अभिनेता सुशान्त सिंह राजपूतको निधनमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले रिया चक्रवर्तीविरूद्ध मुद्धा दायर गरेको छ।
सुशान्तको घरमा काम गर्ने श्यामुअल मिराण्डा र रियाबीच ड्रग्स खरिदका लागि भएको कुराकानी बाहिरिएपछि एनसीबीले मुद्धा दायर गरेको हो। मिराण्डा र रियाबीच वाट्सऐपमा भएको कुराकानी केही दिनअघि बाहिरिएको थियो। यी दुई लगायत ड्रग्समा संलग्न अन्य कर्मचारीलाई पनि ब्यूरोले सोधपुछका लागि बोलाउने छ।
वाट्सऐप च्याटमा सुशान्तको खाताबाट पैसा निकालेर ड्रग्सको कारोबार गरिरहेको पनि देखिएको थियो। केन्द्रीय जाँच एजेन्सी (सीबीआई) ले यी दुईबीच भएको च्याट उनीहरूको हो कि होइन भनेर सोधपुछ गरेको थियो।
दुबैले च्याट आफ्नो भएको स्विकार गरेपछि एनसीबीलाई मुद्धा दायर गर्न सहज भएको हो। अब एनसीबीले ड्रग्सको विषयमा पनि छानवीन गर्नेछ। उनीहरूसँग हुने छानवीनबाट बलिउडमा अन्य कलाकारहरू सँग जोडिने ड्रग्सको कारोबार बाहिरिने सम्भावना बढेको छ।
सुशान्त सिंह राजपूतको निधनको विषयमा बलिउडका स्टार कलाकार चुपचाप छन्। उनीहरूले सुशान्तको छानवीनलाई लिएर सोसल मिडियामा एउटा सन्देश पनि पोस्ट गरेका छैनन्।
बलिउड अभिनेत्री कंगना रनौट भने सुशान्तको परिवारलाई न्याय दिलाउन सुरुदेखि सक्रिय छिन्। उनले हालै दिएको एउटा अन्तर्वार्तामा बलिउडका ९९ प्रतिशत कलाकारले ड्रग्स प्रयोग गर्ने दावी गरेकी थिइन्।