‘देवीको मन्दिरमा चढ्यो,दलितको फूलचामल’ २० साउनमा राजधानी दैनिकमा प्रकाशित समाचारको शीर्षक हो यो। कालिकोट बाइलाइनमा विश्वनाथ सिम्खाडाले यो समाचार लेखेका छन्। समाचारमा उल्लेख गरिए अनुसार चुलिमालिका माईको मन्दिरमा दलित अधिकारकर्मी गएर फूलमाला चढाएर दर्शन गरेका हुन्। त्यो भन्दा अघि दलित समुदायका मानिसलाई त्यहाँ प्रवेश निषेध थियो। जातीय अहंकार र अन्धविश्वासका कारण दलितलाई उक्त मन्दिरमा जान दिइएको थिएन। कथित जातीय विभेदको अन्त्यको लागि भन्दै वडा अध्यक्षको सक्रियतामा पहिलो पटक दलितहरुले फूलचामल चढाउन पाए।
दलित अधिकारकर्मीको एक जमात मन्दिरमा गएर बडो गर्व गरेर फर्किए। जिल्ला सदरमुकाम समेत रहेको खाडाचक्र नगरपालिका–४ धर्मसिंह कामीले ‘अहिले सम्म देविदेवताको मन्दिरमा पूजा गर्न पाएका थिएनौं। अब दलितले समेत पूजा गर्न पाउने भएका छन्,’ भन्ने उल्लेख गरिएको छ ।
उक्त कदमलाई कालिकोटमा विकास भएको सामाजिक रुपान्त्रणको रुपमा व्याख्या गरिएको छ।
२६ साउनमा कालिकोट मै शुभकालिका गाउँपालिका– ४ मुग्राहाका २५ वर्षीय दलित यूवा पंखबहादुर विक कुटिए।
मुच्छेवाडीस्थित धवलपुरा देवीको मन्दिरमा प्रवेश गर्न खोज्दा उनीमाथि सांघातिक आक्रमण भयो। उनलाई स्थानीय अर्जुन शाही, कमल शाही र युवराज शाहीले निर्घात कुटपिट गरेका हुन्। पंख कुटिनुको मुख्य कारण हो, उनी कथित दलित हुनु।
समाचारहरुमा बताइएअनुसार पंख मन्दिरमा मेला हेर्न जाँदै थिए। बिचमै एक हुल युवाले रोके। ‘दलित भएर पनि चस्मा किन लगाएको, राजठाँटले हिँड्ने, राम्रा लूगा लगाउने, मन्दिरमा जान पाइँदैन, नत्र नवराजहरुको जस्तो हत्या गर्न नपरोस्,’ भन्दै कुटपिट गर्छन्। निर्मम कुटपिट पछि पंख खोलामा फालिन्छन्। उनको दायाँ हात भाँचिएको छ। जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
दलित भएकै कारण प्रवेशमा रोक लगाउँदै कुटपिट हुनुले फेरि एकपटक नेपाली समाजको नांगो चित्र सतहमा आएको छ। यी दुई घटनाले एकातिर एक वर्ग सदियाैंदेखिको उत्पीडन, विभेदबाट मुक्ति चाहिरहेको र अर्को समाज कथित जातीय, कुरिति र अन्धविश्वासले ग्रसित भएर अझै पनि थिचोमिचो गरिहरन्छ भन्ने कुरा देखाएको छ।
जुन मनुवादी सोचले ग्रस्त पशुवत व्यवहार हो। १० जेष्ठमा रुकुम पश्चिममा भएको जातीय नरसंहारको घाउ सुक्न नपाउँदै नेपालका ६० लाख दलितको मनमा फेरि नुन चुक छर्किने काम भएको छ। यो घोर अन्याय हाे।
अहिले कोरोना भाइरसका कारण विश्व ग्रस्त छ। हाम्रो समाजमा जातीय भाइरसले सदियौंदेखि जरो गाडेर बसेको छ। यहाँ हरेक दिन यो या त्यो बाहनामा दलित माथि अन्याय र अत्याचार भइरहेको छ। धारामा पानी छोएको निउमा कुटिने, अन्तरजातीय प्रेम गरेकै कारण मारिनु पर्ने, आफैंले निर्माण गरेको मन्दिर प्रवेश गर्न खोज्दा खोलामा फ्याकिनुपर्ने।
हामी कस्तो समाजमा बाँचिरहेका छौ? देशमा कम्युनिष्ट छ शासन भनिन्छ। के यही हो त कम्युनिष्टहरुको असली चरित्र। २१ औं शताब्दीमा पनि जातको आधारमा भेदभाव? के यो शाही शासन हो? यो कस्तो ठकुरीको हुकुमी पारा?
धार्मिक आस्था अनुसार मन्दिरमा जाँदा पनि ‘मन्दिरमा पूजा जान दिइसिओस न राजा’ भन्नुपर्ने। स्वतन्त्र रुपमा बाँच्न पाउने र आफूले चाहेको धर्म मान्न पाउने अधिकारलाई ठाडो चूनौति दिने। कसले दिइरहेको त उनीहरुलाई दिउँसै मान्छे काट्ने अधिकार? यो एक गम्भीर संवैधानिक प्रश्न हो। अब सँधै बाहुन र ठकुरीको हुकुमी शासन।
संविधानको खोस्टोमा होइन, व्यवहारमा समातना चाँहेको छ, नेपालको दलित आन्दोलनले। नेपालका बहुसंख्यक मुक्तिकामी दलितहरुले। हरेक हिसाबले पछि परेको कर्णालीले। हरेक कुराको आफ्नै सीमा हुन्छ। यहाँ हरेक दिने हुने छुवाछुत, विभेद र जातीय अहंकारले सीमा नाघि सक्यो। यस्तो जघन्य अपराधमा राज्य पक्षको मौनता अझ गम्भीर रहस्यको विषय छ। जुन रुकुम नरसंहारमा पनि देखियो।
अब मृत्युसँग पैसाको मूल्य तोक्ने शासन व्यवस्थाको अन्त्यको लागि युवाहरुको अग्रसरता आवश्यक भएको छ। राज्यको चरम अव्यवहारिक यो चलनलाई सदाको लागि बाइबाइ गर्नुको विकल्प छैन। अझै कहिलेसम्म सयौ पंखहरु कतिञ्जेल कुटिनुपर्ने हो? कति नवराजहरु मारिनुपर्ने हो? कति अंगिराहरु मर्नुपर्ने हो? दलित भएकै कारण कति नारीहरुको सिउँदो मुछिएको छ। बालक टुहुरा भएका छन्। बृद्ध बा आमा साहारविहीन हुनु परेको छ। राज्यले दलितलाई कहाँ नागरिकको हुनुको आभास दिलाएको छ?
नेपाली समाज अहिले पनि विभेदकारी छ। यो विभेदको मुल कारण हामीमा भएकाे अज्ञानता र अल्पज्ञान हो।
जातीय अंहकारले ग्रसित नरसंहार ज्यादै डरलाग्दो छ। अहिले फेरि जातीय विभेद भित्रको ज्यादै डरलाग्दो रुप देखा परेको छ। त्यसैले अहिलेको विभेदकारी शासन व्यवस्थाको अन्त्यको लागि लड्ने बेला भइसक्यो।
जातव्यवस्थाले सिमा नाघ्दै छ। यहाँ एक मानिसको रुप, पहिरन र जात माथि प्रहार गरिन्छ। सरकार के दलितले चस्मा लगाउन पनि ठकुरी हुनु पर्ने हो?