युद्व अपराध हो भन्दै चीनियाँ र भारतीय दूतावास नजिक धर्ना, वुटवल र दाङमा पनि प्रदर्शन

युद्व अपराध हो भन्ने स्मरण गराउँदै मानव अधिकार तथा शान्ति समाजले बिहिबार काठमाडौंस्थित चिनियाँ र भारतीय दूतावास नजिकै एकसाथ दुई वटा धर्ना प्रदर्शन गरेको छ। 

चिनियाँ र भारतीय सेनाबिच हालै सिमान्त गल्वान उपत्यकामा भएको हिंसात्मक झडपमा दर्जनौं सैनिकहरु हताहत र घाइते भएका थिए। एसियाका दुई भिमकाय मुलुक चीन र भारत शान्तिका लागि उदाहरण बन्नुपर्नेमा युद्वका लागि अग्रसर हुनु अत्यन्त दुखद हुनुका साथै दक्षिण एसिया र विश्व शान्तिकै लागि पनि खतरा भएको भन्दै चीन र भारतलाई सिमान्त क्षेत्रमा झडप रोक्न, वार्ताबाटै समस्याको समाधान खोज्न, आवेग होइन विवेकको प्रदर्शन गर्न, उत्तेजनालाई बढाउने होइन समझदारीलाई विस्तार गर्न र युद्वका कुनै पनि संभावनालाई खारेज गर्न आग्रहसहित प्रदर्शन गरिएको थियो।

चिनियाँ दूतावास अगाडि भएको प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, संस्थापक सदस्य कृष्ण कँडेल, केन्द्रिय सचिव बलबहादुर गाहा मगर, केन्द्रिय सदस्य नम्रता खरेल, काठमाडौं शाखा सभापति जगन्नाथ पुडासैनी, उपसभापति नानीकाजी गिरी, सचिव ईश्वर पुडासैनीसहित दर्जनौ शान्तिवादीहरुको सहभागिता थियो।

यसैगरी भारतीय दूतावास नजिक भएको प्रदर्शनमा शान्ति समाजका सभापति उत्तम पुडासैनी, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रिय सदस्य गीता तिमल्सिना, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जरासहित दर्जनौ शान्तिवादीहरुको सहभागिता थियो । प्रदर्शनमा सहभागिहरुले Stop war : Promote peace, Yes to Peace, No to War लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

यसैगरी असार ४ गते बिहान चीन र भारतलाई सिमान्त क्षेत्रमा झडप रोक्न आग्रह गर्दै शान्ति समाज रुपन्देही शाखाले वुटवलमा र दाङ शाखाले तुलसीपुरमा प्रदर्शन गरेका थिए। वुटवलको प्रदर्शनमा शान्ति समाजका केन्द्रिय उपसभापति गोविन्द खनाल, केन्द्रीय सदस्य अञ्जु गौतम, रुपन्देही शाखा सभापति डिपी खनाल, सचिव अर्जुन ज्ञवाली, तुलसीपुरको प्रदर्शनमा केन्द्रीय महासचिव सुशिल बस्नेत, दाङ शाखा सभापति शरद रेग्मी, पूर्व सभापति डिल्ली धिताल, निर्मल नेपालीसहित दर्जनौ शान्तिवादीहरुको सहभागिता रहेको थियो।

प्रकाशित मिति: : 2020-06-18 14:51:07

प्रतिकृया दिनुहोस्