सीमा क्षेत्रमा चिनियाँ–भारतीय सैनिक मुक्का र लठ्ठी बर्साउँदै गरेकाे भिडियो भाइरल

विवादीत सीमा क्षेत्रमा चिनियाँ र भारतीय सैनिकहरु मुक्का र लठ्ठी बर्साउँदै गरेकाे भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। दुई देशबीच सीमामा भएको झडपको सम्भवतः पहिलोपटक सार्वजनिक भएको हाे। 

चिनियाँसामाजिक सञ्जालमा राखिएकाे भिडियोमा सैनिकहरु एउटा नदीको किनारमा भिडिरहेको देख्न सकिन्छ।

चिनियाँ सैनिक स्रोतका अनुसार उक्त भिडियो सबैभन्दा पहिले मंगलबार राति सामाजिक  सञ्जालमा देखिएको थियो। उक्त भिडियो वास्तविक भएको र सम्भवतः केही महिनाअघि खिचिएको साउथ चाइना मोर्निङ पोष्टले  जनाएकाे छ।

एक सैन्य विज्ञका अनुसार उक्त भिडियो १५ जुनमा भएको हिंस्रक झडपको नभएर त्योभन्दा अघि गलवान नदीमा मे महिनामा भएको झडपको हुनसक्ने बताए।

 

गत जुन १५ मा भारतको लद्दाख क्षेत्रमा रहेको गलवान क्षेत्रमा दुई देशका सैनिकबीच हिंस्रक झडप भएकाे थियाे। उक्त घटनामा कम्तिमा २० जना भारतीय सैनिक मारिएका थिए। बेइजिङले भने उक्त घटनामा ब्यहोरेको क्षति सार्वजनिक गरेको छैन।

आफ्नो नाम उल्लेख नगर्ने सर्तमा सैनिकहरुले बन्दुकको प्रयोग नगरेर संयमता देखाएको बताए। उक्त भिडियोमा चिनियाँ सैनिकहरुसँग लठ्ठी र दंगा हुँदा प्रयोग हुने ढाल रहेको देख्न सकिन्छ भने भारतीय सैनिकहरुले बन्दुक बोकेको देखिन्छ। तर, उनीहरुले बन्दुक चलाएकाे देखिँदैन।

लाखौँ पटक हेरिएको यो भिडियोको वाटरमार्क हेर्दा चिनियाँ फोनबाट खिचिएको देख्न सकिन्छ। उक्त विज्ञले आफूसँग झडपको भिडियो प्रमाण रहेको देखाउन बेइजिङले नै उक्त भिडियो सचेतरुपमा सार्वजनिक गरेको हनुसक्ने आशंका पनि व्यक्त गरे।

‘सायद बेइजिङले चिनियाँ जनता र भारतलाई सन्देश दिन चाहन्छ कि कसले सहमतिको उल्लंघन गर्‍याे (गोली चलाएर) र कसले झडप सुरु गर्‍याे भन्ने आफूसँग भिडियो प्रमाण छ,’ उनले भने।

गत मे महिनादेखि भारत र चीनबीच सीमा विवाद देखिएको छ। त्यसयता तनाव गर्न दुई देशबीच कयौँ वार्ता पनि भएका छन्। तर, गत सोमबार पाङगोङ त्सो तालमा भएको विवादका क्रममा गोली चलेपछि स्थिति पुनः तनावग्रस्त बनेको छ। उक्त घटनामा एक भारतीय सैनिक मारिएकाे बताइएकाे छ।
 

प्रकाशित मिति: : 2020-09-10 11:52:42

प्रतिकृया दिनुहोस्