मानव मोह
कागजका फूलमा
मौरी खितिति।
टुटेका रेखा
थाल भरेर भोक
हकमा डाँका।
आँखा ठोक्किने
डाँडापारि के होला?
कलिलो चाह।
सुखले पोल्दा
गाउँको न्यानो दुःख
हृदयभरि।
पुष्ट पाखुरा
सहरगामी हुँदा
गाउँ लोहसे।
ताल होइन
जिन्दगी त खोला हो
अजस्र धार।
फक्रेको दिन
मेघविना बर्सात
प्रकृति भेद।
फागुको रात
दिलको बजारमा
दिल चोरियो।
पागल प्रेमी
प्रेम नामको आगो
सपना स्वाहा।
रात्रि रेलमा
उषा आउँदैछिन् रे
उज्यालो छर्न।
उज्यालो डढ्दा
एक लोटा अँध्यारो
पिऊँ पिऊँ झैँ।
उफ्!यो गुम्फन
एक मुठी आकाश
ओढूँ ओढूँ भो।