पुनः रोकियाे हाइड्रोक्सिक्लोरोक्वीनको परीक्षण, ‘डेक्सामेथासोन’काे प्रभाव राम्रो देखियाे: डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसका संक्रमितको उपचारमा मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीनको परीक्षणमा पुनः रोक लगाएको छ। 

हाइड्रोक्सिक्लोरोक्वीनले एन्टीभाइरल इफेक्ट उत्पादन गर्ने र त्यसले कोरोना भाइरसविरुद्ध काम गर्छ भन्ने पक्षमा प्रमाण नभेटिएको भन्दै एफडिएले हाइड्रोक्सिक्लोरोक्वीनलाई आपतकालीन उपचारमा प्रयोग हुने सूचिबाट हटाएको दुई दिनपछि डब्लुएचओले पनि परीक्षण रोकेको हो।

अमेरिका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण अमेरिकी देश ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीनलाई कोरोना भाइरसको उपाचारमा प्रयोग गर्न सुझाएका छन्।

बोल्सोनारोले अमेरिकी राष्ट्रपति  ट्रम्पले सो औषधि खाएको र त्यसले कुनै पनि नराम्रो नगरेको कुरा उदाहारणको रुपमा प्रस्तुत गर्दै उक्त ‍‍औषधी प्रयाेग गर्न सुझाएका हुन्। 

कोरोनासँग बच्न भनेर जहाँ हाइड्रोक्सिक्लोरोक्विन औषधि दिइएको छ, त्यहाँ मृत्युको खतरा धेरै रहेको निष्कर्षयुक्त एक अनुसन्धान रिपोर्ट हालै साइन्स जर्नल ‘द ल्यासेन्ट’मा प्रकाशित भएको थियो।

जर्नलमा हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोगले कोभिड–१९ ले कोरोना भाइरसको उपचार गर्ने प्रमाण नभेटिएको र यसबाट मुटुमा समस्या हुनु सक्ने वैज्ञानिकहरुले बताएका छन्।

यसका साथै बिरामीलाई सहयोग गुर्नको साटो मृत्युको जोखिम बढाउने देखिएपछि डब्लुएचओले मानवीय परीक्षणमा रोक लगाएको थियो।

तर सो अनुसन्धान प्रतिवेदनको तथ्यांकमा कमजोरी देखिएको भन्दै लानसेटले अनुसन्धान प्रतिवेदन फिर्ता लिएपछि डब्लुएचओले पुनः हाइड्रोक्सिक्लोरोक्वीनको परीक्षण सुरु गरेको थियो।

फेरि डब्लुएचओले विभिन्न देशमा गरिएका प्रयोगमा कोरोना भाइरसका संक्रमितको उपचारमा कुनै सहयोग वा फाइदा नपुगेको देखिएकाले हाइड्रोक्सिक्लारोक्वीनको परीक्षण रोकिएको बताएको छ।

फ्रान्सले हाइड्रोक्सिक्लोरोक्विन औषधीमाथि प्रतिबन्ध लगाएको छ। यसअघि नै फ्रान्सले गत मार्चमा यस औषधिलाई कोविड–१९ का विरामीले सेवन गर्न सक्ने भन्दै अनुमति दिएको थियो।  

तर पछि फ्रान्सका दुईवटा स्वास्थ्य निकायहरु एचसीएसपी र एएनएसएमले कोविड–१९ को उपचारमा हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग गर्न नहुने सल्लाह दिएको एक दिनपछि फ्रान्सले उक्त औषधीमाथि प्रतिबन्ध लगाएको थियो। 

यसअघि सोमबार अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले हाइड्रोक्सिक्लोरोक्वीनलाई कोरोना भाइरसका संक्रमितको आपतकालीन उपचारमा प्रयोग गर्ने औषधिको सूचिबाट हटाएको थियो।

मानवीय परीक्षणबाट प्राप्त पछिल्ला प्रमाणले हाइड्रोक्सिक्लोरोक्वीनले कोरोना भाइरसविरुद्ध काम गर्ने नदेखिएको एफडिएले उल्लेख गरेको थियो।

‘डेक्सामेथासोन’काे प्रभाव राम्रो देखियाे: डब्लुएचओ


डब्लुएचओले अहिले कोरोना भाइरसका संक्रमितको उपचारमा डेक्सामेथासोनको प्रभाव राम्रो देखिएको बताएको छ। डब्लुएचओका प्रमुखले स्टेरोयड डेक्सामेथासोन गम्भीर बिरामीलाई फाइदा गर्ने बताए।

डब्लुएचओलाई उपलब्ध गराइएको प्रारम्भिक तथ्यांकमा कोभिड–१९ बाट गम्भीर बिरामी परेका व्यक्तिको उपचारमा डेक्सामेथासोनले सकारात्मक प्रभाव गरेको देखिएको उनले बताएका छन्।

डेक्जामेथासोन पहिलो पटक १९६० को दशकदेखि आर्थराइटिस र आस्थमाका लागि प्रयोग हुँदै आएको छ।

निक्कै सस्तो र सर्वसुलभ रुपमा उपलब्ध हुने उक्त औषधिले कोभिड–१९ बाट संक्रमित विरामीलाई समेत बचाउने सक्‍ने अनुसन्धानकर्ताहरुले दाबी गरेका छन्। 

वैज्ञानिकहरुका अनुसार भेन्टिलेटरमा भएका बिरामीको मृत्यु हुने जोखिमलाई एक तिहाईले कम गर्ने तथा अक्सिजन सपोर्टमा रहेकाहरुको जोखिम पनि १/५ ले कम गर्ने वैज्ञानिकहरुको दाबी गरेको बीबीसीले जनाएको छ।

यो औषधि विश्वको ठूलो ट्रायल टेस्टिङ ट्रिटमेन्टको एक हिस्सा हो। जसमा यो औषधि कोभिड–१९ विरुद्ध काम गर्छ वा गर्दैन भनेर परीक्षण भइरहेका छन्।

वैज्ञानिकहरुले पाँचजनामध्‍ये चारजना उक्त अवस्थाको विरामीलाई निको पारेको दाबी गरेका अध्‍ययनमा उल्लेख गरेका छन्।

भेन्टिलेटरमा रहेका बिरामीमा हुने मृत्युको जोखिमलाई ४० प्रतिशतबाट २८ प्रतिशतमा ल्याउन सक्ने तथा अक्सिजन चाहिने बिरामीको मृत्युको जोखिमलाई २५ प्रतिशतबाट २० प्रतिशतमा झार्न सक्ने वैज्ञानिकको दाबी छ।

‘कोरोना संक्रमित २० बिरामीमध्ये १९ बिरामी त अस्पताल भर्ना नभइ निको हुन्छन्। अस्पताल भर्ना भएका पनि निको हुन्छन् तर, केहीलाई भने अक्सिजन वा भेन्टिलेटरको आवश्यकता हुन्छ। यी बिरामीहरु जोखिममा हुन सक्छन् जसमा डेक्जामेथासोनले सहयोग गर्ने देखिन्छ,’ बीबीसीले लेखेको छ।

अध्ययनकर्ताका अनुसार यो औषधि बेलायतमा सुरुवाती चरणमा उपलब्ध भएको भए करिब ५ हजार जनाको जीवन बचाउन सकिन्थ्यो। निकै सस्तो र सर्वसुलभ यो औषधिको प्रयोगले धेरै संक्रमित देखिएका गरिब देशमा निकै राहत पुग्ने उनीहरुको दाबी समेत छ।

यता, बेलायत सरकारले आफूसँग २ लाख डेक्सामेथासोन रहेको र विरामीलाई उपलब्ध गराउने बताएको छ। यो औषधि विभिन्न अवस्थामा शरीर सुन्निएको असर कम गर्न प्रयोग भइसकेको छ र यसले त्यसबाट निम्त्याउने असरबाट बचाउन सहयोग गर्छ।

याे पनि 

फ्रान्समा कोरोना संक्रमितकाे उपचारमा हाइड्रोक्सिक्लोरोक्वीन औषधि प्रतिबन्ध

काेराेनाकाे उपचारमा हाइड्रोक्सिक्लोरोक्वीन प्रयोग गर्न ब्राजिली राष्ट्रपतिकाे सुझाव

कोरोनाको महामारी अन्त्य हुन धेरै समय लाग्छ, क्लोरोक्वीन र हाइड्रोक्सिक्लोरोक्वीन औषधि नखानु: डब्लुएचओ

१० दिनमै ‘डेक्सामेथासोन’ले कोरोना संक्रमितको ज्यान बचाउने बेलायती वैज्ञानिकको दाबी

 

प्रकाशित मिति: : 2020-06-18 08:26:00

प्रतिकृया दिनुहोस्