लकडाउनमा बालबालिका –४
‘के कुरा गर्ने हो र? म त जान्दिनँ। कपाल काट्ने मान्छेसँग के कुरा गर्नुहुन्छ। यहिँ त हो, ग्राहक आउँछन्, काट्यो। नआएको बेला यसै मोबाइल चलाएर बस्यो,’ (फिसिक्क हाँस्दै) कोहलपुर बसपार्क नजिकै आयात हेअर कटिङ सेन्टरमा पुग्दा सद्धाम अन्सारी (१८) ग्राहकको दाह्री जुंगा मिलाइरहेका थिए। बिहान ६ बजे नै आएर काम सकि वरी खाना खाएर पुनः १२ बजे आइपुुगेका थिए।
‘खाना खाएर आएपछि दुई जनाको काम सकियो। अहिले कोही आएका छैनन्। अलि पर दुई जना युवक कपालमा कलर गरेर बसिरहेका थिए। उहाँहरुको भर्खर सकियो,’ बेन्चमा बसिरहेका युवातिर संकेत गर्दै उनले भने।
त्यति नै बेला एक जना ग्राहक आए। फेरि उनको काम शुरु भयो। साँच्चिकै एक महिनायता सद्धामको व्यस्तता अलि बढि नै छ। उनलाई दैनिक भ्याइनभ्याइ हुन्छ।
बाँकेको नेपालगञ्जमा सामान्य परिवारमा जन्मिएका सद्धामलाई सानैदेखि यसैमा रुचि थियो। २ कक्षा पढ्दापढ्दै उनले पढाईलाई ब्रेक लगाए।
२ वर्षअघि बैशाख महिनातिरको कुरा हो, विद्यालयबाट दिउँसै भागेर एक सैलुनमा गए। साउजी गाउँकै चिनेजानकै दाइ थिए। उनले ती दाइलाई काम दिन आग्रह गरे। तर तिनले उनको पहिलो आग्रह ठाडै अस्वीकार गरिदिए। ‘मेरो उमेरै सानो थियो। पढ्ने मान्छे यस्तो काम गर्छन्, भन्दै हकारेर पठाए। निराश भएर घर फर्किएँ,’ उनले वगित सम्झिए।
तर सद्धाम जसरी पनि कपाल काट्ने काम सिक्न चाहन्थे। आफ्नो मन भित्रको गाँठो बुबालाई फुकाए एकदिन। उनको कुरा सुनेपछि उनका बाले आफूले चिनेको साथी कहाँ लिएर गए। जो लामो समय सैलुनमा काम गरेका थिए। अहिले इटाभट्टामा मजदुरी गर्छन्। छोरालाई हेअर कटिङ सिकाइदिन आग्रह गरे। ‘ढुंगा खोज्दा देउता भेटियो’ भने झै भयो उनको लागि।
उनले आफूले चाहेकै काम पाए। पहिलो पटकमै कमाल गरिदिए। जीवनमा पहिलो पटक कपाल काटेका ग्राहकले, ‘यति सानो फुच्चे, कति राम्रो काटेको भन्दै’ उनको कामको प्रंशसा गरे। त्यति मात्रै होइन हातमा १० रुपैयाँ टिप्स समेत दिए। त्यहिँ १० रुपैयाँले उनलाई सैलुनमा विशेष आकर्षित गर्यो। त्यसपछि उनको मन चंगा जस्तो भयो।
आमा बाबा आफ्नै काममा व्यस्त हुन्थ्ये। भाइबहिनी स्कूल जान्थे। उनी दैनिक जसो सैलुनमा जान थाले।
विस्तारै उनको चर्चा सुरु हुन थाल्यो। केही महिना मै कामको अफर आयो। राम्रा–राम्रा सैलुन व्यवसायीले पनि काम दिन्छु भन्न थाले। बिस्तारै उनी ‘फुच्चे नाई’ का रुपमा चिनिन थाले। पछि उनलाई ‘फुच्चे नाई’ भनेर समेत बोलाउन थालियो। यो उनको पहिचान नै बनेको छ।
घुम्रिएको कपाल, ठूला आँखा, गहुँगोरो वर्ण, हाफ भेष्ट र सामान्य पेन्ट र खुट्टामा चप्पल उनको प्राय नछुट्ने हुलिया हो। उनले हालसम्म आधा दर्जन बढी सैलुनमा काम गरिसकेका छन्।
कोरोनाको कहर शुरु हुनु भन्दा पहिला उनी नेपालगन्जको चलेको सैलुन पसलमा ‘नाइके/हेड’ थिए, १०–१२ जना कामदारको नेतृत्व गर्थे उनी।
तिनीहरु १८ वर्षे अन्सारीको अन्डरमा काम गर्थे। ‘हालसम्म मैले कामदारको रुपमा काम गरेको छैन। साउजीसँग तलबको लागि बार्गेनिङ गर्दिनँ। दिनभरको गरेको कामको आधारमा पैसा लिन्छु,’ बिएल नेपाली सेवासँग उनले भने।
प्रतिशतको आधारमा रकम लिने गरेको उनले बताए। उनले दिनभर १० जनाको कपाल काटे भने ६ जनाको कपाल काटे बराबरको रकम आफू लिन्छन्।
यसरी दिनमा कम्तिमा ५ सयदेखि हजार रुपैयाँसम्म कमाई हुने गरेको उनले जानकारी दिए।
काम निरन्तर चलिरहेको थियो। कोरोनाका कारण लकडाउन भएपछि भने उनी काम विहीन भए। गत असार १ गतेदेखि भने कोहलपुरमा काम पुनः सुचारु भएको छ। यतै बसेर पुनः काम शुरु गरेको उनले बताए।
उनी विगत दुई वर्षयता पूर्णकालीन नाईका रुपमा काम गर्छन्। हजाम उनको पुख्र्यौली पेसा हो। आफूलाई एक नाई भन्दा पनि सिकारु भन्न रुचाउने अन्सारी भन्छन्, ‘कपाल काट्नु मेरो पुख्र्यौली पेसा हो तर बाध्यता भने होइन बरु रहर हो।’
केही वर्षसम्म अर्काको काम गरेर पछि आफ्नै सैलुन खोल्ने अन्सारीको इच्छा छ।