भारतीय प्रधानमन्त्री मोदीद्धारा रोजगार योजना शुरु

बिएल संवाददाता

नयाँदिल्ली

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार रोजगार योजना शुरुवात गरेका छन्। विषेश गरी बसाई सरेर आएका कामदारलक्षित  यस्तो योजनाको शुरुवात गरिएको अधिकारीहरुले जनाएका छन्। 

कोरोनाभाइरसका कारण लकडाउन लागु भएपछि धेरै कामदारहरुको रोजगारी गुमेकाले सरकारले रोजगार योजना शुरु गर्नु परेको हो। सो योजनालाई ‘गरिब कल्याण रोजगार अभियान’ नाम दिइएको छ। यस योजना अन्तर्गत विषेश गरेर ग्रामिण क्षेत्रमा काम गर्नका लागि प्रेरित गरिने भएको छ। 

कोरोनाभाइरसले ग्रमिण क्षेत्रको महत्व र ग्रामिण क्षेत्रलाई आधार बनाउनु पर्छ भन्ने सिकाएको पनि प्रधानमन्त्री मोदीले बताए। शहरबाट गाउँ फर्केकाहरुलाई गाउमै सहयोग गर्नका लागि रोजगार योजनामार्फत् विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने उनको भनाई छ। 

क्षमतावान व्यक्तिहरु गाउँमा बसेर काम गरेमा आर्थिक बृद्धिदर तिब्र गराउन पनि ठूलो सहयोग पुग्ने प्रधानमन्त्री मोदीले विश्वास व्यक्त गरे। शहरबाट गाउँ गएकाहरुलाई घरनजिकै रोजगारी दिलाउने र गाउँको विकासमा लगाउने सरकारको मुख्य प्राथमिकताको विषय भएको उनले बताए। 

प्रधानमन्त्री मोदीले ग्रामिण क्षेत्रको भौतिक विकासमा पनि सरकारले विषेश जोड दिने जानकारी गराउदै गाउँ गाउँमा इन्टरनेट पुर्‍याईने बताए। गरिब कल्याण रोजगार अभियानको शुरुवात प्रधानमन्त्री मोदीले विहारको कतिहारबाट अनलाईन भिडियोमार्फत् गरेका थिए। उद्घाटन कार्यक्रममा विहार, मध्यप्रदेश, उत्तर प्रदेश, राजस्थान र झारखण्ड प्रदेशका मुख्यमन्त्रीहरु र उडिसाका मुन्त्री सहभागी भएका थिए।

प्रकाशित मिति: : 2020-06-20 19:15:12

प्रतिकृया दिनुहोस्