नन आइडेन्टीफाइड नगरकोटी

२०७३ साउन ८ गते, म अध्यागमन भएको थिएँ, साइन्स पढ्न नेपाल प्रहरी आवसीय उच्च माध्यामिक विद्यालय सांगामा। ‘द स्कुल विथ मेस्मराइजिङ ब्यूटी एण्ड स्ट्रीक्ट रूल्स। वेलकम टु दि एड्भेन्चरस इयर्स अफ लाइफ इन एन'कप्स।’

घेरबार भित्र कलेज परिसर, कलेजदेखि केही पर दुई तले होस्टेल, होस्टेल भित्र प्रत्येक तलामा १६-१६ कोठा, प्रत्येक कोठामा दुई दुई तले बेड र एक छुट्टै बेड। सबै गरि पाँच बेड, पाँच इस्ट्डी टेबल, २ कुर्सी, ५ लकर। प्रत्येक ब्याचमा म्याक्सिमम् ८० पुरूष विद्यार्थी अनि २ होस्टेल वार्डेन जसलाई गुरू भनेर सम्बोधन गर्नुपर्ने।

बिहान सिठीको आवाजमा उठ्नु, सिठीको आवाजमा गोडाफाट, सतर्क गर्नु, सिठीको आवाजमा खाना खानु, सिठीको आवाजमा कलेज हिँड्नु, सिठीको आवजमा खेल्न ग्राउन्ड जानु फर्कनु र बेलुका सिठीको आवाजमा पढ्न बस्नु अनी राति पनि सिठीकै आवाजमा सुत्नु। ‘हियर्स द डिसिप्लिन अफ होस्टेल सिटार्ट्स एण्ड इण्ड विथ व्हीसल।’ 

कलेजमा साइन्स पढिन्थ्यो, कलेजमै साइन्स बुझिन्थ्यो, कलेजमै साइन्स सकिन्थ्यो। साइन्स थियो नै त्यस्तै अनि व्याख्या गरेकै त्यसरी थियो। हाम्रो परिवार र समाजमा साइन्स दिमागमा कम परीक्षामा धेरै देखिन्थ्यो। यसरी होस्टेल लाइफ र कलेज लाइफ सिठी र परीक्षा बीच कक्षा ११ सकिएको पत्तै भएन।

अनि सुरू भयो कक्षा १२:

कलेजको समयमा अरू कुनै पनि विषयमा इच्छा लागे पनि नलागे पनि आँखा खुल्लै गरि बस्नु पढ्ने जोड हुन्थ्यो। आफैंले आफैंलाई गरेको जोड, आखिर साइन्स पढिएको थियो यत्ति त गर्नै पर्‍यो। तर नेपाली विषयको समयमा त्यो जबर्जस्ती आफ्नो इच्छाशक्तिमा बदलिन्थ्यो, किनकि शिक्षक हुनुहुन्थ्यो हरिहर तिमिल्सिना। हजुर हरिहर तिमिल्सिना। ‘गोजिमा दाम छैन...’ जस्तो चर्चित गीतका रचनाकार, जो विद्यार्थीलाई कोर्स सकाउन होइन सिकाउन आउनुहुन्थ्यो। बस पढ्न सिकोस् विद्यार्थीले। अनि पढोस् हरेक कुरा। हरेक तवरले ज्ञान लगोस्। हरेक रचना मस्तिष्कमा बसोस्।

 साहित्य लेखनमा असाध्यै अभिरूचि राख्ने व्यक्ति हरिहर सर। त्यसैले त  सधै क्लास साहित्य विधाबाट सुरू हुन्थ्यो अनि अन्त्य पनि। हामी कमै समय किताबी सामाग्रीमा खर्चिन्थ्यौं जुन प्रयाप्त थियो वर्ष भरी गरि कोर्स सकाउनलाई।

नेपाली लेखन क्षेत्रको कुरा सधै उठ्थ्यो क्लासमा अनि सधै गुन्जिने नाममा थियो एक नाम 'द फिक्सन क्रिएटर कुमार नगरकोटी' तर मेरा लागि त्यो समयमा एउटै मात्र  प्रश्न हुन्थ्यो ‘हु कीयर्स?’ बस यत्ति थाहा थियो कि कुमार नगरकोटी पनि कुनै दिन नेपाल प्रहरी विद्यालयकै छात्र थिए। त्यो पनि एक कारण हुँदो हो हरिहर सरको मुख मस्तिष्क र मनमा सधैं कुमार नगरकोटी छाइरहने।

अँ साच्चै! मैले प्रहरी कलेजको अनुशासनको कुरा गर्दै गर्दा कक्षा ११ को प्रीबोर्ड पछि र अघिको अवधिमा  गरेको प्रहरी कलेजको नियम बाहिरको गल्ती यहाँ स्वीकार्न सकिनँ भने आत्मग्लानी रहला। सायद त्यो गल्ती गरेको खबर कलेज प्रशासनलाई थाहा हुँदो हो त म त्यति बेलै कलेजबाट रफुचक्कर लगाइ पाउँथे होला।

होस्टेल वार्डेन परशुराम  (गुरु) ले नबचाईदिएको भए कसरी कक्षा १२ त्यतै पढ्थे होला? कसरी नेपाली शिक्षक हरिहर सरसँग भेट हुन्थ्यो होला? र कुमार नगरकोटीको कोटिकोटि बयान सरको ओठबाट बर्सिएको थाहा पाउँथे होला? त्यो दिनको मेरो गल्तीलाई बचाइदिने होस्टेल वार्डेन परशुराम गुरूलाई धन्यवादसहित मनैदेखि सम्मान।

मेरा लागि त्यतिबेलासम्म अपरिचित थिए नगरकोटी। हरिहर सरको फेभरेट नगरकोटी, अनि मेरो चाहिँ हरिहर सर नै। ‘मिस्टिकादेखि दोचासम्म मोक्षान्त; काठमाडौं फिभर देखि घाट्माण्डुसम्म’ न त मैले देखेको थिएँ, न त पढेको नै। बस सुनेको थिएँ, त्यही पनि हरिहर सरको ध्वनीमा, नगरकोटी त मेरा लागि बस एक अपरिचित व्यक्ति  मात्रै थिए। त्यसैले ‘हु कीयर्स?’ किनकि त्यो दिनसम्म मैले नगरकोटीका किताबका 'क' पनि पढेको थिइनँ। मलाई साहित्यमा त्यति खेरसम्म कथा, कथाका पात्र र लेखक चिन्नुपर्छ भन्ने पनि थिएन।

२०७४ साल असोज आयो, अनि असोजसँगै दशैं आयो। यो वर्षको दशैं प्रहरी विद्यालयका विद्यार्थीका निम्ति अलि फरक हुँदै थियो। विद्यार्थी घर जाँदै गर्दा विद्यालयको  शैक्षिक सामग्री पढुन् नपढुन् तर केही अवश्य पढुन् भनि हरिहर सरकै अग्रसरतामा विद्यार्थीलाई स्कुल मेटेरियल बाहेकका किताब दिइने भयो। अनि हाम्रो ब्याचको हातमा पर्‍यो भैरव अर्यालको 'जय भुँडी' र नयनराज पाण्डेको 'सल्लीपिर'। 

मैले कक्षा ११ मा गरेको गल्ती चाहिँ के थियो भने होस्टेलमा गुरूको सिठीले सुत भनी रातिको १० बजे आवाज दिइसकेको थियो तर म र मेरो साथी (होस्टेल रूम पार्टनर)  सृजन के सी हाँसी मजाक गर्दा लकरसँग ठोकी सिधै ढोकामा लतारिन पुगेका थियौं। फलस्वरुप ढोकाको सिसा ग्वार्लम्मै  खस्यो र सिमेन्टेड फ्लोरमा चक्नाचुर भयो। सो गल्तीको अंश स्वरूप तपाई आज पनि कक्षा ११ को होस्टेल नम्बर १०९ मा नमिलेको आकारको सिसा देख्न सक्नुहुन्छ।

कलेजले दिएको सल्लीपिरको कथाले यति तान्यो कि मेरो मानस पटलमा नयनराज पाण्डेसँगै हरिहर सरको मुखको नाम कुमार नगरकोटीको याद आइनै रहन्थ्यो। तर पढ्ने बानी नभएकोले त्यति मीठो सल्लीपिर सकाउन पुरै दशै बिदा लाग्यो। 

बिदा सकियो। कलेज फर्किएँ। फिक्सनसँग लत बस्ने क्रममा थियो त्यति बेलै हरिहरसँग मिस्टर नगरकोटीका किताब मागी पढ्ने आँट आएन भनौं या समय जुरेन। कलेजले  परीक्षा सुरू गर्‍यो। त्यतै व्यस्त हुनुपर्‍यो। त्यसपछि यता परीक्षा सकियो। उता हाम्रो लागि हरिहर सरले तयार पारेर राखेको उपहारहरू, पर्सियन चलचित्रहरु 'द कलर अफ प्यारडाइजदेखि टेस्ट अफ चेरी' सम्म।

धेरै पछि कुमार नगरकोटीको घाटमाण्डु टेस्ट गर्ने अवसर जुर्‍यो। म दिवाना भए नगरकोटिको। त्यसै त हरिहर सर पनि कहाँ बयान गर्नु हुँदो हो। यसै नेपाली लेखन क्षेत्रमा नगरकोटी 'द कुमार नगरकोटी' भएका रैनछन्। उनी पनि नेपाल प्रहरी विद्यालयकै छात्र रहेछन्। त्यसैले हरिहर सरको मुख मस्तिष्क र मनमा सधै हुने गर्दा रहेछन्।

हाम्रो विन्टर भ्याकेसन आउन लगेको थियो, अनि भ्याकेसन भन्दा अगाडि कलेज टुर। डेस्टिनेसन थियो पोखरा हुँदै घान्द्रुकसम्मको। यात्रा यसै पनि रमाइलो हुनेवाला थियो। किनकि हामीसँग सहयात्री भएर सफर गर्दै हुनुहुन्थ्यो हरिहर सर। पोखराको लेकसाइड र हरिहर सरका कविता र गजल विथ काम्पफायर, ओहो! कति रमाइलो।

यात्रा सुरू भयो! साँगा, भक्तपुर, काठमाडौं हुँदै धादिङ मलेखुमा लन्चका लागि रोकियो। त्यसपछि ननस्टप पोखरा। पोखराको प्राकृतिक सौन्दर्यको त म के तारिफ गरुँ जुन मेरो मगजले नभ्याउला। बेगनास ताल घुमेपछि हामी होटेल फिर्ता भयौं।

साँझपख होटेलमा बस्दै गर्दा हरिहर सरलाई फोन आयो। खबर भयो पोखरामा बुक फेस्टिबल थियो आज सकियो भनेर। यो खबरसँगै के खबर जोडिएर आयो भने बुक फेस्टिबलमा आएका कुमार नगरकोटी भोलि बिहान नै काठमाडौं हुइँकिनेछन्। उक्त खबरपछि बेलुका खाना खएरै लेकसाइड गएर कुमार नगरकोटीसँग सक्षात्कार गर्ने निधो गरियो।

नगरकोगीको घाटमाण्डुले नै मलाई यति घत लगाइ सकेको थियो कि म भेटेरै ‘यु आर द बेस्ट’ भनेरै छाड्ने भनी तयार हुँदै थिएँ। घाटमाण्डुको फिक्सन तर्फ ‘आयुचोरदेखि जादुगर’ सम्म नन-फिक्सनमा ‘पाटनका चिया अड्डाहरु देखि शनिबार २०७२’ सम्म सबै मानसपटलमा ताजै थिए। कुमार नगरकोटी र घाट्माण्डुसँगै उनले त्यहाँ उल्लेख गरेका किताबका नामहरू अझै मेरो मस्तिष्कमै छन्।

तर अल्लारे केटाको हुल त्यो पनि पोखराको ठाउँमा, कसरी आफ्नै  सुरमा नघुमी मन मान्थ्यो र? नगरकोटी भेट्न जाने कुरालाई चुर्लुम्मै बिर्सी खाना खाने वित्तिकै सिधै निस्कियौं साइक्लिलिङ गर्न पोखराको लेकसाइड। लेकसाइड हुँदै हामी फर्स्ट टाइम कुनै क्लबमा गएका थियौं र पो त्यसरी आफू आइडेन्टिफाइड हुन चाहेको व्यक्तिलाई समेत बिर्सेर मग्न भै अबेर फर्क्यौं। उता पोखरा डुल्दा उमंग पाइयो तर यता फिक्सन क्रिएटर नगरकोटीसँगको भेट छुट्यो।

नगरकोटीसँगको आइडेन्टिफाइङ बेस्ट मुमेन्ट हुने थियो होला सायद। तर चाहँदा चाहँदै समयले जुराए पनि म र नगरकोटी नन-आइडेन्टिफाइड लेखक र पाठक भयौं। भोलिपल्ट नगरकोटी काठमाडौं तिर लागेछन् अनि म घान्द्रुक तिर।

प्रकाशित मिति: : 2020-08-24 11:13:00

प्रतिकृया दिनुहोस्