भुजङ्गप्रयात छन्द
छ आकाश सारा निराशा लिएको
बडो वेगको दुःख एक्लै सहेको
नभन्दै व्यथाको कथा नै खुलेर
लगातार रोई रहेको छ हेर!॥१॥
निचोर्दै पछार्दै छ भूभाग सारा
रिसाएछ ज्यादै निराशी विचारा
अहो कोप यस्तो लिएको छ धेर
लगातार रोई रहेको छ हेर!॥२॥
छुचा भ्यागुताले पितुर्के तँ भन्दै
सधैँ वार गर्छन् दयाहीन बन्दै
तिरस्कार जम्मै उपेक्षा गरेर
लगातार रोई रहेको छ हेर!॥३॥
कतै क्रोध गर्दै कतै ठुस्स पर्दै
बसेको छ एक्लै घना आँसु छर्दै
नकार्दै दुहाई स्वयम्मा भुलेर
लगातार रोई रहेको छ हेर!॥४॥
व्यथामा मुछेका मुना आँसु झर्दा
खुसी को छ ? भित्री कुनै अङ्ग मर्दा
अहोरात्र पीडा अनेकौं सहेर
लगातार रोई रहेको छ हेर!॥५॥