कोरोना संक्रमणका कारण भारतको नयाँ दिल्लीमा मृत्यु भएका एक नेपालीको अन्त्येष्टि १३ दिनपछि गरिएको छ।
नयाँ दिल्लीको पहाडगन्ज क्षेत्रमा कुरियर सेवामा कार्यरत झापाका ४९ वर्षीय ज्ञानबहादुर बस्नेतको गत जेठ २५ गते निधन भएको थियो। तर उनको अन्त्येष्टि नेपाली जनसम्पर्क समिति भारतको सहयोगमा शनिबार मात्र गरिएको हो।
जनसम्पर्क समितिका अध्यक्ष बालकृष्ण पाण्डेले बस्नेतको शव नेपाल पठाउन समस्या भएकाले दिल्लीमै दाहसंस्कार गरिएको जानकारी दिए। ‘दिल्लीमा शव बुझ्ने व्यक्ति नभएपछि ग्रिनतारा सोसाइटीको पहलमा नेपाली जनसम्पर्क समिति भारतले शव बुझेर अन्तिम संस्कार गरेको हो,’ अध्यक्ष पाण्डेले भने।
शव बुझ्ने व्यक्ति नेपालमा भएपछि परिवारलाई पत्राचार गरेर शव व्यवस्थापन गरिएको थियो। जेठ २२ गते स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि लेडिहार्डिङ अस्पतालमा लगिएका बस्नेतको कोरोना पुष्टि भएको थियो। रासस