कर्णाली प्रदेशमा थप १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
प्रदेश अस्पताल, सुर्खेत/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका ८६ र सुर्खेतका ३४ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। कर्णालीमा बिहीवार पुष्टि भएका संक्रमितको संख्या प्रदेशमा अहिलेसम्मकै उच्च हो।
दैलेखको महाबु गाउँपालिकाका ७६ जना, गुराँसे गाउँपालिकाका ५ जना, चामुण्डा विन्द्रासैनीका २ जना, दुल्लु नगरपालिकाका २ जना, भैरवी गाउँपालिकाका एक जना गरी ८६ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै, सुर्खेतको वीरेन्द्रनगरमा ६ जना, बराहताल गाउँपालिका र चौकुने गाउँपालिकामा दुई/दुई जना, चिंगाड गाउँपालिकाका ८ जना, गुर्भाकोट नगरपालिकामा ५ जना, पञ्चपुरी नगरपालिकामा १० जना र सिम्ता गाउँपालिकामा एक जना गरी जम्मा ३४ जनामा संक्रमण पुष्टि भएको छ।
कर्णालीमा संक्रमितको कुल संख्या एक हजार २२४ पुगेको छ।
बिहीवार नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट ६ जना, महावु आइसोलेसन सेन्टर दैलेख र सिम्ता आइसोलेसन सेन्टर सुर्खेतबाट एक/एक जना, सालकोट आइसोलेसन सेन्टर सुर्खेतबाट ३ जना गरी जम्मा ११ जना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन्। कर्णालीमा हालसम्म डिस्चार्ज हुनेको संख्या ५०५ पुगेको छ।
कर्णाली प्रदेशमा मृत्यु भइसकेपछि कोरोना संक्रमण पुष्टि भएकाको संख्या ४ पुगेको छ।
सुर्खेत सिम्ता गाउँपालिकाको २५ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु भएसँगै मृतकको संख्या ४ पुगेको हो।