सुशान्तको आत्महत्या प्रकरणः सलमान र करन जौहरविरूद्ध मुद्धा दर्ता

बलिउड स्टार सुशान्त राजपुतको निधनलाई लिएर बिहार राज्यको मुजफ्फरपुरमा सलमान खान र करण जौहरविरूद्ध मुद्धा परेको छ। 

मुजफ्फरपुरका वकिल सुधीर कुमार ओझाले बलिउडका सुपरस्टार सलमान तथा निर्माता निर्देशक करणविरूद्ध आत्महत्या गर्न उकासेको भन्दै मुद्धा दर्ता गरेका हुन्। 

यी दुईविरूद्ध भारतीय दण्ड संहिता कानुनअन्तर्गत दफा ३०६, १०९, ५०४ र ५०६ को मुद्धा दर्ता गरिएको हो। 

अदालतले ३ जुलाईमा मुद्धा हेर्ने बताएको छ। सुशान्तको आत्महत्यामा बलिउडका अन्य कलाकार आदित्य चोपडा, शाजिद नाडियावाला, सञ्जय लीला भन्साली, एकता कपुर, दिनेश विजया, टि–सिरिजका भूषण कुमारविरूद्ध पनि मुद्धा दर्ता भएको छ।

बलिउड कलाकारविरूद्ध मुजफ्फरपुरमा दर्ता भएको यो पहिलो मुद्धा होइन। यसअघि रवीना टन्डन, अमिताभ बच्चनसमेत हस्तीहरू विरूद्ध पनि दर्ता भइसकेको छ। 

एकता कपुरविरूद्ध वेभ–सिरिजलाई लिएर पनि मुद्धा दर्ता भएको थियो। यसको फैसला भएको छैन। 

सुशान्तले गत आइतबार मुम्बईस्थित आफ्नो फ्लाटमा आत्महत्या गरेका थिए। उनको आत्महत्यामा सलमानलगायत बलिउडका अन्य सेलिब्रिटी कलाकारले उकासेको आरोप लागेको थियो। 

सुशान्तका बुवाले छोराको आत्महत्याको अनुसन्धान सीबीआईबाट गराउन माग राखेका छन्। सुशान्तका प्रशंसक सलमान तथा करनसँग आगो छन् भने उनीहरूले यी दुबैको फिल्म बहिस्कार गर्न अपील गरेका छन्।

प्रकाशित मिति: : 2020-06-17 15:42:54

प्रतिकृया दिनुहोस्