चिनियाँ सेनासँगको झडपमा आफ्ना सैनिक कमाण्डरसहित २० जनाको मृत्यु भएपछि भारतीय सेनाले लद्दाख क्षेत्रमा आफ्नो गतिविधिलाई तिव्र पारेको छ।
भारतीय रक्षामन्त्री राजनाथ सिंह र ३ वटै (हवाई, स्थल र जल सेना) सेना प्रमुखबीच बैठकमा नौसेनाका युद्दपोतहरु चीनसँग जोडिएका इलाकामा तैनाथ गर्न आदेश दिएका छन्।
यस्तै उनले चीनसँग जोडिएको सीमानामा तैनाथ अर्को भारतीय फोर्स आइटीबीपीले पनि आफ्ना सैनिकहरुलाई सतर्क रहन आदेश दिएको छ। त्यस्तै वायु सेनाले पनि हिमाञ्चल र उत्तराखण्डमा लडाकू जेट तैनाथ गर्न सुरु गरेको छ।
चीनसँग जोडिएको ३४ सय किलोमिटर वास्तविक नियन्त्रण रेखा वरिपरि सतर्क रहन भारतीय सेनाको निर्देशन छ।
त्यहाँ तैनाथ गरिएका फरवार्ड पोष्टका कम्पनी कमाण्डरहरुलाई चीनतर्फबाट कुनै गतिविधि भएको खण्डमा तत्काल कार्वाही गर्न आदेश दिइएको छ।
बुधबार भारतीय सेनाले लद्दाख सीमा क्षेत्रमा जोडिएका बस्तीहरु खाली गराउन सुरु गरेको छ। सम्भावित भीडन्तलाई मध्यनजर गर्दै ती क्षेत्रमा सैनिकहरुको संख्या ह्वात्तै बढाइएको छ भने स्थानीय मानिसहरुलाई सावधानीपूर्वक गाउँ खाली गर्न आह्वान गरेको छ। डेमचोक पेङगान्ग ताल वरिपरिका बस्तीहरुलाई सतर्क रहन आह्वान गरेको छ।
त्यस्तै सीमा जोडिएको क्षेत्रमा मोबाइल फोन बन्द गर्न लगाइएको छ भने त्यहाँ तैनाथ सेनाको ल्यान्डलाइन फोन समेत बन्द गरिएको छ। अब उक्त क्षेत्रमा अपरेशनमा जोडिएका फोनहरुले मात्र काम गर्न सुरु गरेका छन्। त्यसैगरी लद्दाख क्षेत्रमै पर्ने लेह शहर बाहिर सेना बाहेकको सबै आवागमनमाथि प्रतिबन्ध लगाइएको छ। श्रीनगर–लेह राजमार्ग आमजनताका लागि पूर्ण रुपमा बन्द गरिएको छ।
सैनिक अधिकारी र जवानहरुको विदा रद्द
यसैबीच कोरोना महामारी लगायतका कारण देखाई विदामा बसेका सैनिक अधिकारी र जवानहरुको विदा रद्द गरेर तत्काल ड्युटीमा फर्किन भारतीय सेनाले सम्बन्धित फोर्समा ह्वीप जारी गरेको छ।
कोरोना महामारीपछि थुपै्र सैनिक अधिकारी र जवानहरु विदामा बसेका थिए।