सीमा समस्या शान्तिपूर्वक समाधान गर्न चीन र भारत सहमत

चीन र भारत सीमा समस्या शान्तिपूर्वक समाधानका लागि सहमत भएका छन्।

बुधबार चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजियानले दुवै पक्ष यो मुद्दालाई वार्ता परामर्शको माध्यमबाट समाधान गर्न सहमत भएको जानकारी दिएका हुन्। 

उनले दुई देशबीचमा सीमाक्षेत्रको तनाव कम गर्दै लैजाने र सो क्षेत्रमा शान्ति स्थापना गर्ने सहमति पनि भएको उनले बताए। 

बुधबारको प्रेस ब्रिफिङमा बोल्दै प्रवक्ता लिजियानले चीनले  फ्रन्ट लाइनमा रहेका भारतीय सेनालाई कडा अनुशासनमा राख्न भारतलाई आग्रह गरेको बताएका छन्। साथै गालीगलौजमा उत्रिने र एकपक्षीय रुपमा चालिएको कदमले यो मुद्दा अझै जटिल बन्दै जाने उनको भनाइ छ।

सन् १९७५ पछि पहिलोपटक नियन्त्रण रेखामा भारतीय सेनाको ज्यान गएको हो। सीमा क्षेत्रमा बारम्बार तनाव उत्पन्न हुने गरे पनि गोली नचलेको लामो समय भइसकेको थियो। तर एक महिनादेखि लद्दाखमा भारतले गरेको बाटो विस्तारलाई लिएर दुई देशबीच नयाँ तनाव उत्पन्न भएको थियो।

दुवै मुलुकले सीमाक्षेत्रमा आफ्नो सैनिकको संख्या बढाएका थिए भने ६ जुनमा वार्ता पनि भएको थियो। तर सोमबार राति  दुवै पक्षबाट गोली नचलेको तर ढुङ्गा हानाहान भएको बताइएको छ।

उक्त झडपमा परी एक भारतीय सेनाका अधिकारीसहित २० भारतीय सेनाको मृत्यु भएको छ। यद्यपि उनले यो झडपमा चिनियाँ सेना मारिएको वा घाइते भएकोबारे भने कुनै जानकारी दिएनन्।

 

प्रकाशित मिति: : 2020-06-17 17:01:49

प्रतिकृया दिनुहोस्