लिखितेन्द्र श्रेष्ठ, ४०। नेविसंघका केन्द्रीय सदस्य। विद्यार्थी राजनीतिमा भविष्य देखेर समाज परिवर्तन गर्न हिँडेको एक होनहार युवा। तर, १४ दिनदेखि उनी कत्तै हिँड्डुल गर्न सकिरहेका छैनन्। अहिले उनी पाटन अस्पतालको कोभिड–१९ विशेष आइसोलेसन वार्डको २ सय २ नम्बर बेडमा सुतिरहेका छन्। उनीसँगै आमा सरिता, भाई योगेन्द्र र ११ वर्षीय छोरा रोयल पनि सोही वार्डमा भर्ना छन्।
नेपालमा कोरोना संक्रमण फैलिन थालेपछि उनले साथीभाईसँग भेटघाट पातलो बनाएका थिए। नजिकका चिनेजानेसँग मात्र उठ्बस गर्थे। विश्वव्यापी महामारी बनेको कोरोना भाइरससँग उनी अलिकति सजग नै थिए। मिडियामा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको विषयमा गरेको हरेक सम्बोधन उनले नसुनेका होइनन्–‘नेपालीको खानपिनका कारणका कोरोना भाइरस विरूद्धको प्रतिरोधात्मक क्षमता बलियो छ। अदुवा, लसुन र बेसारले औषधीको काम गर्छ।’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसेमा आवद्ध भएपनि अर्को पार्टीको प्रधानमन्त्रीको कुरालाई उनले मिहिनढंगले हेरेका थिए। औषधी विज्ञानमा रुचि राख्ने कारण उनलाई प्रधानमन्त्रीको सबै कुरा विश्वास लागेको थिएन। तर, साथीभाईले हरेक भेटघाटमा प्रधानमन्त्रीको कुरा दोहर्याउन थालेपछि केही खुलेका थिए। र, साथीभाईसँग चियादेखि चमेनासम्म गफ गर्न भ्याए। प्रधानमन्त्री र साथीभाइले बनाइदिएको उनको त्यो आत्मबल लामो समय टिक्न सकेन। प्रधानमन्त्री र साथीहरूको ‘बेसार गफ’ अहिले उनका लागि गलपासो बनेको छ।
गत साउन २९ मा उनको काठमाडौंको विशालनगर घरमा कोरोना भाइरस पस्यो। सुरुमा उनको ११ वर्षीय छोरोमा संक्रमणको लक्षण देखियो। उनी घरमा सुतिरहेका थिए। छोरोले आएर भने,‘ बाबा मलाई कतिको ज्वरो छ?’
सुरुमा उनले छोराको कुरालाई ठ्ट्टाको रूपमा लिए। भने–‘हैट मोरो, कोरोनाले भेट्यो कि के हो?’
छोरा दौडिएर हजुरबुबा कहाँ पुग्यो। केही समयपछि उनको मनमा चिसो पस्यो। राती सुत्न सकेन्न। छटपटीकै बीच बिहान उनी ७४ वर्षीय बुवा यज्ञमान र छोरा रोयललाई बोकेर धुम्बाराहीमा खुलेको ह्याम अस्पताल पुगे। अस्पतालको गेटमा बसेका सुरक्षाकर्मीले उनीहरूलाई सुरुमै रोकेर थर्मल गनले शरीरको तापक्रम नापे। जसमा उनीहरूको तापक्रम देखियो, ९७ डिग्री फरेनहाइट। अर्थात सामान्य। कोरोनाको चेकजाँच गर्न १०२ डिग्री ज्वरो आउनुपर्ने सामान्य सिद्धान्त छ।
थर्मल गनले देखाएको उनीहरूको शरीरको तापक्रम हेर्दा कुनै पनि चिकित्सकले जाँचको सल्लाह दिँदैन। उनीहरूलाई पनि डाक्टरले त्यही सल्लाह दिएका थिए। तर, अस्पताल नै आइसकेपछि लिखितेन्द्र सबै कुराबाट आश्वस्त हुन चाहन्थे। त्यसैले उनी एक जनाको कोरोना परीक्षण गराएको ५ हजार रुपैयाँ तिर्न तयार भए। उनी यतिबेला तीन जनाकै स्वास्थ्य परीक्षण गराउन चाहन्थे। तर, चिकित्सकले सल्लाह दिए,पहिले एकजनाको गर्नुस्, सकारात्मक आए सबैको गरौंला।
बुवा मुटुको बिरामी। केही समयअघि मुटुमा पेसमेकर पनि राखेको। फेरि कोरोनाले मुटु रोगीलाई सबैभन्दा पहिले प्रभावित पार्छ भन्ने सुनेका लिखितेन्द्रले आफू र छोरालाई भन्दा पनि बुवालाई महत्व दिए। त्यसैले उनले बुवाको पहिलो कोरोना परीक्षण गर्न डाक्टरसँग अनुरोध गरे।
अस्पतालबाट बाहिर निस्किँदा उनी खुसी नै थिए। किनभने थर्मल गनमा कुनै समस्या नदेखिएका कारण कोरोनातर्फ उनको खासै ध्यान गएन। अस्पतालले २४ घण्टामा रिपोर्ट आउँछ भनेको थियो तर नआएपछि उनले भोलिपल्ट बेलुकी करिब ९ बजेतिर भाइलाई अस्पताल पठाए। यही पत्ता लाग्यो–बुवालाई कोरोना संक्रमण भएको रहेछ।
अब घरमा तनाब बढ्यो। शंकै नगरेको कोरोना घर प्रवेश गरेको घटनाले परिवारमा मात्र होइन, टोलमा पनि खैलाबैला मच्चियो। उनले बुवालाई अस्पतालमा भर्ना गर्न चारैतर्फ फोन घुमाए। तर, कुनै अस्पतालमा बेड खालि थिएन। परिवारबीच सल्लाह भयो– अस्पतालमा भन्दा घरमै हेरचाह राम्रो हुन्छ। त्यसैले बुुवालाई घरमै आइसोलेसनमा राख्ने। प्रधानमन्त्रीले भने झैं– तातोपानी र बेसार पानी पिलाउने।
डाक्टरहरूको पनि सल्लाह थियो–बिरामीको अवस्था सामान्य नै छ। होम आइसोलेसनमा राख्दा बेसै हुन्छ। यता उनले बुवालाई गाह्राे हाेला भनेर अक्सिजनकाे बेवस्थासमेत गरे। याेसबै देखेर यज्ञमान पनि अस्पतालमा एक्लै बस्नुपर्ने भन्दै जान मानिरहेका थिएनन्। ‘उहाँ त प्रधानमन्त्रीले भने झैं बेसार पानी पिएर केही दिनमा ठिक हुन्छु भन्नु हुन्थ्यो,’ लिखितेन्द्रले बिएल नेपाली सेवासँग भने।
यज्ञमान यसै पनि घरमा ठट्टा गरिरहन्थे। यसले घरको वातावरण सहज बनाएको थियो। उनका लागि बस्ने कोठा र शौचालयको छुट्टै व्यवस्था गरिएको थियो। परिवारका अन्य सदस्यले सावधानी अपनाएका थिए। खाना दिँदा पनि सर्जिकल माक्स र ग्लोब्सको प्रयोग हुन्थ्यो। घरको एकजना सदस्यलाई कोरोना संक्रमण भएपछि परिवारका अन्य सदस्यको परीक्षण गर्नु स्वभाविक भइहाल्यो।
कहाँ गएर परीक्षण गर्ने भन्ने भइरहेको थियो वडाका प्रतिनिधि आए। हाडीगाउँमा परीक्षण भइरहेको भनेपछि त्यहाँ गए। उनका परिवारमा ७ जना थिए। उनीहरु सबैले हाडीगाउँमा गएर स्वाब दिए।
दुर्भाग्य, परीक्षणकाे तीन दिन पछि आमा, भाई, छोराको रिपोर्ट मात्र होइन लिखितेन्द्रको रिपोर्ट पनि पोजेटिभ आयो। यसको अर्थ उनकाे र भाइको श्रीमतीबाहेक परिवारका ५ सदस्यलाई कोरोना संक्रमण।
‘दोस्रो रिपोर्ट आएपछि त घरमा तनाव नै भयो। बुवालाई च्याप्दै लग्यो। यसपछि हामीले पाटन अस्पताल लैजाने निर्णय गर्यौं,’ लिखितेन्द्रले भने–‘बुवा एक्लै पर्नुहुन्छ भनेर आमा पनि अस्पतालमा बस्ने हुनुभयो।’
अस्पताल भर्ना हुँदा बुवाको स्वास्थ्य झन् खस्कियो। त्यसैले चिकित्सकहरूले उनलाई आईसीयूमा राख्ने निर्णय गरे भने आमालाई आइसोलेसन वार्डमा। छोराहरू भने घर फर्किए। ‘अस्पतालबाट आमाले फोन गरिरहनु हुन्थ्यो। चिन्ता नगर ठिक छौं भन्नु हुन्थ्यो,’ उनले भने–‘तर, भर्ना गरेको दुई दिन अर्थात ८ गते अस्पतालबाट फोन आयो–तपाईको बुवा बित्नुभयो भनेर। हामी धुरीबाट खसे झैं भयौं।’
परिवारका सबै सदस्य हुईकिएर अस्पताल पुग्यो। सबै समाप्त भइसकेको रहेछ। उनीहरूले बुवाको अन्त्येष्टीका लागि लास मागे। तर, अस्पतालले दिन मानेन। यही उनीहरूलाई थाहा भयो, कोरोना लागेको मानिसलाई नेपाली सेनाले लगेर जलाउने रहेछ। ‘म जेठो छोरा भएको कारण हिन्दु परम्पराअनुसार दागबत्ति दिएर अन्त्येष्टी गर्न चाहन्थें। तर, लास सेना र अस्पताल दुबैले दिन मानेन,’ उनी अफसोच जनाउँदै भन्छन्।
बुबाको निधनपछि एक्लिएकी आमाको हेरविचार गर्न कोरोना संक्रमित भएका अन्य सदस्य त्यही दिनदेखि अस्पतालमा बस्ने निर्णयमा पुगेका थिए। उनीहरूले अस्पताल प्रशासनसँग छुट्टै कोठाको माग पनि गरेको थियो। ‘थुप्रै अनुनयपछि अस्पताल प्रशासनले एकै ठाउँमा बस्नका लागि छुट्टै कोठा उपलब्ध गरायो,’ उनले भने।
यति बेलासम्म उनीहरूले बुवाको निधनको खबर आमालाई सुनाएका थिएनन्। त्यसैले आमा बेलाबेलामा बुवाको स्वास्थ्यको विषयमा सोधिरहन्थिन्।
‘आमाको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर हामीले केही भनेनौं। तर, राती मन छटपट भयो,’ लिखितेन्द्रले भने।
उनीहरू बसेको कोठा नजिकै एउटा ‘स्टोर रुम’ थियो। त्यहाँ तीनवटा लास राखिएको रहेछ। बिहान उठेर टहलिने क्रममा लिखितेन्द्रले त्यहाँ लास देखेछन्। नजिक पुगेर हेर्दा सेतो कपडा र प्लास्टिकमा बुवाको शरीर बेरेको देखें। ‘शवको नाम लेखिएको थियो, यज्ञमान। मैले मनै सम्हाल्न सकिन। भित्र गएर दियो र धुप बालिदिएँ। मुखमा पानी खुवाइदिएँ,’ उनले भने।
बुवाको मृत्त शरीर देखेपछि उनले आमालाई बुवा बितेको खबर सुनाउने निधो गरे। यतिबेला नातागोतालाई पनि सबै थाहा भइसकेको थियो। मिडियामा पनि खबर आइरहेको थियो।
‘बुवा बित्नुभएको खबरले आमालाई विक्षिप्त तुल्यायो। उहाँ श्रीमानको शरीर हेर्न आग्रह गरिरहनु भएको थियो। हामी हिम्मत देखाउन सकिरहेका थिएनौं,’ उनले भने, ‘आमाको हातको चुरा फुकालेर बुबाको छातिमा राखिदियौं।’
केहीबेरमा नेपाली सेनाहरू शव लैजान भन्दै आए। बुवाको शव भएको ठाउँमा आमा पनि गइन्। बुवाको खुट्टा ढोगिन्। बुबाको शरीरलाई सेनाले पशुपति लैजाने जानकारी पाएपछि लिखितेन्द्र र उनका भाईले सेनासँग आफूहरू पनि दाहसंस्कारमा उपस्थिति हुने प्रस्ताव राखेका थिए। तर अस्पताल प्रशासन र सेनाले उनीहरुको कुरा मानेन।
‘हामी १० मिटर परै बस्छौँ। हामीलाई बुबाको अन्तिम विदाई गर्न दिनुस् न भन्दा नि दिएनन्। पशुपति पुगेका आफन्त पनि परैबाट हेरेर फर्किए रे,’ उनले भने।
यता अस्पतालमै किरिया बस्छु भन्दा नदिएको उनी सुनाउँछन्। ‘हिन्दु धर्मअनुसार १३ दिन किरियामा बस्नुपर्ने हुन्छ। तर, हामीले यहाँ बस्न पाएका छैनौं’, उनले भने।
उनले अहिले आफूलगायत भाई, छोरा र आमालाई कुनै लक्षण नदेखिएको बताए। ‘आमाको सुगर उच्च छ। यता भाईलाई टेन्सन भएर बल्ड पे्रसर उच्च भएको छ। यसबाहेक हामीलाई कुनै लक्षण छैन,’ उनले भने।
उनी कोरोना संक्रमणबाट ज्यान गुमाएकाहरूको अन्तिम संस्कारको हक सन्तानलाई दिनुपर्ने बताउँछन्। ‘पीपीई लगाएकानर्स र चिकित्सकले हामीलाई छुन हुने। तर, हामीले मुत्यु भइसकेकालाई किन छुन नहुने? हामीलाई शवसँगै टाँसिन देउ भनेको होइन। निश्चित दूरी कायम गरेर अन्तिम विदाई गर्न देउ त भनेको हो,’ उनी भन्छन्।
उनी पाटन अस्पतालमा चिकित्सकले विरामीलाई हेर्दैन भन्ने मिडियामा आएको समाचार झुट्टो भएको दावी गर्छन्। ‘यहाँका चिकित्सक भगवान हुन। एक–एक घण्टामा आएर स्वास्थ्य परीक्षण गर्नुहुन्छ,’ उनी चिकित्सक र अस्पताललाई बदनाम नगर्न आग्रह गर्छन।
अर्को एउटा विषयले उनलाई अहिले पोलिरहेको छ। पछुतो लागिरहेको छ, घरमा तातोपानी, बेसारपानी खाएर राख्नुभन्दा बुवालाई एकदुई दिन पहिले अस्पताल ल्याउन सकेको भए बचाउन सकिन्थ्यो कि भन्ने। यो पीडा पनि मनमा गहिरोसँग परेको छ।
उनी बेसार पानीकै भरमा घरैमा बसेर रोगलाई बढ्वा नदिन पनि आग्रह गर्छन। ‘घरमै उपचार गर्दा अन्य राेगलाई समेत असर गर्ने हुन्छ। काेराेना संक्रमितलाई बेलाबेलामा चेकजाँच गर्नुपर्ने हुन्छ। यसका लागि घरमै बेसार पानी सेवन गरिरहेपनि अस्पताल आउदा छुट्टै उपचार हुुन्छ। अक्सिजन दिइन्छ। हेरचाह गरिन्छ। त्यसैले घरेलु उपचारलाई होइन अस्पतालमै उपचार गर्न जाऔं,’ उनको स्पष्ट सन्देश छ।
कोरोना संक्रमण भएका व्यक्तिले प्रयोग गरेका सामानहरू अरूले प्रयोग गर्दा पनि कोरोना सर्ने उनी बताउछन्। ‘मानिसहरू घरमा बस्दा मास्क लगाउँदैनन्, सामाजिक दूरी कायम गर्दैनन् यसले पनि एक जनामा कोरोना लागे सबैमा सर्ने रहेछ,‘ उनी भन्छन्, ‘घरमा एउटै भाँडामा खाना खाने र एउटै चम्चाको पनि प्रयोग गर्ने गर्नाले पनि काेराेना सर्ने रहेछ।’
सबै तस्वीर: लिखितेन्द्र श्रेष्ठ
भिडियाे
कारोना कहरबीच जनसेवी बन्दा आफैँ सङ्क्रमित, दुई साता आइसोलेसन बस्दा स्वास्थ्यकर्मीका दुई कल फोन