बाराको कलैया अस्पतालकाे आकस्मिक सेवा एक महिनापछि सञ्चालनमा आएको छ । अस्पताललाई कोरोना बिशेष अस्पताल बनाइएपछि अस्पतालको सेवाहरु बारा नर्सिङ्ग होमबाट सञ्चालनमा हुँदै आएको थियो ।
प्रादेशिक तालिम केन्द्र गंगापुरमा कोरोना बिशेष अस्पताल बनाइएपछि आज बुधबारदेखि पूर्ण रुपमा सञ्चालनमा आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विरेन्द्र मण्डलले जानकारी दिए ।
अस्पतालमा रहेका कोरोना संक्रमितहरुलाई गंगापुरमा राखिएपछि अस्पताललाई सेनिटाइज र सरसफाइ गरिएको उनले बताए।
अस्पतालले दिँदै आएको प्रसुति सेवा र ओपिडि सेवा एक हप्ता अगडिदेखि नै सञ्चालनमा आएको थियो ।
जिल्लाको एकमात्र अस्पताल कलैयालाई प्रदेश सरकार र संघ सरकारले कोरोना बिशेष अस्पताल बनाएपछि नेपाली कांग्रेस, नेकपा लगायतका दलहरु र कलैया उपमहानगरपालिकाले त्यसको विरोधमा उत्रिएका थिए।
लगत्तै गंगगापुरमा रहेको प्रादेशिक तालिम केन्द्रलाई कोरोना बिशेष अस्पताल बनाएको थियो ।