दुई हात जोरेर गर्छु प्रणाम!
तिमी स्वर्ण हौ रत्न हौ स्वच्छ नाम
तिमी छौ र पो हुन्छ गर्वानुभूति
शुभेच्छा छ हे ! राष्ट्र-शोभा विभूति। 

तिमी छौ र समृद्ध साहित्य-कोश
छ वाणी युवामा दिने पूर्ण जोस
सधैँ देशका प्रीतमा गीत गायौ
शुभेच्छा छ ! सौभाग्य गङ्गा बहायौ। 

सयै वर्ष तिम्रा थिए मूल्यवान 
अझै वर्ष धेरै बनून् राष्ट्र-शान
दियौ काव्य-पीयूषको मार्ग-मास
शुभेच्छा छ हे सूर्य! प्राची-प्रकाश। 

तिमी राष्ट्रका हौ कवि प्राणतुल्य
उज्याला तिमी छौ छवि प्राततुल्य
र शैली छ तिम्रो मिठो नम्र नौनी
शुभेच्छा छ हे ! देश थाक्दा बिसौनी। 

बनोस् पाँच-बीसे जयन्ती उज्यालो
बलोस् ज्ञानको आत्म-दर्शी  दियालो
महाकाव्य तिम्रो छिटै पढ्न पाऊँ
शुभेच्छा छ ! यो चाड बर्सौँ मनाऊँ।

राष्ट्रकविको १०१ वर्षको जन्मोत्सवमा लेखेको कविता हो ।

यो पनि

रहेनन् राष्ट्रकवि माधवप्रसाद घिमिरे

प्रकाशित मिति: : 2020-08-18 23:15:27

प्रतिकृया दिनुहोस्