जिन्दगीको सुपरहिरो मेरो बुबा र उहाँकी जेठि भाउ म!!

सन्दर्भ: बाबुकाे मुख हेर्ने दिन

पहिलो सन्तानको रुपमा जन्म लिएर मैले धर्तीमा पाइला टेके।  मेरो एउटा भाई र बहिनी छन्। बुबा, आमा, भाई, बहिनी र म हामी ५ जनाको सानो परिवार छ। मैले माध्यमिक शिक्षा मेरै गृह जिल्ला हुम्लाबाट पुरा गरेर उच्च शिक्षाका लागि राजधानी काठमाडौं आए। आएको एक हप्तासम्म सपनाको सहर काठमाडौं हेर्न निकै उत्सुक थिये र खुशी थिए।

म काठमाडौंमा सानीआमा र सानोबुवाको घरमा बस्थे। दिन बित्दै गयो घर र आमाबुबाको काखबाट कतै टाढा लामो समय नबसेको मलाई घरको यादले दिनरात पिरोल्न थाल्यो। आमाबुबाको न्याश्रो लाग्न थाल्यो र घरपरिवार सम्झिएर निकै राेए पनि। सँगै हुँदा कुकुर बिरालो जस्तै झगडा गर्ने भाई अनि म टाढा हुदा एकअर्कालाई निकै सम्झिन्थियौं। 

जब म आमाबुबा र घर देखि टाढा बसे अनि मात्र मैल आमाबवाको माया र घरपरिवारको महत्त्व बुझे। सँगै जिन्दगी जिउने कला पनि सिके।

पिता शब्द आफैमा निकै बृहत छ। आमाको ममता नजिकैबाट नियाल्न पाइन्छ सधैभरि, बाहिरैबाट देखिने गरी। सायद आमालाई यस्तै गुण दिइएको होला। ‘खाना खायौ? बिरामी त छैनौ? राति राम्रो सपना देखिनँ, घर कहिले फर्किन्छौ? मलाई येस्तो मन पर्छ उस्तो मन पर्छ?’ यस्ता प्रश्न आमाकै भागमा धेरै पर्छन् जस्तो लाग्छ।

बुवाको माया, प्रेम, ममता र स्नेहचाहिँ अलि फरक किसिमको हुन्छ जस्तो लाग्छ। अलि सूक्ष्म, बाहिरबाट सहजै नदेखिने तर भित्री रूपमा अन्यन्त गहन र सुदृढ। 

बुबाको  जिम्मेवारीले पिल्सिएको काँध, मेहनतले खुइलिएको पैताला, कर्मले थकित हत्केला र आफ्नो सन्तानको लागि आफ्नै जीवनलाई तिलाञ्जली दिएको त्यागलाई अझ साकार बनाउन सकु जस्ताे लाग्छ।

बुवाको मुख हेर्ने दिनको शुभकामना। सम्पुर्ण बुवाहरु मा नमन!

बुवाको मुख हेर्ने दिन पर्वका कारण एकदिन मात्र हो। तर हामीलाई संसार देखाउने हाम्रा जन्मदाता र कर्महारता पुजनीय पिताहरुलाई सधै आँखाको नानीमा राखेमात्र जीवन सफल र धन्य हुनेछ। यो एकदिन मात्र होइन, बुवा आमाको सदैव सेवा र सम्मान गरौं।

आज बुवाको मुख हेर्ने (कुशे औशीको) दिन बुबाको निम्ति दुई शब्द कोर्न मन लाग्यो। हरेक बुबाको महिमा, त्याग र मायालाई बयान गर्ने कुनै पनि शब्द छ जस्तो मलाई लाग्दैन तरपनि येसो दुई शब्द कोर्दैछु। बरु सुरुवात कहाँबाट गर्ने भन्ने अलमल छ?

मेराे बुबालाई चिन्ने जत्ति सबैले मलाई ‘कस्तो आफ्नो बाउ जस्तै आकि यो त हेर हेर सब अँखा, नाक, मुख, हाइट अनि गोरि नी बाउ जस्तै छ’ भन्छन्। सिधै भैबिर(मेरो बुवा) को छोरी हो, होइन भनेर धेरैले सोध्नुभएको छ। अझ मेरो आमाले त येस्तो धेरै बानी नी बाउ जस्तै छ भन्नु हुन्छ। 

कत्तिले त बाउ जस्तो अनुहार भएकी छोरी मान्छे भाग्यमानी हुन्छन् नि भन्छन्। म आफै बुबा जस्तो आएर कस्तो रुपमा नराम्री भाको जस्तो लाग्छ अनि हिम्मत, साहास हेर्दा चाहिँ यो गुन पकै बुबाबाट सरेको जस्तो लाग्छ। याे त्यही शरीर हाे, जाे हजुरकै तेजबाट प्राप्त भएथ्याे।

म त्यही हुँ, जाे धेरै पटक बुबाकाे काँधमा चढेर जिन्दगीका मेलाहरू हेर्न पुगेथें। त्याे काँध, जहाँबाट म कहिल्यै खसिन। जहाँ मलाई कहिल्यै दुखेन। बुबाकाे काँधजस्ताे विश्वासिलाे ठाउँ आजसम्म कतै मैले कतै भेटेकाे छैन।

म हुर्केँ। प्वाँख लागे। गुँड छाेडेर उडेँ। स्नेह छाेडेर हिँडे। काख छाेडेर हिँडे, बस्! मन छाेड्न सकिनँ। मानाैँ, मेराे मन चङ्गा हाे। धागाे बुबाकै हातमा छ।

काेही, बच्चा डाेर्‍याएर हिँडिरहेछ, उसकाे र बच्चाको औँलाकाे गाँठाेमा क बुबालाई देख्छु। कुनै बुढाे मान्छे हिँडेको बाटाेमा बुबालाई देख्छु। काेहि अत्तर छर्केर बास्ना उडाउँदै हिँड्छ, त्याे बास्नामा बुबाकाे पसिना र आँसु भेट्दछु।

सानो बेला गाउँमा भाँडाकुटी खेल्दा मैले बनाएको घरमा बुबा हुनुहुन्थ्यो। दशैँमा टीका बनेर माथमा बुबालाई पाउँथे, कतै भीडभाडमा साथमा हुने बुबा नै हुनुहुन्थ्यो।

हरेक झरी र हावा बुबाकै याद लिएर आउँछ। ऊ बेला, बुबा र म ठुलो ओखरको रुख मुनि ओतिन्थियौं, वर्षाकाे पानी समेत बुबासँग डराउँथ्याे। अहिले म छु, छाता छ, तै पनि पानीले भिजाउन थालेकाे छ, सायद बुबाबाट टाढा भएर हाेला!

बुबाका गालाका एक एक चाउरीमा हाम्रा सुखका कथा छन्। उहाँकाे पुरानाे बोखुमा भेडाको उनबाट बनेको (हाम्रो पुरानो पोसाक) मेराे नयाँ स्कुले ड्रेस छ। खाना खाँदा बुबाले छाेडेकाे एक चाेइलो भातले आमालाई निकै प्रेम गर्थ्याे। बुबाकाे हातकाे घडीले मलाई ठूलाे बन्न उक्साइरह्याे। सानाे हुँदाकाे निर्दाेष साेच – ‘बुबा मु पन तुमि ठुली भयापछि तिम्मो जस्तै घडी लाइनिउ र तुमि जस्तै ठुलो मान्ठ बुनिकन सबकन निको गर्निउ’ भनेर भन्थे।

बुबाले, एउटै बोखुले ६ वर्ष किन काम चलाउनुभयाे? फाटेकाे जुत्ताले उहाँका पैताला किन बिझाएनन्? अहिले बुझ्दैछु। बल्ल बुझ्दैछु – उहाँ रमाइलोमा नजानुकाे कारण। बल्ल बुझ्दैछु – बुबाले चुराेट र रक्सी खानुकाे कारण। मकै छाेडाउँदा भुइँमा खसेका एक एक दाना हजुरले टिप्नुकाे कारण। एकाबिहानै उठेर काममा जानुको कारण।

मलाई फेरी सानाे हुन मन छ। बुबाकाे काखमा बसेर मजाले रून मन छ। काँधमा चढेर टाढा जन्ती जान मन छ। छेउमा बसेर बुबासँगै कुरा गर्न मन छ।

जति जति आफ्नाे उमेर बढ्दैछ, उति उति बुबाकाे माया बढ्दैछ। जब सहर छिरे अनि आमा बुबाको मायाको महत्त्व बुझ्दै गए।

बुबाले प्रेरणा दिनुभयो र आफ्नो आत्मविश्वास सधैँ उच्च बनाएर हिड्ने हौसला दिनुभयो। स्वाभिमान र घमण्डमा फरक हुन्छ। स्वाभिमानलाई घमण्ड देख्नेसँग नडराउनु भन्ने मार्गदर्शन दिनुभयो। 

मप्रति तपाईले गर्नुभएको त्यो असीम विश्वासले नै मलाई आफ्ना समस्यासँग जुध्ने साहस दिन्छ र बाटो बिराउनबाट रोक्छ। मलाई बुवाले मेरो जेठि भाउ हो भन्नू हुन्थ्यो। ‘जिन्दगीमा तैले जे गर्न मन छ त्यो गर, त्यो कामले, तेरो नामले हामीले हामीले आफ्नो शिर उच्च बनायर हिंड्न पाउ, तेरो बाउ हुँ भनेर चिनिन पाउ’ भन्नुहुन्छ। 

‘छोरि तिमी मेरो दाईनो पगिट्यो ( दाहिने पाखुरा) हो’ भनुहुन्थ्यो। अाजभाेली भाईले बुबालाई धेरै सम्झिन्छ। हामी हाम्रो बुवा पहिला यस्तो हुनुहुन्थ्यो, येस्तो गर्नुहुन्थ्यो भनेर कुरा गरिरहन्छौं। मैले बुबाले सोचे झैं केही गर्न सकेकी छैन। म चम्किन सकेकी छैन यसकाे मतलब म निभेकी पनि होइन।

देशमा कोरोनाको यस्तो महामारी छ, भाइ र म सुरक्षित छौँ जिस्ताे लाग्छ। किनकि बुबाको माया र आशीर्वाद छ। 

हुन त, मेरा बुबाले जीवनभर सुख पाउनुभएन। तर दुख भयाे भनेर पनि कहिल्यै सुनाउनुभएन। बरु म बुबाका एक एक प्रश्नमा रिसाएँ हाेला। मैले हजार प्रश्न गरेँ, तैपनि उहाँ रिसाउनुभएन।

फाेनमा मैले साेधेँ – बुबा ! हजुरलाई के पठाउँ ? भन्नुभाे – तँ आइजा, अरू केही मगाउनु भएन। हर दिन बुबा छानाे बनेर न्यानाे ओत दिनुभयाे। आफू निथ्रुक्क हुनुभाे, हामीलाई भिजाउ नुभएन।

सायद उहाँले पिटेकाे भए म अल्लि गतिलाे बन्थेँ कि! बुबालाई साेध्न मन छ, ‘किन कहिल्यै हात उठाउनुभएन?’

हाल म सपनाको शहरमा मस्तसँग निदाइरहेको बेला बुबा फुंगुरंग उडेको उदासी अनुहार लिएर गाउँमा हलो जोत्दै रंगिन सपनाहरु बुनिरहनु भएको हुन्छ। बुबाभन्दा ढिलो बिउझने घाम आजभोली मलाई निद्रामै आएर जिस्काउने गर्छ अनि म बिउझन्छु।

घाम भन्दा ढिलो बिउझीएर उहाँको रंगिन सपनालाई बिपनामै रंगिन बनाउन सकिएला? आँखा मिच्दै सोच्छु अनि भन्छु – होइन भोलिबाट घामभन्दा चाडै उठ्छु। यति सुन्दा नरिसाउनु हुन्छ हाेला साेच्छु। तर बुबा रिसाएको कहिले पाे छ र?

बुबा आफै मैनबत्ति बनेर जल्नुभयो र पग्लनुभयो अनि हामीलाई उज्यालोमा राख्नुभयो। अब हाम्रो पालो। दु:खले गर्दा लुकेर झर्ने उहाँको आँखाका आशु अनुहारका रेखाहरु नचाउरिदै बग्नेछन्, खुसीका आशु।

जिन्दगीमा दुई व्यक्तिको ख्याल राख्नु जरुरी छ। पहिलो बुबा, जसले हाम्राे जीतको लागि सबैकुरा हारेका छन्। दोस्रो आमा, जसले तिम्रो हरेक दुखमा पुकारा गरेकी छिन्।

प्रकाशित मिति: : 2020-08-19 13:28:33

प्रतिकृया दिनुहोस्