सञ्जय काफ्लेलाई कथा मनपर्छ, पढ्न अनि लेख्न पनि। त्यसैले आम मानिसको जीवनमा कथा र कथामा जीवन खोज्दै हिँड्छन् उनी। मानिसको सुख, दु:ख, संघर्ष र सफलताका कुराहरू सुन्ने र शब्दमा उन्ने हुटहुटीले उनलाई पुर्यायो लम्जुङको दोर्दी गाउँ।
दोर्दीकै स्थानीयसँग राम्रै दोस्ती जमेको थियो उनको। लम्जुङ, सुन्दर बजारस्थित इन्स्टिच्युट अफ एग्रिकल्चर एण्ड एनिमल साइन्समा तिनै साथीहरूले उनलाई आफ्नो जातीय/सामुदायिक पेशाबारे सुनाए। संस्कृति, परम्परा र आम्दानीसँग जोडिएको रोचक पेशा – हनी हन्टिङ।
नेशनल जिओग्राफी र अन्य विदेशी च्यानलमा‘एड्भेन्चर’का रुपमा देखाइएको ‘हनी हन्टिङ’आफू बसे नजिकै हुन्छ भन्ने थाहा पाउँदा दङ्ग परे। सञ्जय जाने भए - पहाड छेडेर बाटो बनाउनेहरू भेट्न। ती बाटोमा उनीहरूसँगै जोखिम मोलेर हिँड्न तयार भए। जंगली फूलहरूको रसमा रमाएका माहुरीको मह काड्न पहरामा झुण्डनेहरूको अनुभव र भोगाइलाई कैद गर्न - क्यामेरा र शब्दमा पनि।
उनी पुग्दा दोर्दीमा स्थानीयहरू जुट काटेर घुम बनाउँदै, लौरो तिखार्दै, चोया काट्ने,बाट्नेदेखि अरु तयारी गर्दै थिए। रासन पानीको जोहो पनि।
गाउँको माहोल नै बेग्लै थियो। मानिसहरू कुनै चाड मनाउने तयारी गर्दै छन् जस्तो लाग्ने। हर्ष र उर्जा देखिन्थ्यो उनीहरुमा।
त्यही समूहमा मिसिए सञ्जय पनि।
पहिलो दिन पहाड उक्लन निंगालो र बाबियोले भर्याङ बनाए। उनलाई अचम्म लाग्यो - त्यति पातलो निंगालोहरू अजङ्गका पहाड उक्लने भर्याङ अनि दुईवटा भीर जोड्ने पुल कसरी बन्ला? चुँडियो भने? त्यहाँबाट कोही लड्यो भने?
जवाफ दोस्रो दिन भेटे। जब उनी पनि ‘हन्टर’हरूको पछिपछि त्यही निङ्गालोको बाटो भएर हिँडे। मह काड्नेहरूभन्दा करिव दुई सय मिटर परको पहरामा उक्लिए, निङ्गालोकै खुड्किलो भएर। कथा लेख्न पात्र खोज्दै हिँडेका उनी आफै एउटा पात्र बनिरहेका थिए।