बलिउड कलाकार सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा मुम्बई प्रहरीले चर्चित निर्देशक महेश भट्ट र करण जौहरसँग पनि बयान लिने भएको छ।
महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले यस कुराको पुष्टी गर्दै यी दुई निर्देशकसँग छिट्टै बयान लिने बताएका छन्।
यसका लागि सोमबार उनीहरूको म्यानेजरसँग सोधपुछ हुने देशमुखले बताए। सुशान्तको आत्महत्या प्रकरणमा बलिउडका ठूला कलाकारदेखि राजनीतिज्ञ तथा सोशल मिडियामा अभियान सुरु भएपछि महाराष्ट्र सरकार सक्रिय भएको छ।
‘उनीहरूको म्यानेजरलाई बोलाइएको छ। आवश्यकता पर्यो भने दुबैलाई झिकाइने छ,’ देशमुखले भने। सुशान्तले १५ जुनमा मुम्बईस्थित आफ्नो घरमा आत्महत्या गरेका थिए।
उनी बलिउडमा रहेको नातावाद र कृपावादको शिकार भएका भन्दै विभिन्न कलाकारले सीबीआई छानवीनको आवाज उठाउँदै आइरहेका छन्।
अभिनेत्री कंगना रनौटले सुशान्तको आत्महत्या प्रकरणमा महेश भट्ट र करन जौहरको भूमिका प्रति प्रश्न उठाएकी थिइन। यो मुद्धामा ३६ जनासँग मुम्बई प्रहरीले बयान लिइसकेको छ।