कोरोनामाथि भइरहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिले समस्या झन भयावह बन्न सक्छः डब्ल्यूएचओ

लक्ष्मण देवकोटा

जेनेभा ब्यूरो

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको संक्रमणले थप ठूलो दुर्घटना निम्त्याउन सक्ने भन्दै सबैलाई सजग रहन चेतावनी दिएको छ। 

चीनको उहान शहरबाट सुरु भएको कोरोना भाइरस संक्रमणको क्रम ६ महिना बितिसक्दा पनि रोकिने नाम लिएको छैन। अझ कोरोना संक्रमणको नयाँ तथ्य बाहिरिँदै गर्दा डब्ल्यूएचओले खराब परिस्थिति अझै आउन बाँकी रहेको चेतावनी गरेको छ। 

६ महिनाको अवधिमा विश्वव्यापी रूपमा १ करोड ५० लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। यसमा ५ लाख ११ हजार बढी मानिसको ज्यान गुमाइसकेको छ। अमेरिका, बेलायत, ब्राजिल र रुस जस्ता देशमा संक्रमणको संख्या दिनहुँ बढ्नु र भारतमा यसले उग्र रूप लिँदै जानुले सबैको चिन्ता बढाएको छ। 

डब्ल्यूएचओले महामारी अझै रोकिन समय लाग्ने भन्दै सजग र सर्तक हुन विश्व समूदायलाई आवहान गरेको छ। डब्ल्यूएचओका निर्देशक टेड्रस एडानोम गेब्रेसस भन्छन्, ‘६ महिनाअघि हामीले परिकल्पना गरेका थिएनौ हाम्रो संसार र हाम्रो जीवन शैली कस्तो हुन्छ भनेर। तर, कोरोना भाइरसका कारण हाम्रो अवस्था निकै कमजोर भएको छ।’ 

उनले यसअवधिमा मानवजातिले थुप्रै कुरा गुमाएको भन्दै अझै संकटको अवस्था समाप्त नभइसकेको स्पष्ट पार्न खोजे। कोरोनाविरूद्धको थप लडाईमा समस्त मानवजाति तथा देश एकजुट हुनुपर्ने, धैर्य धारण गर्नुपर्ने र मानवीय तथा भाइचाराको माहोल सिर्जना गर्नुपर्ने अवस्था आएको उनको भनाई थियो। 

कोरोनाको विषयलाई लिएर विश्व राजनीति दुई ध्रुबमा बाँडिएकोतर्फ इंकित गर्दै टेड्रसले भने, ‘भाइरसमाथि राजनीति हुँदा यसले झन् दुविधा बढाएको छ।’ उनले भाइरसमाथि अन्तर्राष्ट्रिय तथा राष्ट्रिय राजनीति हुँदा भविष्यमा अझ ठूलो दुर्घटना निम्त्याउन सक्नेतर्फ इसारा गरेका छन्।  

 ‘जुन किसिमको वातावरण र अवस्था बनेको छ, यसले झन् बिग्रिने डर उत्पन्न गरेको छ,’ उनले भनेका छन्।

प्रकाशित मिति: : 2020-07-01 08:32:03

प्रतिकृया दिनुहोस्