जिल्ला प्रशासन कार्यालय उपत्यका बाहिर जानेको लागि पनि पास वितरणमा कडाइ गरेको छ।
सोमबार सूचना जारी गरी बाहिर जाँदा नियमपूर्वक क्वारेन्टाइनमा राख्ने व्यहोरा सम्बन्धित स्थानीय तहले प्रमाणित गरेपछि मात्रै पास वितरण गर्ने उल्लेख गरेको छ।
अब जुन स्थानीय तहमा जानको लागि पास माग गरिन्छ सोही स्थानीय तहले नियमपूर्वक क्वारेन्टाइनमा राख्नेबारे प्रमाणित गरेर पढाउनु पर्नेछ।
प्रशासनको सोमबार जारी सूचना अनुसार मृत्युसंस्कारका लागि बाहिर जानेबाहेक अरूको हकमा भने त्यस्तो सिफारिस अनिवार्य गरिएको छैन।
यसअघि गत जेठ ३२ गते प्रशासनले सूचना जारी गर्दै काठमाडौं प्रवेशका लागि यहाँ कुन स्थानीय तहमा बस्ने हो सोही स्थानीय तहको सिफारिस आवश्यक पर्ने उल्लेख गरेको थियो। अहिले प्रशासनले काठमाडौं बाहिर जानको लागि समेत सोहीखालको सिफारिस अनिवार्य गरेको हो।
नयाँ सूचनाअनुसार अब बिहान १० बजेदेखि १२ बजेसम्म निवेदन संकलन हुनेछ भने दिउँसो साढे २ बजेपछि औचित्यताको आधारमा पास वितरण गरिने छ।
काठमाडौंमा मान्छेको धेरै चहलपहल हुने भएकोले अत्यावश्यक काम बाहेक आवतजावतमा कडाइ गर्नकै लागि यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौं सहायक प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेलले जानकारी दिए।
उपत्यकाका अरू जिल्लामा बसोबास गर्नेहरू समेत उपत्यका बाहिर जाने बेलामा धेरैले काठमाडौंबाट पास लिने गरेकोले यो सूचनाबाट अत्यावश्यकबाहेक अरू अवस्थामा नाकाबाट आवतजावतमा कमी आउने पौडेलले विश्वास व्यक्त गरे।