दक्षिण अमेरिकी देश ब्राजिलमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण तीव्र गतिमा बिस्तार हुने क्रम जारी छ।
जोन्स हप्किन्स विश्वविद्यालय कोरोना भाइरस स्रोत केन्द्रका अनुसार मंगलबार एकै दिन ३४ हजार ९१८ जनामा संक्रमण पुष्टि भएको छ।
यो अहिलेसम्म एकै दिन नयाँ संक्रमित थपिएको अहिलेसम्मकै धेरै हो।
ब्राजिलमा हालसम्म कुल संक्रमितको संख्या ९ लाख २३ हजार भन्दा बढी भएको छ।
ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म ४५ हजार २४१ जनाको ज्यान गएको छ।
ब्राजिलमा मंगलबार एकै दिन १२ सय ८२ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ। अमेरिकापछि कोरोना भाइरसबाट संक्रमित र मृत्यु हुनेको संख्या बढी हुने देश ब्राजिल हो। यद्यपी सरकारी अधिकारीले संक्रमण नियन्त्रणमा रहेको दाबी गरेका छन्।
विश्वभर हालसम्म ८१ लाख ५५ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ। त्यसमध्ये चार लाख ४१ हजार ५०५ जनाको ज्यान गएको छ।
सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा २१ लाख ३७ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएकोमा एक लाख १६ हजार ९ सय भन्दा बढीको मृत्यु भएको छ।