कोरियाली प्रायद्वीपमा तनाव बढेसँगै दक्षिण कोरियाका एकीकरण मन्त्रीले दिए राजीनामा

कोरियाली प्रायद्वीपमा तनाव बढेसँगै दक्षिण कोरियाका एकीकरण मन्त्रीले राजीनामा दिएका छन्।

उत्तर कोरियाले मंगलबार सीमावर्ती सहरमा रहेको संयुक्त कार्यालय बम हानेर ध्वस्त बनाएपछि बुधबार दक्षिण कोरियाका एकीकरण मन्त्री किम योन छुलले राजीनामा दिएका हुन्। तर उनको राजीनामा राष्ट्रपति मून जेई इनबाट भने स्वीकृत गरेका छैनन्।

दक्षिण कोरियाको एकीकरण मन्त्रालयले विशेष गरी उत्तर कोरियासँगको सम्बन्ध सदृढ बनाउने जिम्मेवारी पाएको छ। छुललाई गत अप्रिलमा एकीकरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो।

उनले बुधबार पत्रकारहरुसँग कुरा गर्दै  पछिल्लो समय दुई देशबीच देखिएको तनावको जिम्मा आफूले लिँदै राजीनामा दिएको घोषणा गरेका हुन्। कोरियाली नागरिकको आशा र मागअनुसार कोरियाली प्रायद्वीप शान्ति स्थापना गर्न नसकेकोमा उनले माफी पनि मागेका छन्।

पछिल्लो २ हप्तादेखि कोरियाली प्रायद्वीपमा तनावपूर्ण अवस्था सिर्जना भएको छ। उत्तर कोरियाले शिखर सम्मेलनमा सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मून जेइ इनबीच भएको सहमति दक्षिणले पालना नगरेको आरोप लगाउँदै आएको छ।  

दक्षिणले भने उत्तरकोरियाको मूर्खतापूर्ण र प्रतिक्रिया नसहने चेतावनी दिएको छ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले सोमबार स्थितिलाई थप नचर्काउन तथा वार्तामा बस्न आग्रह गरिसकेका छन्। तर उत्तरले गत सातादेखि नै दुई देशका नेताहरूबीच स्थापित हटलाइन सेवासहित सम्पूर्ण सम्पर्कका माध्यमहरु बन्द गरिसकेको छ।

उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले गतसाता डीएमजीमा सेना खटाउने भन्दै त्यसका लागि तयार रहन आदेश दिएको बताएकी थिइन्। 

उत्तर कोरियाली सेनाले गैरसैनिक क्षेत्रमा सेना पठाउने कार्ययोजनाबारे अध्ययन गरिरहेको समेत जनाएको छ। 

प्रकाशित मिति: : 2020-06-17 21:42:10

प्रतिकृया दिनुहोस्