ब्राजिलमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघेको छ।
शुक्रबार एकैदिन ५४ हजार ७ सय ७१ थपिएसँगै संक्रमितको संख्या १० लाख ३२ हजार ९ सय १३ पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
ब्राजिलमा मृत्यु हुनेको संख्या ४८ हजार ९ सय ५४ पुगेको छ। दक्षिण अमेरिकी मुलुकमध्ये ब्राजिल सबैभन्दा बढी प्रभावित हो। विशेषज्ञका अनुसार ब्राजिलमा चाँडै अमेरिकाभन्दा बढी संक्रमित हुने संकेत देखिएको छ।
गत फेब्रुअरी २६ मा इटालीबाट फर्किएका साओ पाउलोका एक व्यक्तिमा पहिलोपटक संक्रमण देखा परेको थियो। त्यसको एक महिनामै ३ हजार संक्रमित पुगेका थिए भने ७७ जनाको मृत्यु भएको थियो। त्यतिबेला राष्ट्रपति जैर बोल्सोनारोले सामान्य रुघाखोकी भन्दै ब्राजिलियनहरुमा प्रतिरोधी क्षमता भएको दाबी गरेका थिए।
परीक्षण अति कम भएकाले संक्रमित हुनेको संख्या अहिले भनिए भन्दा धेरै हुन सक्ने विज्ञले बताएका छन्। विज्ञका अनुसार ब्राजिलमा महामारीले उच्च तह पार गर्न अझै केही हप्ता लाग्ने बताएका छन्।
ब्राजिलका गरिब तथा आदिवासी समुदाय महामारीबाट सबैभन्दा बढी प्रभावित भएका छन्। कोरोना भाइरस महामारी नियन्त्रणमा अति कमजोर प्रयास गरेको भन्दै राष्ट्रपति बोल्सोनारोको गम्भीर आलोचना हुँदै आएको छ ।
ब्राजिलले अघिल्लो हप्ता कोरोना संक्रमित र मृत्यु हुनेको जानकारी दिन बन्द गर्दै स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकरिक वेभसाइटबाट संक्रमित र मृतकको विवरण हटाउँदै अब यसबारे जानकारी नदिने बताएको थियो ।
तर विश्व स्वास्थ्य संगठनले पनि ब्राजिलले कोरोना सम्बन्धी जानकारी पारदर्शी रुपमा दिन नचाहेको भन्दै यसमा पारदर्शी हुन आग्रह गरेको थियो ।
त्यसपछि त्यहाँको सर्वोच्च अदालतले हटाएको विवरण तत्काल राख्न र दैनिक संक्रमित र मृतकको विवरण पारदर्शी बनाउन आदेश दिएपछि पुनः विवरण दिन सुरू गरेको थियो ।