रामेछापका थप पाँच प्रहरीसहित ६ जनामा कोरोना संक्रमण

रामेछापका थप पाँच प्रहरीसहित ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

मन्थली नगरपालिका-१ की ८६ वर्षीया महिला र  जिल्ला प्रहरी कार्यालयमा कार्यरत २७, २७, ३४, ३८, ४७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिए।

उनीहरुको २७ गते स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको थियो। योसँगै जिल्लामा कोरोना पोजिटिभ हुनेको संख्या ५५ पुगेको छ।

भदौ १९ गते तामाकोशी अस्पतालका एक महिला कर्मचारी र पाँच जना प्रहरीमा कोरोना पुष्टि भएको थियो। त्यसपछि कन्ट्रयाक ट्रेसिङको क्रममा  जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासत/थुनामा रहेका दुई जना, तीन जना प्रहरी र प्रहरीको श्रीमती गरी ६ जनामा कोरोना पुष्टि भएको थियो।

थापाका अनुसार जिल्लामा सक्रिय संक्रमितमध्ये ४ जना होम आइसोलेसन, २ जना प्रहरी हिरासतमा र २ जना प्राथमिक स्वास्थ्य केन्द्र र १० जिल्ला अस्पताल रामेछापको आइसोलेसनमा उपचाररत छन्। 

स्वास्थ्य कार्यालय रामेछापका अनुसार शनिबारसम्म रामेछाप जिल्लामा १३२९ जनाको स्वाब संकलन गरिएको छ। जसमध्ये १२७४ जनाको कोरोना नेगेटिभ आएको छ। 

प्रकाशित मिति: : 2020-09-12 13:17:30

प्रतिकृया दिनुहोस्