रिमालका ५ मुक्तक अनुष्टुप छन्दमा

टेकनारायण रिमाल ‘कौशिक’

याङ्गौँ, म्यान्मा(बर्मा)

१- सरस्वतीको भक्त

भाषा साहित्य सेवी हूँ सेवा गर्छु निरन्तर
वर हुन्छु जमानाले फ्याँकोस् तापनि पल्तिर
आँधी तूफान नै आओस् लेखनी बन्द गर्दिनँ 
म रोकिएँ भने हुन्छ शारदाकै अनादर।


२- राम्रा बानी बसालौं!

प्रशोधित चिसो पानी खाने बानी बसाउनू
बिहान बेलुकी घुम्न जाने बानी बसाउनू
सुख स्वास्थ्य र दीर्घायु युक्त जीवन पाउन
सन्मार्गमा स्वयंलाई लाने बानी बसाउनू।

३- सुन्दर प्रकृति

हाँगा हाँगा सिँगारेर फुले गुलाफका थुँगा
पिई पीयूषका थोपा फाले मकइले जुँगा
सृष्टि मुस्कानले पूर्ण प्रेरणाले परस्पर
कल्पनाऽऽकाश गङ्गामा तैरिँदा भावका डुँगा।

४- दुर्व्यसनको मार

धुवाँ धुवाँ भयो जन्म छिया छिया भयो मुटु
यो दुर्व्यसनले राम! छिन्यो आयु सुटू-सुटु
चराले खेत खाए’सि पछुताउनु अर्थ के?
ल बाँचुञ्जेल पर् कान्छा! ओछ्यानमा गुटूमुटु।

५- अहंको अन्त्य

बोट बेर्ना उखेल्दै र कुल्चिँदै मस्त हिँड्दथ्यो
केराका थाम देखेमा दाह्रो हानेर गिँड्दथ्यो
लोट्यो बर्ल्याङ्ग त्यो हात्ती सुँडमा कमिला पसी
राता मुसाहरू छातीमाथि चढ्थे उ चिड्दथ्यो।

प्रकाशित मिति: : 2020-09-12 17:16:00

प्रतिकृया दिनुहोस्