बिर्खे टोपीमा ढल्किएर ओलीले भने 'राम' नेपाली: आगे के होला- रामजाने!

नेपालका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले बिर्खे टोपी लगाएर भने, 'हामी अहिले पनि ठानिरहेका छौं हामीले सीता भारतका राजकुमार रामलाई दियौं। भारतका होइन अयोध्याकालाई दिएका हौं हामीले। अयोध्या भनेको वीरगञ्जभन्दा अलि पश्चिमपट्टिको गाउँ हो।'

भानुजयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा उनी यतिमा मात्र अडेनन्। अझ अगाडि बढेर भने, 'अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, बाल्मिकी आश्रम यही (नेपालमा) र दशरथबाट सन्तान नभएपछि पुत्रीष्टी यज्ञ लगाउने पण्डितजी रिडीका । त्यसकारण सन्तान (राम) पनि भारतीय होइनन् ठाउँ (अयोध्या) पनि भारतीयको होइन।’ 

उनको भनाइ सुनिरहेकाले रमाइलो माने, हाँसे, ताली लगाए। एक किसिमले भन्ने हो भने जयजयकार नै गरे। 

तर, यो भनाइ कुन समयमा आयो? त्यसको हेक्का राख्नेहरूले भने जिब्रो टोके। नेपाल भारत सम्बन्ध यति संगीन अवस्थामा पुगेको बेला 'राम भारतीय हैनन्, नेपाली हुन्' भन्नु, त्यो पनि प्रधानमन्त्रीले-  यो एक सामान्य भनाइ हुनै सक्दैन। भारतमा रामजन्मभूमिका बारेमा भएको ठूलो विवाद केही समयअघि अदालतले साम्य पारेको हो। त्यसको तुष अझै बाँकी छ। यहीबेला नेपालका प्रधानमन्त्रीबाट यस्तो भनाइ आउँनु सामान्य दिमाखी हालतको उपज हुन सक्दैन।  

डा. गोविन्द केसीले एकपटक भनेका थिए, ' खड्गप्रसाद ओलीको दिमाखी हालत नै ठीक छैन।' त्यतिबेला  उनको यो भनाइ अलि अस्वभाविक जस्तो लाग्यो, अतिरञ्जनापूर्ण जस्तो लागेको थियो।

डा. केसीको यो भनाइ त्यतिबेला आएको थियो जतिबेला ओली पहिलोपटक प्रधानमन्त्री भएका थिए। स्वास्थ्यशिक्षा लगायतका विषयमा अनसन बसिरेहका उनले देशका प्रधानमन्त्रीको दिमाखी हालत ठीक छैन भनेका थिए। डा. केसी आफैं एक प्रवृद्ध व्यक्ति त्यो पनि चिकित्सक, उनैबाट यस्तो भनिनु चानचुने भनाइ थिएन। 

ओली समर्थकले त यसलाई महत्व दिने कुरै भएन, आलोचकहरूले पनि यसलाई त्यति तुल दिएनन्। त्यो कुरा त्यतिकै छायाँमा पर्यो। यद्यपि, यो एक संगीन आरोप थियो। 

तर, समयक्रममा यो आरोपमा केही सत्यता छ कि? भन्ने कोण पनि भेटिन थालेको छ। बोल्दाबोल्दै के बोेलिरहेको छु भन्ने हेक्का नै नराख्ने कतै उनको त्यही दिमाखी हालतको परिणाम त हैन ?, प्रश्न उठ्न थालेको छ। त्यसमा पनि वरिपरिकाले ताली लगाएर हौस्याउन थालेपछि त उनी संसार नै बिर्सन्छन्। उनी प्रधानमन्त्री हुन् कि विदुषक त्यो पनि बिर्सन्छन् र दिमाखमा भन्दा पनि मुखमा जे आयो त्यही भन्छन्।   

आजसम्म मानिआएको सत्य के हो भने राम अयोध्याका राजुकमार हुन् र अयोध्या भारतमा पर्छ। यो तथ्य हो कि हैन ? वास्तवमा राम नै थिए कि थिएनन् ? यो मिथक मात्र हो कि यथार्थ ? यस्ता धेरै प्रश्न छन्। 

तर, यी प्रश्न अब एक किसिमले असान्दर्भिक भैसकेका हुन्। अब यी प्रश्न उठाउने खालकै हैनन् जस्तो भैसकेको अवस्था पनि हो। तर, प्रधानमन्त्री ओलीले नेपाल-भारत सम्बन्ध यति पेचिलो भएको बेला जुन हचुवा तरिकाले उठाए, यसले भारत थप चिढिने मात्र हो। हिन्दूवादी भाजपा र उसका नेता मोदी प्रधानमन्त्री भएको बेला राम नै भारतीय हैनन्, नेपाल हुन् भन्दा भारतका लागि कसरी सैह्य हुन सक्छ र ? यसबाट हुने भनेको नेपाल -भारत सम्बन्ध बिगारेर भारत-पाकिस्तान सम्बन्ध जस्तो बनाउन खोज्नु मात्र हो। 

यसअघि नै प्रधानमन्त्री ओलीले भारतले आफूलाई हटाउन खोजेको र त्यसमा आफ्ना दलका शीर्ष नेता लागेको भनेपछि सत्तारूढ नेकपा विवादको भूमरीमा फसेको छ। उनको त्यो क्रियाको प्रतिक्रियाले नै बबण्डर मच्चिरहेको बेला फेरि उनले अर्को फायर खोलेका छन्। 

भगवान राम हाम्रा लागि आस्थाको विषय हुन् र मानिसहरूले त्योसँग खेल्न कसैलाई दिने छैनन्, चाहे त्यो नेपालका प्रधानमन्त्री होउन् वा अन्य कोही।"
- विजय शोनकर शास्त्री, प्रवक्ता, भारतीय जनता पार्टी 

यसरी ओली एकपछि अर्को गरेर भारतलाई चिढाएर नेपाल-भारत सम्बन्ध कहिलै नसुध्रिने गरेर बिगार्नतिर उद्दत देखिन्छन्। के ओलीले चाहेको यही हो ? कि उनी नचाहेर पनि दिमाखी हालतका कारण यस्ता कुरा गरिरहेका छन् ?  

जे भए पनि यी दुबैबाट नेपाललाई नोक्सान शिवाय केही छैन। प्रश्न ओलीको हैन, अब यो प्रश्न नेपाल र नेपालीको हो। ओलीको यो रोग बढ्दै गएर उनले जे पनि भन्दै जाने हो भने एकदिन नेपालले थेग्नै नसक्ने खालका समस्या भोग्नुपर्ने हुन्छ। 

हो, भारतले दादागिरी गरेको छ, सीमा अतिक्रमण गरेको छ। तर, अहिलेका नेतालाई यो वा त्यो नाममा १२ बुँदे सहमतिमार्फत् सत्तामा पनि त पुर्याएको छ। उसले लगाएको त्यो गुणको बदला ऊ नेपाली नेताबाट यस्तो उट्पट्याङ व्यवहार अपेक्षा गर्दैन। उसको ठाउँबाट हेर्दा त्यसलाई अन्यथा लिनु पनि हुदैन। 

नेपाल भारत सम्बन्धलाई ठीक गर्ने उपाय भनेको फेरि पनि वार्ता नै हो। त्यसका लागि कूटनीति नै प्रमुख औजार हो। तर, नेपालका सरकार प्रमुखले राम नै नेपालको भन्न थालेपछि ऊ कसरी वार्तामा आउँछ र? वुद्धलाई भारतले आफ्नो हो भन्दा नेपालीको मन जति दुख्छ, रामलाई नेपालको हो भन्दा त्योभन्दा कम मन दुख्दैन भारतीयको। यो त फेरि धर्म र आस्थाको विषय हो। यस्तो विषयमा खेल्नु कसैका लागि पनि हितकर हुँदैन। 

भारतको अन्ध विरोधमा राष्ट्रवाद देख्ने चश्मा नफेरेसम्म नेपालमा यो वा अर्को नाममा यस्ता धन्धुकारी पात्र जन्मिरहन्छन्। मूल कुरा नेपाललाई माया गर्न भारतको विरोध गर्नैपर्छ भन्ने मानसिकता परिवर्तन गर्न जरूरी छ। चाहे पनि नचाहे पनि भारत हाम्रो छिमेकी हो, उसँगको सम्बन्धलाई अभिषाप हैन, वरदान बनाउन सकिन्छ र सक्नु पनि पर्छ। त्यसका लागि फेरि पनि कूटनीतिक सम्वादको विकल्प छैन। भनाइ नै छ, देश फेर्न सकिन्छ तर छिमेकी हैन।  
 

प्रकाशित मिति: : 2020-07-14 05:24:38

प्रतिकृया दिनुहोस्