दुई र दुई जोड्दा चार हुन्छ। यो गणित हो र तथ्यका रूपमा स्थापित छ । सामान्य मानिस यसमा सहमत छन्। त्यसैले हैन भनेर बहस गर्दैनन्।हो, अझै पनि केही असामान्य मानिसले यो योगफल ननिकाल्न सक्छन्, त्यो बेग्लै कुरा हो।
पृथ्वी गोलो छ। यो विज्ञान हो। र, विज्ञान पनि गणित जतिकै तथ्यमा आधारित हुन्छ। तर, यो संसारमा अझै पनि पृथ्वी चेप्टो छ भन्ने मानिस पनि छन्। ती मानिस कुनै न कुनै धर्मबाट निदेर्शित छन्। उनीहरू विज्ञान मान्दैनन्, त्यसैले धर्मको कोणबाट विज्ञान पनि अझै आंशिक बहसमा छ।
बाँकि सबै विषयका तथ्य यथार्थ हुन् भने धारणा आआफ्ना सत्य मात्र हुन् । सत्य विभाजित छ, त्यसैले सत्य भनिएका धेरै कुरा पनि अझै तथ्यमा परिणत भैसकेका छैनन्। वहसमै छन्।
इतिहास आधिकारिक तिथिमितिसहितको दस्तावेज हो। यदि यो साँच्चै नै तथ्यमा आधारित छ भने त्यसको कोेणमा मात्र प्रश्न उठाउन सकिन्छ। यदाकदा इतिहास बलियाहरूको घोडा हुने गर्छ। त्यतिबेला इतिहासको नाममा समय र समाज कम, गाथा बढी मात्रामा हुन्छ।नेपालको इतिहास दोस्रो खाले छ, यसले समय र समाज कम 'बलिया'हरूको गाथा बढी गाएको छ। गाथामा भने बस्तुनिष्ठताको कमी हुन सक्छ र प्रश्न उठाउन सकिन्छ।
धर्मग्रन्थ धर्मको नाममा लेखिएका मिथक हुन्। यस्ता ग्रन्थलाई कुनै धर्मका प्रवर्तक या अगुवालाई नायक बनाएर लेखिएका फिक्सन भने पनि हुन्छ।यिनीहरूमा उडन्तस्तरी कुरा बढी हुन्छन्। तर, तिनीहरूलाई तथ्यले हैन, आस्थाको बर्को ओढाएर धर्म र पापको तराजुमा जोखेर जबर्जस्ती स्थापित गराइन्छ। हुँदाहुँदा स्थिति यस्तो सिर्जना गरिन्छ कि त्यहाँ प्रश्न सोध्ने अधिकार नै हुदैन। कसैले सोध्यो भने ऊ वागी मात्र हैन, पापी पनि हुन्छ।
हिन्दू धर्मका देवीदेवताका नाममा अनेकौ किताब लेखिएका छन्। धर्मसँग सम्बन्धित भएकाले ती किताबलाई ओजिलो बनाउन धर्मग्रन्थ भन्ने गरिएको छ। रामायण, महाभारत, देवीभागवत, कृष्णचरित्र सबै धर्मग्रन्थ हुन्। यी इतिहास नभएकाले यिनीहरूले स्थापित गरेका सत्यका बारेमा एक हैन, अनेक प्रश्न सोध्न सकिन्छ।
यी धर्मग्रन्थमा कल्पना गरिएका पात्र, राज्य, देश इटोपिया मात्र हुन्। आज उनीहरूकै नाममा जे जस्ता पात्र, स्थान सिर्जना गरिएका छन्, ती पात्रलाई भगवानका रूपमा स्थापित गराउन समयक्रममा रचिएका प्रपञ्च मात्र हुन्। होमोसेपियन्सपछिको विज्ञानले मानेको मानव सभ्यतामा स्थापित राज्य र राजा ती प्रपञ्चमा सहभागी भएकाले तिनीहरूले एक किसिमको सामाजिक मान्यता पाएका हुन्।
रामायणमा सिर्जना गरिएका पात्र र स्थान आजको भारत र नेपालमा हैन, त्यतिबेलाको आर्यवर्तमा स्थापना गरिएका हुन्। आज तिनीहरू कुनै नेपालमा होलान्, कुनै भारतमा । अब जहाँ र जसरी स्थापित भैसके, भैसके। ती सबै हिन्दू धर्ममा आधारित भएकाले सनातनी नै भैसके। अब न भारतले भनेर जनकपुरधाम भारतमा हुन्छ, न नेपालले भनेर अयोध्या नेपालमा। न मोेदीले सीता भारतकी छोरी भनेर कसैले पत्याउँछ, न ओलीले राम नेपालका भनेर पत्याउँने कुरो हुन्छ।
रामायण रामको गाथा हो, कालान्तरमा यो हिन्दू धर्मग्रन्थ भयो। राम थिए कि थिएनन् ?, यो नै प्रमाणित छैन। धर्मले निर्देशित मानिस राम थिए भन्छन्, विज्ञानले निर्देशित मानिस रामलाई रामायणका लेखकले सिर्जना गरेका काल्पनिक पात्र मात्र ठान्छन्। यो बहस आस्था र विश्वाससँग जोडिएकाले यसको छिनोफानो लगभग असम्भव छ। किनकि, यो धर्मको क्षेत्रमा छ। यसको छिनोफानो विज्ञानले गर्ने हो, जहाँ अझैपनि यो निषेधित छ।
रामायणमा सिर्जना गरिएका पात्र र स्थान आजको भारत र नेपालमा हैन, त्यतिबेलाको आर्यवर्तमा स्थापना गरिएका हुन्। आज तिनीहरू कुनै नेपालमा होलान्, कुनै भारतमा । अब जहाँ र जसरी स्थापित भैसके, भैसके। ती सबै हिन्दू धर्ममा आधारित भएकाले सनातनी नै भैसके। अब न भारतले भनेर जनकपुरधाम भारतमा हुन्छ, न नेपालले भनेर अयोध्या नेपालमा। न मोेदीले सीता भारतकी छोरी भनेर कसैले पत्याउँछ, न ओलीले राम नेपालका भनेर कसैले पत्याउँछ।
अहिलको अवस्थामा यस्तो कुरा गर्नु जग हसाउनु त हो नै, एक किसिमको धार्मिक कलह निम्त्याउनु पनि हो। मिथकलाई मिथकमै छोडी दिनुपर्छ, त्यसलाई इतिहास बनाउने धृष्टता गर्नुहुदैन।
मिथकलाई इतिहास बनाउन खोजेर त्यसलाई सच्याउने कुरा आफैंमा अवैज्ञानिक कुरा हो। त्यसमा पनि धर्मलाई अफिम ठान्ने कम्युनिष्टहरूले त यस्तो कुरा गर्ने नै हैन।धर्मको सन्दर्भमा सच्चा कम्युनिष्टहरू कहिलै आधिकारिक हुन सक्दैनन् ।
खड्गप्रसाद शर्मा ओली केपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नै हुन्। अध्यक्ष नै भैसकेका उनलाई कम्युनिष्ट हैनन् भनेर कसरी भन्ने ? तर, मिथक र इतिहासको बिचमा रहेको फरक पनि खुट्याउन नसक्ने उनको क्षमताले उनी कम्युनिष्ट हुन् कि हैनन् भन्ने प्रश्न पेचिलो बनेको छ।
यो प्रश्न पनि समयक्रममा निरूपण होला। तर, उनी नेपालका प्रधानमन्त्री पनि भएकाले यो बेमौसमी बाजा बजाएर नेपाल-भारत सम्बन्धलाई जुन दिशातिर लगिरहेका छन्- यो सामान्य अवस्थाको मानिसले गर्ने काम नै हैन। दुर्भाग्य नेपाल र नेपालीको, यो असामान्य कामलाई विशेष काम ठानेर ओलीको भक्तिगान गाउँने काम पनि भैरहेकै छ। यो एक किसिमको विवेकहिनता हो। ओलीले विज्ञान मान्ने मार्क्सवादी पार्टीपंक्ति हैन, मिथकलाई इतिहास ठान्ने अनुयायी बनाएका रहेछन् भन्ने दृष्टान्त हो।
चुरो कुरो, इतिहास र मिथक एउटै हैनन् । रामायणको मिथकलाई नेपाल र भारतको इतिहास बनाउने गल्ती गरियो भने त्यसले सिर्जना गर्ने भनेको धर्मयुद्ध नै हो। भारतसँग जोरी खोजेर राष्ट्रवादी हुने लोभमा यस्तो धृष्टता नगरौं- बेलाको बोली यही नै हो।