‘मेरो निष्ठा र ज्ञानको कारणले यो जिम्मेवारी पाएँ, व्यक्तिको हितमा काम गरिनँ’

आज म नियमित पत्रकार सम्मेलनका लागि उपस्थित भएको होइन । क्याबिनेट बैठकपछि सञ्चारमन्त्री आउँदा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आएको हो कि भन्ने पर्न सक्छ । तर, त्यसो होइन । आज (शुक्रबार) ११ बजेपछि मन्त्रिपरिषद्को बैठक थियो । मन्त्रिपरिषद् बैठकका निर्णय त माइन्युटिङ भएपछि निश्चित समयपछि सार्वजनिक हुने नै छन् । तर, आज मैले तपाईंहरुलाई व्यक्तिगत कारणले निम्ता गरेको हुँ । 

नेपाल सरकारको अर्थमन्त्रीको रुपमा २ वर्ष ६ महिना र सञ्चार तथा सूचना प्रविधिमन्त्रीको रुपमा पनि झन्डै झन्डै ७ महिना जति मैले कार्यभार सम्हाल्ने अवसर पाएँ, यो अवधिमा के–के काम भए, यो त विस्तारै सार्वजनिक हुँदै जानेछन् र तपाईंहरुले पनि मूल्यांकन गर्दै जानुहुनेछ । तर, सञ्चारमन्त्रीको रुपमा मैले पाएको जिम्मेवारी मेरो लागि अनपेक्षित हो । 

म विकासको अध्येता, अभ्यासकर्ता व्यक्ति हुँ । त्यो मानेमा आम सञ्चारको भूमिका र महत्त्व नबुझ्ने मान्छे त होइन । विज्ञान प्रविधिबिना आधुनिक राष्ट्रको निर्माण हुन सक्दैन । सूचना प्रविधिबिना २१ औं शताब्दीको समतामूलक समाज निर्माण हुन सक्दैन भन्ने कुरा पनि बुझेकै थिएँ । 

सूचनाबिनाको निर्णय कस्ता हुन्छन् र सूचनाको युगमा सूचना पाउनु र नपाउनु नै असमानताको कडी हुन सक्छ । अहिलेको युगमा सूचना प्रविधि नै हो, शोषणको माध्यम पनि असमानताको माध्यम पनि यो हुन सक्छ र राज्यको शासकीय प्रबन्धको समस्याको कारण पनि यो हुन सक्छ भन्ने पनि मलाई सामान्य ज्ञान थियो । 

तर, प्राविधिक रुपमा यो मन्त्रालयको जिम्मेवारीमा रहुँला र नेपाल सरकारको प्रवक्ताको जिम्मेवारीको भूमिका पनि निर्वाह गरौंला भन्ने चाहिँ मेरो सोचभन्दा बाहिरको कुरा थियो । सम्माननीय प्रधानमन्त्रीज्यूले अर्थमन्त्रीका अतिरिक्त थप कार्यभर पनि सम्हाल्ने अवसर दिनुभयो, मलाई विश्वास गर्नुभयो । यसका लागि म सम्माननय प्रधानमन्त्रीज्यूप्रति आभार प्रकट गर्छु । 


हामी अलिक खुकुलो भयौं, पूरै उन्मुक्त हुन खोजिहाल्ने । हामी अलिक कठोर भयौं, अप्ठ्यारोमा पर्ने । यसको बीचबाट हामी जाँदैगर्दा अब नागरिकहरु पनि सचेत हुन थाल्नुभएको छ । स्वतःस्फूर्त रुपमा आफूलाई संयमित गराउन थाल्नुभएको छ, सुरक्षित रहन थाल्नुभएको छ । त्यो भयो भने स्वास्थ्य सुरक्षा कायम राख्दै दैनिक क्रियाकलापलाई कायम राख्ने, आर्थिक गतिविधिलाई सूचारु राख्ने र हामी कुनै पनि हिसाबले संकट आउन नदिने स्थितिमा पुगिन्छ । 


नेपाल सरकारको प्रवक्ताको रुपमा रहँदा मैले ठूलो प्रेस भेला  गर्ने अवस्था भएन । मैले जुनबेला प्रवक्ताको कार्यभार सम्हालेँ, त्यसलगत्तै हामी ठूलो लकडाउनको स्थितिमा पर्यौं । त्यसपछि निषेधाज्ञा, त्यसमाथि कोरोना संक्रमणको जोखिम बढिरहेको थियो । त्यसले गर्दा हामीले धेरै पत्रकारहरुसँग साक्षात्कार गर्न र मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा पनि प्रत्यक्ष रुपमा धेरै भेट हुन सकिएन । 

तर, सूचना प्रविधि यस्तो छ कि जसले गर्दा प्रत्यक्ष भेट भइरहनुपर्ने जरुरी नै छैन । मैले बोलेका कुरा सरकारका निर्णयहरु र गर्नुपर्ने कामका सम्बन्धमा तपाईंको मिडियाबाट रियल टाइम जस्तोमै प्रशारण गर्नुभयो र भौतिक उपस्थिति नभएको कारणले कुनै सूचना सम्प्रेषणमा कसैलाई पनि अभाव भएको जस्तो मलाई लागेन । त्यो मानेमा तपाइँहरु सबैलाई यस मन्त्रालयको प्रत्यक्ष अप्रत्यक्ष सम्पर्कमा रहनुहुने प्रेस र प्रेससम्बन्धित सबै साथीहरुलाई म धन्यवाद दिन चाहन्छु । 

सञ्चार मन्त्रालय अत्यन्त धेरै आम सरोकार भएको मन्त्रालय हो । सार्वजनिक निकायको रुपमा छापा माध्यम, रेडियो, टेलिभिजन, हुलाक लगायतका आम सञ्चार, दूरसञ्चार लगायतका सबै सेवा प्रदान गर्ने हामी यहीँ भएकोले यो मन्त्रालय महत्वपूर्ण भएको हो । 

हामीले नेपाली नागरिकहरुसँग गर्ने संवाद प्रत्यक्ष त आमसभाबाट हुँदो हो । त्यस्तो अवसर नहुँदा अप्रत्यक्ष संवादको आधार तपाइँहरु नै हो । हामीले गरेका राम्रा कामहरु जनसमक्ष पुर्याउने, हामीले गरेको कामलाई राम्रोसँग बुझाइदिने र हामीले गरेको काममा आलोचना भए भने त्यसलाई सुधार्न हामीलाई उत्पे्ररित र पृष्ठपोषण गर्ने काम तपाईंहरुले गर्नुभयो, गरिरहनुभएको छ र आगामी दिनमा गनि गरिरहनुस् । त्यसको लागि आगामी दिनहरुमा पनि तपाईंहरुको साथ सहयोग रहने नै छ । 

यो मन्त्रालय रिसोर्सफूल मन्त्रालय हो भनेर मैले सुरुदेखिनै भन्दै आएको छु । प्राकृतिक स्रोत, वित्तीय स्रोत, मानवीय स्रोत लगायत दृश्य स्रोतहरु जति छन्, यी आ–आफ्नै ठाउँमा छन् । तर, अदृश्य स्रोत अर्को त्यो स्रोत हो जुन यो मन्त्रालयसँग छ र यसको कुनै सीमा पनि छैन । यसको परिचालनको सीमा छैन, तर उपलब्धताको सीमा त फेरि पनि आफ्नो ठाउँमा छँदैछ । तर, हामीलाई प्राप्त स्रोतको सीमालाई अवसरमा उपयोग गर्न सकिएको छैन यसको अझै उपयोग गर्नुछ । चाहे, त्यो अर्बिटर्स लट कुरा होस्, चाहे त्यो हामीले पाएको फ्रिक्वेन्सी स्पेक्ट्रमबाट अधिकतम लाभ लिने कुरा होस्, वा सबै नागरिकलाई हामीले अधिकतम दूरसञ्चार सेवा पुर्याएर सबै नागरिकलाई दूरसञ्चार सेवामा जोड्ने कुराहरु होउन्, यसमा अझै धेरै कामहरु गर्न बाँकी छ । 

हामीले डिजिटल नेपाल फ्रेमवर्कको परिकल्पना गरेर त्यो फ्रेमवर्क कार्यान्वयनमा ल्याउँदा र अहिले कोभिडको संक्रमण भइरहँदा हामीलाई एउटा अपूर्व अवसर प्राप्त भएको छ । अब हामी शिक्षामा अनलाइन एजुकेसन भन्न थाल्यौं, स्वास्थ्यमा टेलिमेडिसिन पहिले खाली एउटा फेसन थियो, अब अभ्यासको रुपमा आउँछ । 

त्यसैगरी, जनस्वास्थ्यका कुराहरु, कोभिडको महामारीमा आम नागरिकलाई सचेतना जगाउने कुरामा मोबाइलको माध्यमबाट होस्, छापाको माध्यमबाट होस् वा टेलिभिजनको माध्यमबाट होस्, सबै सञ्चार माध्यमबाट होस्, यहाँहरुले जुनप्रकारले सहयोग गरिरहनुभएको छ, यो अवस्थाको अन्त्य अहिले मैले देखिराखेको छैन । कोभिडको संक्रमणको जोखिम अब असोज १ गतेबाट अन्त्य हुन्छ भन्ने मलाई लाग्दैन ।  

हामी अलिक खुकुलो भयौं, पूरै उन्मुक्त हुन खोजिहाल्ने । हामी अलिक कठोर भयौं, अप्ठ्यारोमा पर्ने । यसको बीचबाट हामी जाँदैगर्दा अब नागरिकहरु पनि सचेत हुन थाल्नुभएको छ । स्वतःस्फूर्त रुपमा आफूलाई संयमित गराउन थाल्नुभएको छ, सुरक्षित रहन थाल्नुभएको छ । त्यो भयो भने स्वास्थ्य सुरक्षा कायम राख्दै दैनिक क्रियाकलापलाई कायम राख्ने, आर्थिक गतिविधिलाई सूचारु राख्ने र हामी कुनै पनि हिसाबले संकट आउन नदिने स्थितिमा पुगिन्छ । त्यसका लागि चेतनामूलक व्यवहार अपनाउन सबैलाई चेतना जगाउने र सरकारलाई पनि यसो गर्यो भने आम नागरिकलाई सहज हुन्छ भन्ने कुरा निरन्तर रुपमा राख्दै गर्नुहोला । यो मेरो यहाँहरुलाई एउटा अनुरोध भयो । 

म डिजिटल नेपाल फ्रेमवर्कमै म जान चाहन्छु । शिक्षा स्वास्थ्य मात्र होइन । कृषिमा आधुनिकिकरण पनि सूचना प्रविधि र विज्ञान प्रविधिको प्रयोगविना त्या सम्भव छैन । हामी स्मार्टसिटी भन्छौं, ती सबै त्यही प्रविधिमा आधारित हुन्छन् । त्यसैगरी हामी अहिले इन्जिनियरिङका नयाँ प्रविधिबाट हामी भौतिक पूर्वाधारका कामहरु अघि बढाउनुछ, सिँचाई र खानेपानीका आयोजनाहरुमा पनि हामी नयाँ प्रविधिमा जानुछ । सूचना प्रविधिकै माध्यमबाट हामी विज्ञान प्रविधि अथवा अन्वेषण हुँदै हामी नयाँ प्रकारको अभ्यासमा पनि अघि बढ्न सक्छौं । यो काममा तपाईं हामी लाग्नुपरेको छ । 

यी सबै गरिरहँदा अर्थतन्त्रका सबै पक्षहरु र अर्थतन्त्रका सबै पक्ष र सबैभन्दा महत्वपूर्ण शासकीय पक्षहरु जोडिएर आउँछ । जहाँ शासकीय समस्या उठ्छन्, त्यो पारदर्शिताको विषयसँग जोडिएर आउँछन् । शीघ्र्र काम गर्ने कुरासँग जोडिएर आउँछन् । 

काम किन ढिलो हुन्छ ? सिंहदरबारभित्रै पत्राचार हुँदा एउटा निकायबाट अर्को निकायमा चिठी जान यतिका दिन किन लाग्छ ? यो विषयमा सुधार गर्ने हामीले सूचना प्रविधिको प्रयोग गरेर नै हो । सिंहदरबारभित्र हामीले हाम्रै आफ्नै प्रणालीलाई प्रयोग गर्यौं भने त रियल टाइममै इन्फरमेसन आउँछ । 

आजै मैले क्याविनेटमा सञ्चार मन्त्रालयको ब्रिफिङ गर्दै थिएँ । हामीले ७० वटा भन्दा बढी सिग्नेचरहरु प्रयोगमा ल्याएर देखाइसकेका छौं । अब क्रमशः हामी त्यसरी जाउँ न ! हाम्रा आ–आफ्नै टोकन हुन्छन्, आ–आफैं एप्रुभ गर्छौं । हामी पुरानो शैलीमा सुब्बासा’बदेखि टिप्पणी उठाउँदै जाने, दर्ता चलानी गर्ने, अनि कार्यालय सहयोगी हुँदै कति दिनमा त्यो डिस्प्याच हुन्छ ? यो प्रणालीबाट हामी रियाल टाइममा इन्फरमेशन एक्सचेञ्ज हुने र निर्णय हुने विन्दुमा पुग्नुछ । यसो भयो भने हामीकहाँ बलियो र स्फूर्त शासकीय प्रबन्ध हुन्छ । त्यसका लागि हामीले केही काम गर्न बाँकी छ । 

दूरसञ्चार सेवाको कुरा गर्दाखेरि थप लगानी र क्षमता विकासको जरुरी छ । डिजिटल नेपाल फ्रेमवर्क पूर्वाधारबिना पनि हुँदैन, जनशक्तिको विकास बिना पनि हुँदैन, त्यसलाई तपाइँहरुले अझ अघि बढाउनुपर्ने धेरै कुराहरु छन् । अब आउने मन्त्री र सचिवज्यूहरुले गर्नुपर्ने कामको सन्दर्भमा मैले यी कुराहरु भन्दैछु । 


काम किन ढिलो हुन्छ ? सिंहदरबारभित्रै पत्राचार हुँदा एउटा निकायबाट अर्को निकायमा चिठी जान यतिका दिन किन लाग्छ ? यो विषयमा सुधार गर्ने हामीले सूचना प्रविधिको प्रयोग गरेर नै हो । सिंहदरबारभित्र हामीले हाम्रै आफ्नै प्रणालीलाई प्रयोग गर्यौं भने त रियल टाइममै इन्फरमेसन आउँछ । 


हामीले हाम्रा पुराना सञ्चार माध्यमहरुलाई आधुनिकीकरण गर्ने, हुलाकलाई आधुनिकीकरण गर्ने वा हाम्रा सूचना विभागलाई, प्रेस काउन्सिललाई, राससको अफिसलाई आधुनिकीकरण गर्दै जाने कुरामा राम्रो काम सुरु गरेका छौं । यसको विवरण मलाई दिनुभएको छ, मलाई खुसी लागेको छ । डिजिटल युगमा हामी प्रवेश गर्दैछौं । तर अझै शीघ्ररुपमा हामीले काम गर्नुपर्नेछ । यसमा साथीहरु लाग्नुनै हुनेछ । 

सबैभन्दा महत्वपूर्ण कुरा, मैले यो मन्त्रालयको पूर्वाधार निर्माणको काममा विवादरहित ढंगले काम गर्न सुरु गरेको छु, चाहे त्यो खरिदको विषयमा होस्, वा चाहे अन्य प्रतिस्पर्धाको विषयमा होस् । यसलाई अघि बढाउने र हाम्रा अदृष्य स्रोतहरुलाई प्रतिस्पर्धी ढंगले, पारदर्शी ढंगले र राज्यलाई अधिकतम लाभ हुनेगरी वितरण हुनेगरी प्रयोग गर्नेमा राम्रो अभ्यास भएको छ, यो स्पिरिट कायम रहोस् भन्नेमा साथीहरुलाई म अनुरोध पनि गर्न चाहन्छु । 

र, हाम्रो बाह्य प्रेससँगको सम्बन्ध पत्रकारिताका छाता संगठन हुनुहुन्छ, मिडियाको छाता संगठन हुनुहुन्छ, रेडियोका छाता संगठन हुनुहुन्छ, केवल टिभीका छाता संगठनहरु हुनुहुन्छ । अथवा पत्रकारिताभित्र पनि विभिन्न बिधाका छाता संगठनहरु हुनुहुन्छ । हाम्रो सम्बन्ध उहाँहरु सबैसँग सौहार्दपूर्ण हुनुपर्छ । हामीले बनाउने कानून, हामीले बनाउने ऐन उहाँहरुसँग सौहार्दपूर्ण संवाद, छलफल गरेर राज्यको हितमा, राष्ट्रियता सम्बद्र्धन गर्ने र राष्ट्रिय संस्कृति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, नेपालीहरुलाई जागरुक बनाउने र सम्पूर्ण राष्ट्र निर्माणको काममा जुटाउनसक्ने अभियानमा हामी सबै एकैसाथ रहन सक्नुपर्छ । त्यसैगरी, हामीले कानून निर्माण गर्दा एकपक्षीय ढंगले आफूलाई केन्द्रविन्दुमा राखेर हैन, आम सञ्चार जगतलाई केन्द्रबिन्दुमा राखेर, सबै सरोकारवालाहरुसँग छलफल गरेर कानून निर्माण गर्नुपर्नेछ । 

जुन कानून संसदमा गएका छन्, ती त प्रक्रियामा छिरे । जति बाँकी छन्, त्यसका लागि हामीले त्यसो गर्नुपर्नेछ । मलाई अघि भर्खरै कानूनमन्त्रीले के के बाँकी छन् पठाउनुहोला भन्ने खबर पठाउनुभएको छ अरे भन्ने खबर सुनेको छु । त्यसो हुनाले यसलाई टुंग्याएर कानून मन्त्रालयमा पठाउने र त्यसलाई छिटोभन्दा छिटो क्याबिनेटमा पठाउने प्रबन्ध गर्नुहोला । क्याबिनेट कमिटीमा भएका कुराहरु क्लियर हुँदै गएका छन्, यी मन्त्रिपरिषद्बाट छिटै पास हुन्छन् र यी संसदमा जान्छन् ।

हाम्रो अलिकति साइबर सुरक्षा र आईटी ब्याकअपको कुरामा हामी अहिले भूकम्पीय जोखिममा पनि छौं । साइबर आक्रमणको जोखिम पनि विश्वभरी भइरहन्छ । वित्तीय कारोबार र सरकारी निर्णय पनि अब क्रमशः सूचना प्रविधिकै माध्यमबाट हुने हुनाले हाम्रो ब्याकअप सिस्टम, भौतिक रुपमा हुनसक्ने जोखिम र प्रविधिको रुपमा हुनसक्ने जोखिम दुईवटैलाई ध्यानमा राखेर व्यवस्थित गर्नुहोला । र, यी सबै कुराहरु गरिरहँदा हाम्रो साख नगिरोस्, साख माथि नै जाओस् । 


काम गरिरहँदाखेरि सबै कुरा त मिल्दैन । किन मिल्दैन भने कतिपय राष्ट्रिय दृष्टिकोणले गर्नुपर्ने कुराहरु व्यक्तिको हितमा काम नहुन सक्छन् । बृहत्तर राष्ट्रिय हितमा कुराहरु गरिरहँदाखेरि केही व्यक्तिको व्यक्तिगत हितमा चित्त दुख्नेगरी काम गरेको रहेछ भने पनि त्यसलाई यो मन्त्रीले राष्ट्रहितकै लागि काम गरेको हो भन्ने चाहिँ तपाईंहरुले बुझिदिनुपर्छ । 


मैले केही समयपछि नै नेपाल सरकारको अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्रीको पदबाट राजीनामा दिँदैछु ( शुक्रबार साँझ राजीनामा दिइसकेका छन्) । आजको क्याबिनेटमा मैले सम्माननीय प्रधानमन्त्रीज्यूलाई म राजीनामा दिँदैछु भनेर भनेको थिएँ । सरकार बाहिर रहेर पनि मुलुकको लागि राष्ट्रहितको लागि राष्ट्र विकासको लागि, आम नेपाली नागरिकको विकास र समृद्धिको अभियानमा कुनै पनि रुपमा म जुटिरहनेछु । 

आधारभूत रुपमा म अध्ययन गर्ने, अध्यापन गर्ने, अनुसन्धान गर्ने र नीति निर्माणमा बहसपैरवी गर्न रुचाउने मान्छे हुँ । त्यो मानेमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा केही ज्ञान पनि भयो । मैले तपाईंहरुसँग कन्सल्टेसन गरिरहन पनि सक्छु । तपाईंहरुले पनि केही कुराहरु थाहा छन् कि भन्ने चाहनु भयो भने म उपलब्ध पनि हुनेछु । तर सञ्चारमन्त्रीको रुपमा आजको परिस्थितिको भूमिका चाहिँ यति नै हो । 

सबै साथीहरुले, सबै निकायमा प्रमुखहरुले जुन सहयोग मलाई गर्नुभएको छ, जुन सौहार्दता देखाउनुभएको छ, सहकार्य प्रदर्शन गर्नुभएको छ, आत्मीयता देखाउनुभएको छ, त्यसको लागि म धन्यवाद दिन्छु । 
काम गरिरहँदाखेरि सबै कुरा त मिल्दैन । किन मिल्दैन भने कतिपय राष्ट्रिय दृष्टिकोणले गर्नुपर्ने कुराहरु व्यक्तिको हितमा काम नहुन सक्छन् । बृहत्तर राष्ट्रिय हितमा कुराहरु गरिरहँदाखेरि केही व्यक्तिको व्यक्तिगत हितमा चित्त दुख्नेगरी काम गरेको रहेछ भने पनि त्यसलाई यो मन्त्रीले राष्ट्रहितकै लागि काम गरेको हो भन्ने चाहिँ तपाईंहरुले बुझिदिनुपर्छ । किनकी मैले व्यक्तिगत हितको लागि केही गर्दिनँ, गरेको पनि छैन । मेरो निष्ठा हो यो, कायम रहन्छ । 

त्यही मेरो निष्ठा, ज्ञान र अनुभवले गर्दा मैले यहाँसम्मको जिम्मेवारी पाएको हुँ । यसका लागि सम्माननीय प्रधानमन्त्रीज्यूलाई फेरि पनि हार्दिक धन्यवाद दिन्छु । त्यो जिम्मेवारीलाई मैले मेरो ज्ञान र अनुभवको आधारमा इमान्दारितापूर्वक र निष्ठापूर्वक निर्वाह गरेको छु । मान्छेको निष्ठा, अनुशासन भन्ने कुरा चाहिँ जीवनपर्यन्तको कुरा हो । पदमा रहँदा र नरहँदाको भन्ने विषय होइन । यो जीवनपर्यन्त अभ्यास गर्ने कुरा हो । म अभ्यासमै रहन्छु । र, योक्रममा यहाँ कसैले पनि मसँग बहस गर्दा, छलफल गर्दा म उपलब्ध हुन्छु । 

म आउँदा अलिक अप्ठ्यारो अवस्था थियो । कोभिड आइसकेको कारणले एकअर्कासँग खुलेर कुरा गर्न पनि पाइएन । संक्रमणकै डरले एक अर्काबाट टाढा बस्नुपर्ने, मास्क लगाएर बोल्नुपर्ने, एकअर्काको अनुहार हेर्न पनि नपाइने अवस्थाबाट गुज्रिएकै हौं । त्यति हुँदाहुँदै पनि केही काम गरिएको छ । 

श्रमजीवी पत्रकारहरुको हकमा केही कुराहरु अघि बढाउन खोजिएको छ । पत्रकारितालई कोभिडले पारेको प्रभावको सम्बन्धमा अध्ययन गरेर त्यसको रिपोर्ट आएको छ । त्यसलाई कार्यान्वयन गर्नुपर्नेछ ।
त्यसैगरी चलचित्रकर्मी, रंगकर्मीहरुको बारेका पनि केही कामहरु अघि बढाउनु पर्नेछ । उहाँहरुसँग हाम्रो सहकार्य कायम रहन्छ । हाम्रो मुलुकको सामाजिम सांस्कृतिक एकता, राष्ट्रियता संरक्षण र संवर्द्धन र मुलुकलाई आधुनिकतातर्फ लैजान भूमिका रहन्छ । लेखेर, बोलेर मात्रै होइन अभिनयको हिसाबले यो शक्तिशाली ढंगले प्रस्तुत हुन्छन्, यी सबै कुराहरुलाई अघि बढाउन सकौं । जो जो साथीहरु जिम्मेवारीमा हुनुहुन्छ, त्यसलाई अघि बढाउनुहोला । 

कोभिडको कारण अलिकति सेडब्याक जस्तो लाग्न सक्छ । तर, यो क्षणिक हो । यसलाई हामी परास्त गर्न सक्छौं र फेरि पनि सामान्य अवस्थामा फर्किनसक्छौं भन्ने उच्च मनोबलले काम गरौं । र, हामी फेरि विभिन्न क्षमतामा भेट हुने नै छौं ।  र, तपाइँहरुबाट सञ्चार तथा सूचना प्रविधिमन्त्रीको हैसियतले म बिदा लिँदैछु । तपाइँहरुलाई धेरैधेरै धन्यवाद ।

(शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीको हैसियतले अर्थमन्त्रीको समेत भूमिकामा रहेका खतिवडाले दिएको बिदाइ मन्तव्यको संपादित अंश । उनले शनिबारनै मन्त्री पदबाट राजीनामा दिइसकेका छन् )

प्रकाशित मिति: : 2020-09-04 22:53:48

प्रतिकृया दिनुहोस्