गण्डकी प्रदेशका चार जिल्लामा थप २४ जनामा कोरोना, संक्रमित ३४८ पुगे

गण्डकी प्रदेशका चार जिल्लामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले शुक्रबार बिहान ६ बजे जारी गरेको प्रेस विज्ञप्ति अनुसार पूर्वी नवलपरासीमा २ जना, बागलुङमा १४ जना, कास्कीमा ६ जना र स्याङ्जामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ३४८ पुगेको छ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार पूर्वी नवलपरासीको विनयत्रिवेणी गाउँपालिकामा २८ र २० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै बाग्लुङको गल्कोट नगरपालिकामा ८ जना र कोठेखोला गाउँपालिकामा ६ जनामा कोरोना पुष्टि भएको छ। गल्कोटमा ३५, ३८, ३०, २२, १९ र ४५ वर्षका पुरुष तथा ४२ र २० वर्षका महिलामा कोरोना भाइरस देखिएको छ।

कास्कीको पोखरा महानगरपालिकाका ५ जना र रुपा गाउँपालिकाका एकजना पुरुष पनि संक्रमित छन्। 

यता पोखरा महानगरमा भेटिएका संक्रमित १९ वर्षका २ जना र ४१ वर्षका एकजना पुरुष छन्।  त्यस्तै, ३० र ५६ वर्षीया २ जनामा महिलामा समेत कोरोना भाइरस पुष्टि भएको छ। यस्तै रुपा गाउँपालिकाका ४५ वर्षीय पुरुषमा कोरोना भाइरस पाइएको छ।

निर्देशनालयका अनुसार स्याङ्जाका २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जसमध्ये ३६ वर्षीय पुरुष कालीगण्डकी गाउँपालिकाका हुन् भने अर्का ६३ वर्षीय पुरुषको ठेगाना खुल्न नसकेको जनाइएकाे छ।

उनीहरु सबैजना भारतबाट फर्किएका हुन्। सबैजना सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेको र सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशनालयले. जनाएको छ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय ४८ पुग्दा २२ जना निको भएर घर फर्किसकेका छन् भने एकजनाको मृत्यु भएको छ। गण्डकी प्रदेशको मुस्ताङबाहेक सबै जिल्लामा कोरोना भाइरस संक्रमण फैलिएको छ।
 

प्रकाशित मिति: : 2020-06-19 06:50:52

प्रतिकृया दिनुहोस्