भारत–चीन तनावका बीच पाकिस्तानमा दुई वर्षपछि तीन वटै सेना प्रमुखको बैठक

चीनसँग भारतको तनाव बढेपछि पाकिस्तान आफ्नो सेनासँग गम्भीर छलफलमा जुटेको छ। पाकिस्तानी न्युज एजेन्सीका अनुसार पाकिस्तानको इन्टेलिसेन्स एजेन्सी आइएसआईका कार्यालयमा २ वर्षपछि सबै सेनाको बैठक बसेको हो।

चीन र भारतबीच सोमबार पूर्वी लद्दाखको गलवान उपत्यकामा भएको भिडन्तमा २० भारतीय सेनाको निधन भएको थियो। पाकिस्तानी एजेन्सीका अनुसार बैठकमा भारत–पाकिस्तान सीमा रेखा तथा काश्मिरको विषयमा चर्चा भएको थियो। भारत र पाकिस्तान सन् १९४७ मा छुट्टिएदेखि नै दुश्मनको रूपमा प्रस्तुत हुँदै आएका छन्।

यी दुई देशबीच ३ वटा युद्ध भइसकेको छ भने पश्चिमी पाकिस्तानलाई बंगलादेश बनाउन भारतले खेलेको भूमिकालाई लिएर दुई देशबीच कटुतापूर्ण सम्बन्ध छ। पाकिस्तानी अखबार ‘दि डन’ का अनुसार राष्ट्रिय सुरक्षाको ब्रिफिङका लागि आइएसआईको कार्यालयमा जल, थल र बायुसेनाका तीन जनै उच्च अधिकारी बसेका थिए। एकै ठाउँमा तीनवटै सेनाका प्रमुख विशेष अवसरमा मात्र बस्ने गरेका छन्।

पाकिस्तानमा आइएसआईको कार्यालयमा भएको सेनाको तीनवटै डिभिजनको प्रमुखको बैठकले भारतको ढुकढुकी पनि बढाएको छ। पछिल्लो समय पाकिस्तान चीनसँग निकै नजिक छ। पाकिस्तानमा चीनको ठूलो व्यापारीक साझेदारी चलिरहेको छ। पाकिस्तानको तीनवटै डिभिजनका प्रमुखहरू यसअघि २०१८ मा बसेका थिए। चीनसँगको बढ्दो तनावका बीच पाकिस्तानले काश्मिरको विषयलाई लिएर ठूलो कदम उठाउन सक्ने आशंका भारतीय अधिकारीहरूको रहेको छ।

छुट्टै राज्य माग गरिरहेको काश्मिरमा रहेको ३ सय ७० को प्रावधान हटाउँदै भारतले केही समयअगाडि केन्द्र शाषित राज्य थोपरेको भन्दै पाकिस्तानले आपत्ति जनाउँदै आइरहेको छ। यो मुद्धालाई लिएर दुई देशबीच लामो समयदेखि वार्ता हुन सकेको छैन।

प्रकाशित मिति: : 2020-06-18 17:26:50

प्रतिकृया दिनुहोस्