भेनेजुएलाका राष्ट्रपति मदुरोसँग भेट्ने राष्ट्रपति ट्रम्पको इच्छा, विपक्षी नेता अविश्वसनीय

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोसँग भेटवार्ता गर्ने बारेमा विचार गरिरहेको बताएका छन्। आइतबार प्रकाशित राष्ट्रपति ट्रम्पको अन्तर्वार्तामा उनले भेनेजुएलाका विपक्षी नेता पूरै विश्वासिला नभएको संकेत गरेका छन्।

भेनेजुएलाका विपक्षी नेता हुँवा गुएइदोले राष्ट्रपति निकोलास मदुरोलाई हटाएर आफूलाई सन् २०१९ मा मुलुकको राष्ट्रपति घोषणा गरेयता शक्ति संघर्ष चुलिएको छ। विपक्षी दलले भाग नलिएको तथा अन्तर्राष्ट्रिय जगतले पनि चुनावमा धाँधली भएको आरोप लगाए पनि राष्ट्रपति मदुरोले आफू विधिवत निर्वाचित भएको भन्दै राष्ट्रपति पदको दोस्रो कार्यकालको सपथ लिएका थिए।

संयुक्तराज्य अमेरिका समेत विश्वका झण्डै ६० मुलुकले विपक्षी नेता गुएइदोलाई समर्थन जनाएका छन्, तर चीन र रसियाले भने राष्ट्रपति मदुरोलाई नै मान्यता दिएका छन्। राष्ट्रपति मदुरो विरुद्ध अमेरिकाले विपक्षी नेतालाई समर्थन गरी धेरै किसिमका प्रतिबन्ध एवं नाकाबन्दी लगाएको छ।

तर विवादकै बीच एक्सियोस न्यूजलाई दिएको अन्तर्वार्तामा आफू भेनेजुएलाका राष्ट्रपतिसँगको भेटवार्ताका लागि खुला रहेको बताएका छन्।

राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘मैले त्यसबारेमा सोच्दैछु। मदुरो पनि सायद भेट्न चाहनु हुन्छ। मैले कहिल्यै पनि बैठकका लागि अस्वीकार गरेको छैन।’

उनले अगाडि भने,‘मैले जहिल्यै भन्ने गरेको छु, भेटघाटबाट केही नराम्रो हुँदैन।’

अमेरिका र मदुरोको समाजवादी सरकारबीचको सम्बन्ध गत मे महिनामा ५२ जना शंकास्पद व्यक्तिलाई गिरफ्तार गरिएपछि अझ खराब स्थितिमा पुगेको थियो जसमा दुई जना अवकाशप्राप्त अमेरिकी सैनिक पनि थिए। उनीहरुले अमेरिकी सहयोगमा भेनेजुएलाको सरकार विरुद्ध विभिन्न शंकास्पद गतिविधि गरेको आरोप लागेको छ। 

तर वासिङ्टनले यस दाबीको खण्डन गरेको छ।

भेनेजुएलाका विपक्षी नेता गुएइदोलाई अमेरिकाले निरन्तर समर्थन गरे पनि अन्तर्वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले पटकपटक गुएइदो त्यति विश्वासयोग्य व्यक्ति नभएको बताउनुभएको एलेक्सीओले लेखेको छ। 

राष्ट्रपति ट्रम्पले भेनेजुएलामा जे भइरहेको छ त्यसको विपक्षमा आफू रहेको बताउँदै गर्दा उनले गुएदोका बारेमा भने,‘मैले उनलाई समर्थन गरेकै हो, तर यो त्यति अर्थपूर्ण कुरा होइन।’

राष्ट्रपति ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको संस्मरणात्मक पुस्तकका कारण सिर्जना हुने तनाब मत्थर बनाउन ह्वाइट हाउसले प्रयत्न गरिरहेकै समयमा राष्ट्रपति ट्रम्पको अर्को विवादास्पद अन्तर्वार्ता प्रकाशन भएको छ। 

एक्सीओसले बोल्टनकै पुस्तकको एक अंश प्रकाशन गरेको छ जसमा बोल्टनले लेखेका छन्,‘ट्रम्पको सोचाईमा मदुरोको तुलनामा विपक्षी नेता गुएइदो निकै कमजोर छन्।’

बोल्टनका अनुसार राष्ट्रपति ट्रम्पले गुएइदोलाई अमेरिकी राष्ट्रपतिको प्रारम्भिक चुनावमा उठ्ए तर पछि उम्मेदवारी परित्याग गरेका बेटो ओ–रुकीजस्तै अस्थिर रहेको बताउँदै आएका थिए। 

प्रकाशित मिति: : 2020-06-22 13:18:14

प्रतिकृया दिनुहोस्