुन्नुहुन्थ्यो,’ उनले भने, ‘हेर्दै, सोध्दै, बुन्दै गर्दा सिकियो।’
पाल्पाको तिनाउ गाउँपालिका ६ पाटनका मीनबहादुरले डोको बुनेरै जीविका चलाउँदै आएका छन्। ‘अरु सीप जानिएन,’ उनले भने, ‘विदेश गइएन, गाउँ छाडिएन डोको बुनेरै घर व्यवहार चलेको छ।’
गाउँपालिकाको अग्लो ठाउँमध्ये पर्ने पाटन गाउँमा निगालो प्रशस्तै पाइन्छ। उनका बारीका कान्लाहरूमा निगालो लगाएका छन्। त्यसैबाट उनले डोको बुन्ने गरेको बताए।