कोरोना भाइरसको महामारीका कारण संयुक्त अरब इमिरेट्स (यूएई)मा समस्यामा परेका एक सय ४८ जना नेपाली आज नेपाल फर्किएका छन्।
नेपाल एयरलाइन्सको आरए २२९२ को पहिलो ‘उद्धार’ उडानमार्फत १४८ जना आज नेपाल फर्किएका हुन्। जसमा एक सय एक जना महिला र ४७ जना पुरुष छन्। जसमध्ये ९४ जना महिला गर्भवती छन्।
यस्तै ९ जना दीर्घ रोगी, ३ जेष्ठ नागरिक, १ जना प्यारालाइसिस भएका, १० जना वर्किङ भिसा सकिएका, एक जनाको शव र अन्य ११ जना यात्रु छन्।
उडान तालिका भन्दा चार घन्टा ढिलो गरि स्थानिय समय अनुसार बिहानको ५ः१० बजे दुबईबाट उडेको थियो। जहाज १ बजेर २५ मिनेट जाँदा उड्न पर्ने थियो।
यूएईबाट अलपत्र नेपालीलाई फिर्ता पठाएको यो दोश्रो पटक हो। यसअघि एयर अरेबियाले १६८ जना यात्रु ल्याएको थियो।
यो उडानमा नेपाली दूतावासले प्राथमिकताको सूचीमा राखेको नेपाली कामदार रहेका छन्। उनीहरु आफैले टिकटको प्रबन्ध मिलाएको हो। रोजगार करार अवधि समाप्त भएका कामदारलाई भने रोजगारदाता आफैले टिकटको व्यवस्था गरिएको छ।
स्वदेश फिर्नुअघि विमानस्थलमै कोरोनाको परीक्षण गरिएको थियो।