दक्षिण अमेरिकाको एउटा गरिब देश, बोलिभिया। जहाँ एक पुरूष हिजोआज पहाडी बाटोमा साइकल बोकेर हिँडिरहेका भेटिन्छन्। उनको साइकलको पछाडि एउटा सेतो बोर्ड झुण्डिएको छ। उनी त्यो बोर्ड बोकेर गाउँगाउँमा पस्छन्।
विल्फ्रेडो नेग्रेटे, पेशाले शिक्षक हुन्। उनी हिजोआज बोलिभियाको गाउँगाउँमा पुगेर केटाकेटीहरूलाई पढाउने काममा सक्रिय छन्।
विश्वभरि महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको प्रभावबाट यो देश पनि अछुतो रहन सकेन। त्यसैले मार्चदेखि नै यहाँको स्कुल पनि बन्द छ। कोरोनाको प्रभाव छिट्टै सामाधान हुने देखिदैन। त्यसैले अन्य देश जस्तै यहाँको सरकारले पनि केटाकेटीका लागि अनलाइन क्लास सञ्चालन गर्न अनुमति दिइसकेको छ। स्कुलले पनि यसको सुरुवात गरिसकेको छ। तर, उनको कक्षामा अध्ययनरत १९ मध्ये १३ केटाकेटीको परिवारसँग मोबाइल र इन्टरनेटको व्यवस्था छैन।
त्यसैले उनी ती बच्चाहरूलाई पढाउन गाउँगाउँमा प्रवेश गर्छन्, त्यो पनि सेतो बोर्ड बोकेर। गाउँको अफ्ठेरो बाटोमा उनी साइकल डोर्याउँदै विधार्थीको घरघर पुग्छन्।
सरकारले अनलाइन कक्षाको स्वीकृति दिँदा धेरै विधार्थी अनुपस्थित भएपछि उनले यसको कारण खोजी गरे। कारण पत्ता लागेपछि उनले गाउँमै गएर विधार्थीलाई पढाउने प्रण गरे। जसका लागि उनले आफ्नो साइकलमा एउटा ट्रली जडान गर्न लगाए र यसमा सेतो बोर्ड फिट गरेर आफ्नो विद्यार्थी बसोबास गर्ने गाउँगाउँ धाउन थाले।
उनी अहिले आफ्नो स्कुलबाहेक अन्य बच्चाहरूलाई पनि पढाउने काममा सक्रिय छन्। यो मिहिनेतका लागि उनले अतिरिक्त भत्ता वा सुविधा केही पाउँदैनन्। तर, उनी यसबाट खुसी छन्। ‘मेरो सानो प्रयासले बच्चाहरूले पढ्ने मौका पाएका छन्। मैले दुई पैयाको सहयोगले स्कुललाई उनीहरूको घरसम्म पुर्याएको छु,’ उनी भन्छन्, ‘गरिबीका कारण मोबाइलको सुविधाबाट बञ्चित बच्चाले पनि लकडाउनमा पढ्ने अवसर पाएका छन्।’
नेग्रेटे फुर्सदको समयमा आफ्नो घरमा पनि केटाकेटीलाई अतिरिक्त ट्युसन दिने गर्छन्। जसका लागि छिमेकबाट केटाकेटीहरू पढ्न आउने गरेका छन्। उनको कक्षामा पढ्ने एक छात्रकी आमा ओवल्डिना पोर्फिडिओले भनिन्, ‘पढाईलाई लिएर म निकै चिन्तित थिए। तर, नेग्रेटेले मेरो चिन्ता हटाइदिएका छन्।’ नेग्रेटेको यो प्रयासबाट गाउँघरका सबै अविभावक खुसी छन् र उनीहरू आफ्नो सन्तानको भविष्यप्रति सुनिश्चित भएका छन्।