वायुसेवा कम्पनीलाई सरकारले दियाे राहत, पार्किङ शुल्कमा ७५ प्रतिशत छुट

लकडाउनका कारण उडान बन्द भएका वायुसेवा कम्पनीहरुलाई सरकारले राहत दिएको छ। 

सोमबार बसेकाे मन्त्रिपरिषद् बैठकले व्यवसायिक तथा मनोरञ्जनात्मक उडान भर्ने वायुसेवा कम्पनीहरुलाई त्यस्तो विमानको पार्किङ शुल्कमा ७५ प्रतिशत छुट दिने निर्णय गरेको हो। यो छुट चैत १ गतेदेखि लकडाउन खुलेको १ महिनासम्मको लागि लागु हुने बिहीबारकाे पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए। 

त्यस्तै, आन्तरिक एवं अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र कम्पनीले भाडामा लिएर विभिन्न प्रकारका सेवा दिइरहेका पसलहरुको भाडा चैत १ गतेदेखि लकडाउन खुलेको मितिले १ महिनासम्म कोठा वा कवलको बहालमा र बहालकरमा ७५ प्रतिशका दरले छुट दिने निर्णय समेत गरिएको छ। 

साथै, सो अवधिसम्म त्यस्ता कम्पनीलाई जारी हुने बिलमा विलम्व शुल्क नलिने समेत जनाइएको छ। 

वायुसेवा कम्पनीहरुले नियमित रुपमा बुझाउनुपर्ने शुल्कहरु भुक्तानी अवधि समेत बढाइएको छ। 

जसअनुसार त्यस्तो शुल्क २०२० को डिसम्बर ३१ सम्म भुक्तानी गर्ने समयावधि दिइएको छ।  त्यस्तै, वायुसेवाको सञ्चालन अनुमतिपत्र दस्तुर र उडान योग्यता प्रमाणपत्र दस्तुरमा ५० प्रतिशत छुट दिने समेत निर्णय भएको छ।

प्रकाशित मिति: : 2020-07-16 17:27:24

प्रतिकृया दिनुहोस्