ब्राजिलमा कोराेनाबाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो, राष्ट्रपतिविरुद्ध प्रदर्शन

बिएल संवाददाता

रियाे दि जेनेरियाे

ब्राजिलमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ।

कोरोना भाइरसको महामारीबाट विश्वमै सबैभन्दा बढी प्रभावित हुने देशको सूचिमा दोस्रो स्थानमा ब्राजिल रहेकाे छ। यहाँ अहिलेसम्म कोभिड–१९ बाट ५० हजार ५९१ जनाको ज्यान गएको जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ।

ब्राजिलमा कुल संक्रमितको संख्या १० लाख ८३ हजार हजार भन्दा बढी पुगेको छ। दक्षिण अमेरिकी देश ब्राजिल हाल कोरोना भाइरस महामारीको इपिसेन्टर बनेको छ। 

ब्राजिल भन्दा अमेरिकामा मात्रै संक्रमित तथा मृत्यु हुनेको संख्या धेरै छ। अमेरिकामा २२ लाख ७८ हजार भन्दा बढी संक्रमित भएका छन्। त्यसमध्ये एक लाख १९ हजार ९ सय भन्दा बढीको ज्यान गएको छ।

ब्राजिलका गरिब तथा आदिवासी समुदाय महामारीबाट सबैभन्दा बढी प्रभावित भएका छन्। विशेषज्ञहरुले भने परीक्षण कम भएकाले ब्राजिलमा अझै धेरै संक्रमित हुन सक्ने बताएका छन्।

विज्ञका अनुसार ब्राजिलमा महामारीले उच्च तह पार गर्न अझै केही हप्ता लाग्ने बताएका छन्।

यसैबीच ब्राजिलका राष्ट्रपति बोल्सोनारोविरुद्ध सडकमा विरोध प्रदर्शन भएको छ। विरोधीहरु सडकमा उत्रिएपछि राष्ट्रपति बोल्सोनारोका समर्थकहरु पनि प्रदर्शनमा उत्रिएका छन्।

सरकार विरोधी प्रदर्शनकारीहरुले राष्ट्रपति बोल्सोनारोलाई कोरोना रोकथाममा असफल भएको महाअभियोग चलाउन आह्वान गर्दै आएका छन्। 

कोरोना भाइरस महामारी नियन्त्रणमा अति कमजोर प्रयास गरेको भन्दै राष्ट्रपति जायर बोल्सोनारोको गम्भीर आलोचना हुँदै आएको छ। सुरुमा बोल्सोनारोले कोरोना भाइरसको महामारीलाई ‘सामान्य फ्लू’ भन्ने गरेका थिए।
 
बोल्सोनारोले लकडाउन लागु नगरेकाले कोरोना भाइरस संक्रमण दर उच्च भएको बताइन्छ। त्यतिमात्रै होइन, उनले स्वास्थ्य मन्त्रालयले दिएको सुझावसमेत कार्यान्वयन गरेनन्। उनले काेराेना महामारीकै बीचमा पसल लगायत आर्थिक काराेबार सुरु गरे। र उनले स्वास्थ्मन्त्री लुइज हेनरिक मनडेटालाई बर्खास्त गरे। त्यसपछि स्वास्थ्यमन्त्री बनेका नेल्सन टेइकले पनि राष्ट्रपतिको कार्यशैलीमा असहमति जनाउँदै एक महिनामै पदबाट राजीनामा दिएका थिए।

प्रकाशित मिति: : 2020-06-22 07:27:27

प्रतिकृया दिनुहोस्