गोर्खेहरू गफ मात्रै गर्ने कि व्यवहारमा उतार्ने?

दुई वर्ष अगाडि पहिलोपल्ट फोरजी मोबाइल किनेर जतिबेला फेसबुक खोलेँ, त्यतिबेलै विमल गुरूगले ‘गोर्खाल्याण्ड’ आन्दोलन नेपाली भाषाको सन्दर्भमा ममताले गर्दा गरिरहेका थिए। नयाँ दिल्लीमा गोर्खाहरूले र्‍याली निकालेका थिए।

त्यसबेला ‘गोर्खा जाति महाजाति’भन्ने लहर भारतभरि चलिरहेको थियो। विशेष असममा ‘गोर्खा महाजाति’ भन्ने लहरले त हुरी नै ल्याइरहेको थियो। अहिले पनि असममा कुनै ‘कट्टर गोर्खा हुँ’ भन्नेले ‘गोर्खा महाजाति’ भन्ने लिडेढिपी थेगो अझसम्म छाडेका छैनन्।

राजनीतिक कारणले गर्दा हाम्रो समुदायले अन्य जातिलाई आफ्नो एकता देखाउन ‘गोर्खा महाजाति’ भन्नु म पनि सही हो भन्छु। तर प्रयोगात्मक रूपमा ‘गोर्खा’ के ‘महाजाति’ हो? मुखले भन्न त सजिलो छ, ‘गोर्खा महाजाति’...! तर व्यवहारमा ‘गोर्खा’ लाई ‘महाजाति’ बनाउन सजिलो छैन। छत? तपाईँहरू सबैलाई प्रश्न मेरो।

यो लेख ‘गोर्खालाई महाजाति बनाउन सजिलो छ कि छैन?’ भन्ने विषयको एउटा विश्लेषणसमेत हो।

मैले फेसबुक खोलेपछि जोडिएका सबै नै भनौँ, असमका युवावर्गले ‘जय गोर्खा...’, ‘गोर्खा महाजाति’ भन्ने नारा रंगाएका हुन्थे। त्यतिबेला असमका हग्ने, पाद्ने सबै ‘गोर्खा महाजाति’ थिए। लाउँथे धेरै नारा तर व्यवहारिक रूपमा ‘गोर्खा महाजाति’ बनाउन भारतका सबै गोर्खा थिए हारा।

मैले  पनि फेसबुकमार्फत हारा भएको देखेर हारा नहोऊन् भनि धेरै उदाहरण दिँदै निकै लेख लेखेँ। तर जोश भएको होश नभएको गोर्खाले मेरा लेखको अर्थलाई के बुझ्थेँ!

असमका युवा गोर्खाको वर्णन त झन् गरी साध्य छैन। हरियो चश्मा लगाइदिएको गोरू भएका थिए। पराललाई गोरुले हरियो देखेझैँ जेमा पनि उनीहरूले गोर्खारूपी हरियो रंग देख्थे।

मैले हरेक लेखमा उदाहरण दिँदै लेख्थेँ, ‘गोर्खा ‘जाति’ होइन। बाहुन, क्षेत्री, कामी, दमाई, सार्की, राई, लिम्बू, गुरूङ, मगर, नेवार, तामाङ आदि जात-जाति मिलेर बनेको एउटा सिंगो ‘समुदाय’हो।

फेसबुकका अधिकांश हाम्रा युवाले कुनै अध्ययन गर्दैनन् शब्दकोश, पुस्तकादिभित्र परेका अर्थलाई छिचेल्दैनन्। पढ्ने भए पो जात-जाति र समुदायको अर्थ के हो भनेर छिचोल्थे।

समुदायको अर्थ हो, ‘विभिन्न मानिस वा विभिन्न वस्तुको सम्मिश्रण। उदाहरणका लागि बाहुन, क्षेत्री, मगर, गुरूङ आदि मिसिएर बनेको समूह, दल, समष्टि। अंग्रेजीमा भन्नुपर्दा ग्रुप। जात-जातिको अर्थ, ‘एउटा वर्ग विशेषको मात्र परिचय हो। जस्तै बाहुन मात्र, मगर मात्र...आदि।

समुदायको वैयक्तिक भाषा संस्कृति, परम्परा, भेषभूषा हुँदैनन्। जात-जातिको हुन्छ। जस्तै बाहुन,जसको भाषा खस हो। बाहुनको आफ्नै रीति-रिवाज छन्। सबै बाहुनले त होइन, तर अधिकांश बाहुनमा खसी खाने चलन छ। छुवाछुतलाई बढी मान्ने चलन छ। सुँगुरको चलन छैन।

मगरको आफ्नै भाषा, रीति-रिवाज, भेषभूषा छन्। सुँगर,रक्सी खाने रीति-रिवाज छन्। यही अनुसार गोर्खा समुदायमा पर्ने अन्य जातिहरूका पनि आफ्नै भाषा,रीति-रिवाज,भेषभूषा छन्।

मूलभूतमा लेख्नुपर्दा गोर्खा समुदायभित्र पर्ने सबै जात-जातिका आफ्ना-आफ्ना वैयक्तिक परम्परा, भाषा, भेषभूषा छन्। यी नै विशेष कारणले गर्दा गोर्खा समुदायभित्र पर्ने जात-जातिका विचार, मत मिल्दैन। विवाह-पद्धतिमा पनि भिन्नता छ। जस्तो बाहुनकी छोरो र सार्कीकी छोरीको मागी विवाह हुँदैन। भागी विवाह चाहिँ हुन्छ।

मागी विवाहमा एउटै जातिको छोरो वा छोरीको विवाह त्यही जातिसँग हुने परम्परा गोर्खा समुदायमा छ।

यो परम्परालाई उडाउन भनेर साहित्यकार, पत्रकार, सम्पादक किशोर किराँत राईले क्षेत्री केटी भगाएर ल्याउँदा जातपातको नाउँमा क्षेत्री केटीको माइतीका जातिद्वारा किशोर किराँत राईलाई मार्न भनी खुकुरी प्रहार गरिएको कथा असमका गोर्खा समुदायको इतिहासमा लिखित छ। आफ्नो लोग्ने किशोर किराँत राईलाई बचाउने हुँदा क्षेत्री केटीको दाहिने हात काटिएको अर्को कथा असमका गोर्खा समुदायको इतिहासमा छ।

यदि गोर्खा समुदायको एउटै परम्परा, एउटै संस्कृति हुने भए गोर्खा समुदायको ऐतिहासिक पानामा यस्तो कथा लेखिने थिएन। यस्ता कथाहरू गोर्खा समुदायमा धेरै छन्। यो लेख लामो हुने भएर सबै कथाहरू यहाँ हालिनँ। यतिचाहिँ हालिदिन्छु।

सुवास घिसिङले भारतमा बस्ने नेपालीभाषीलाई ‘गोर्खा’ को बर्को ओढाइदिए तर गोर्खाको एउटै परम्परा, एउटै भेषभूषा, एउटै धर्मको बर्को ओढाइदिएनन्। बरू यसको साटो गोर्खा समुदायमा विभाजन ल्याए। उनकै पालामा तामाङहरूले आफूलाई गोर्खा नठानेर तिब्बती मूलका हौं भनी तामाङ परम्परामा फर्कने हुँदा दशैंको टीका लाउन छाडे। भाइटीका मान्न छाडे। विवाहिता तामाङ महिलाले सिन्दुर लाउन छाडे। अहिले गोर्खाभित्र यो परम्परा छिप्पिँदो छ। यसरी गोर्खा समुदाय टुक्रिँदै छ।

यही भएर भारत सरकारले यो कुरा राम्ररी बुझेको छ- गोर्खा महाजाति होइन। समुदाय हो।

 यही समुदाय बुझेको भारत सरकारले गोर्खा समुदायलाई अझ टुक्राउन OBC, ST सहित अन्य विभिन्न नामका चारो फालिदिएको छ।

मैले गोर्खा समुदाय नटुक्रियोस्। साबुत रहोस् भनेर त्यसबेला लेखेका लेखमा यी कुरा थिए-जातपात हट्नुपर्छ। एउटै परम्परा हुनुपर्छ। अन्तर्जातीय विवाह हुनुपर्छ। उपाध्याय बाहुनको छोराले सार्कीकी छोरी मागेर बिहे गर्न पाउनुपर्छ भनेर उदाहरण दिँदै लेखेका आलेख पछि असमका कतिपय फेसबुकप्रेमी बाहुनहरू मसँग कमेन्टमा बम्किए। मैले त उदाहरण पो दिएको थिए, रिसाउने कारण नै थिएन। मगर केटोले सार्कीकी छोरी मागी बिहे गर्न वा अरूले पनि हाम्रा जात-जातिले यस्तो गर्नुपर्छ भन्नु मेरो आलेखको आसय थियो। यसैकारण मैले लेख्ने गरेको थिएँ-नत्र गोर्खा महाजाति हुन सक्तैन।

अनि असमका हरियो चश्मा लाउने गोर्खा समुदायका गोर्खे चेलाहरूले मलाई कमेन्टमा हुनसम्मको सरापे, गाली पनि गरे।

अस्तु, मैले समुदाय के हो?, जात-जाति के हो भनेर विश्लेषण गरिदिएँ। अब गोर्खा समुदायलाई ‘गोर्खा महाजाति’ बनाउनु छ भने यो समुदायभित्र एउटै परम्परा, एउटै भेषभूषा, एउटै विचार-मत हुनुपर्छ। बोलीले मात्र होइन व्यवहारले पनि ‘जय गोर्खा...गोर्खा महाजाति..!’ हुनुपर्छ। नत्र बोलीले ‘जय गोर्खा र महाजाति’ भन्दै हिँड्ने व्यवहारमा अरूनै गरेर बस्ने गोर्खाहरूलाई के भन्नू र खै?

प्रकाशित मिति: : 2020-06-18 08:38:00

प्रतिकृया दिनुहोस्