२००७ सालको क्रान्तिमा भारतको भूमिका, त्यसमा पनि विशेषत: नेपालका लागि भारतीय राजदूत चन्द्रेश्वरप्रसाद सिंहको भूमिकालाई लिएर नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (विपी) कोइराला खुशी थिएनन्। उनले धेरै ठाउँमा असन्तोष पोखेका पनि छन्।
आन्दोलनको सम्पूर्ण कमाण्ड नेपाली काग्रेंसले गरेको थियो। तर राजा, राणा र काग्रेंसबीच सम्झौता हुँदा एक प्रकारले काग्रेंसलाई ‘आइसोलेसनमा’ राख्ने काम भयो।
काशी हिन्दु विश्वविद्यालयका पूर्व राजनीतिक प्राध्यापक डा. दीपक मल्लिक भन्छन्– ‘विपीको भनाई साँचो हो। चन्द्रेश्वरलाई अग्रेंजहरूले नै ‘सर’ को उपाधि दिएका थिए।’
भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु र विपीबीच केही कुरामा असमानता थियो। त्यतिबेला संसारभरी ‘सौन्दर्यवाद’ चलिरहेको थियो। नेहरु ‘सौन्दर्यवाद’ पछ्याउँथे। तर, बिपी धेरै अर्थमा यथार्थवादी।
चीनले तिब्बत कब्जा गर्नुअघि विपीले धेरैपल्ट नेहरूलाई भनेका थिए। तर, नेहरूले चीनको आन्तरिक समस्या देखाउँथे, असम्भव भन्थे। नभन्दै चीनले १९५० मा तिब्बतलाई गाभ्यो।
जतिबेला भारतमा ‘अग्रेंज हटाउ’ आन्दोलन सुरु भयो, त्यतिबेला विपी भारतका दिग्गज समाजवादी नेताहरू आचार्य नरेन्द्रदेव, जयप्रकाश नारायण (जेपी), डा. राममनोहर लोहिया र कृपालिनीसँग बहसमा भिड्थे। त्यसैले उनको बौद्धिकतासँग नेहरु सुरुदेखि नै परिचित थिए।
२००७ सालमा नेहरु नेपाली काग्रेंसका नेताहरूलाई पाकिस्तानको उदाहरण दिँदै मनाउन सफल भएका थिए। उनले भनेका थिए, ‘हाम्रो त देश नै टुक्रियो। राणाहरु समाप्त भएपछि तपाईहरूकै पालो त हो नि।’ वास्तवमा नेहरु १९५० मा राणाहरूसँग भएको भारत–नेपाल सम्झौताको बैधानिकतालाई कायम राख्न चाहन्थे।
भारत स्वतन्त्र हुँदा ब्रिटिश सरकारले सबै देशलाई उनीहरूको भूभाग फिर्ता गरेका थिए। तर, नेपालको सम्बन्धमा टिस्टादेखि सिक्किमसम्मको भूभाग १९५० को सन्धीका कारण सम्भव भएन।
२००७ सालको क्रान्ति सफल भएपछि मोहन शमशेर राणा नै प्रधानमन्त्री नियुक्त भए।गृहमन्त्री विपी कोइराला थिए। केही महिनापछि काठमाडौंमा विद्यार्थी आन्दोलन सुरु भयो।र, चिनियाकाजी मारिए। यही मौकाको सदुपयोग गर्दै विपीले गृहमन्त्रीबाट राजीनामा दिए।
यसको कारण थियो- २००७ सालमा राणा र नेपाली काग्रेंसको संयूक्त सरकार बन्दा दुई पक्षमध्ये एक सरकारबाट बाहिरिएको खण्डमा स्वतः निर्वाचनमा जाने सहमति। यही सहमतिको आधारमा निर्वाचन हुने अनुमान लगाएका विपी सरकारबाट बाहिरिए। तर, भयो उल्टो।
त्यतिबेला निर्वाचन भएको भए, विपीलाई प्रधानमन्त्री हुनबाट कसैले रोक्न सक्ने थिएन। भारतीय प्रधानमन्त्री नेहरु कुनै पनि हालतमा विपीलाई प्रधानमन्त्री हुनबाट रोक्न चाहन्थे।त्यसैले उनले निर्वाचन हुन नदिन अर्को पासा फ्याँके। पार्टी अध्यक्षको हैसियतले दाजु मातृकाप्रसाद कोइरालालाई मनोनित प्रधानमन्त्री बनाउने।यतिबेला राजा त्रिभुवनको सल्लाहकार तिनै चन्द्रेश्वरप्रसाद थिए। उनी राजाको बैठकमा खुलेआम बस्थे।
विपीलाई प्रधानमन्त्री नबनाउन नेहरुले राजा त्रिभुवनलाई लेखेको पत्र मातृकाले पछि आफ्नो पुस्तकमै सार्वजनिक गरेका छन्। जेहोस, नेहरुले त्यतिबेला विपीलाई प्रधानमन्त्रीबाट रोक्न उनकै दाजुलाई प्रयोग गर्ने नीति बनाए।
७ वटा भाषामा पोख्त, फेरि पार्टीको अध्यक्ष र भारतका पहिलो राष्ट्रपति राजेन्द्र प्रसादसँग ‘ब्रिटिस हटाऊ’ आन्दोलनमा पटना जेलमा सँगै बसेका कारण मातृकामा पनि अहंम् थियो। व्यक्तिगत रुपमा त्यो जायज पनि हो। नभन्दै यी दाजु–भाइबीच यति ठूलो झगडा भयो।
मातृकाबाबु प्रधानमन्त्री हुँदा टुँडिखेलमा भएको एउटा विरोधसभामा आफ्नै बुहारी (विपीको श्रीमती) को कपाल लुछेर लछारपछार गर्दै प्रहरीले बाहिर निकालेको दृश्यसमेत सार्वजनिक भयो।यो घटनाले नेपाली राजनीतिमा मात्र होइन, भारतमा समेत चर्चा पायो।
यसपछि विपीसँग निकै नजिक रहेका भारतीय समाजवादी नेता जेपीलाई भारतका पहिलो राष्ट्रपति राजेन्द्र प्रसादले ८ अगस्ट १९५२ मा चिट्ठी नै लेखेर भन्नु पर्यो– ‘नेपालबाट जुन खबर सुनिरहेको छु।त्यो हेर्दा ठीक लागिरहेको छैन। दुई भाइको झगडाले त्यहाँ (नेपाल) को स्थिति खराब हुँदै गइरहेको छ।लाग्दैछ, स्थिति दुवैभन्दा बाहिर जाँदैछ। हेर्दै जाऊ, के हुन्छ।’
नभन्दै विपीलाई प्रधानमन्त्री बन्न नदिन विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको दावी गर्ने भारतको सहयोगमा दरबारले करिब ७ वर्ष निर्वाचन गरेन। यसअवधिमा मातृका, टंकप्रसाद आचार्य, डा. केआई सिंहको प्रयोग भयो। राजा त्रिभुवन र महेन्द्रले पनि केही समय आफैले कार्यकारी अधिकार राखे।
२०१५ सालमा निर्वाचन हुँदा राजा महेन्द्र नेपाली काग्रेंसले चुनाव जित्ने कुरामा निश्चिन्त थिएनन।तर, काग्रेंसले दुई-तिहाई ल्यायो। यतिबेला पनि विपीलाई प्रधानमन्त्री बन्न नदिन तीन महिना विभिन्न बहाना बनाइयो। तर, अन्त्यमा केही नलागेपछि महेन्द्र बाध्य भए।
तर, विपी प्रधानमन्त्री भएको १६ महिनापछि भारत, विशेषत: नेहरुकै सहयोगमा नेपालको प्रजातान्त्रिक व्यवस्था नै ‘कू’ गर्न महेन्द्र सफल भए।